मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नवीन अर्याल काठमाडौं
२०७९ असोज ९ आइतबार १०:४७:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलमा एउटै फ्लाइट धान्न नसक्ने टर्मिनल भवन

वैदेशिक रोजगारीमा जानेले श्रम स्वीकृति लिन र स्वास्थ्य जाँच गर्न काठमाडौं नै आउनुपर्ने बाध्यता, ३१ अर्ब लगानीमा चार महिनाअघि सञ्चालनमा ल्याइएको विमानस्थलमा अहिलेसम्म एउटा मात्रै उडान

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७९ असोज ९ आइतबार १०:४७:००

अघिल्लो शुक्रबार बिहान ६ः४५ बजे कुवेतबाट आएको जजिरा एयरवेजको न्यारोबडी ‘एयरबस–३२०’ले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा अवतरण ग¥यो । जहाजमा आएका एक सय ५९ यात्रुहरू एकपछि अर्को गरी झरेर अराइभल कक्षतर्फ लागे । जहाजका यात्रु करिब आधा मात्र प्रवेश गर्दा पनि अराइभल कक्ष पूरै भरियो । अन्य यात्रु सिमसिम परिरहेको पानीमै एप्रोन एरियाबाटै लाइन लाग्नुप¥यो । दुबईबाट भैरहवा हुँदै घर फर्किएका बुटवल सुक्खानगरका दिलबहादुर थापा भन्दै थिए, ‘एउटा जहाजका यात्रुहरू पनि नअटाउने कति साँघुरो टर्मिनल ?’ 

अराइभल कक्षको हेल्थ डेस्क, अध्यागमन, ब्यागेज बेल्ट, ब्यागेज क्लेम कक्ष, भन्सारमा पर्याप्त संरचना र कर्मचारी नहुँदा पनि सास्ती पाएको यात्रुहरू गुनासो गर्दै थिए । भन्सारमा रहेको एक्सरे मेसिन वेला–वेलामा बिग्रिरहँदा झोला खोतलेर चेकजाँच गर्नुपर्ने बाध्यता छ । 

विमानस्थलको डिपार्चर कक्षले पनि एकैपटक दुईवटा फ्लाइटका यात्रु थेग्न नसक्ने अवस्था छ । बोर्डिङ पास लिएपछि जहाज कुरेर बस्न पर्याप्त सिट छैनन् । दुइटा फ्लाइट एउटै समयमा भयो भने सेवा प्रवाहमा अलिकति ‘टाइट’ हुने विमानस्थलका प्रवक्ता सुवास झाले पनि स्वीकार गरे । नेपाल वायुसेवा निगमको ग्राउन्ड ह्यान्डलिङ सेवामा पनि इक्विपमेन्ट र जनशक्तिको अभाव छ । तर, उडान थपिनेबित्तिकै इक्विपमेन्ट र जनशक्ति थप्ने निगमले प्रतिबद्धता जनाएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

विमानस्थलमा एउटा वाइडबडीसहित पाँचवटा जहाज पार्किङ गर्न मिल्छ । तर, टर्मिनल भवन भने एउटा उडान मात्र धान्न सक्ने बनाइएको छ । ‘हरेक घन्टामा उडान–अवतरण भए दिनको ३० वटासम्म फ्लाइट पनि धान्न सकिन्छ,’ प्रवक्ता झाले भने, ‘अहिलेकै संरचनाले एकैपटक दुईवटा फ्लाइट व्यवस्थापन गर्न धौ–धौ पर्छ ।’ 

किन साँघुरो भयो टर्मिनल ?
भैरहवामा पनि फोरडी मापदण्डकै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारीका साथ डिजाइन तयार गरिएको थियो । तर, पछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णयमा सरकार पुग्यो । क्यानले विमानस्थलको धावनमार्ग ठूलो बनाए पनि टर्मिनल भवन भने फोरडी मापदण्डकै बनायो । ‘ठूलो टर्मिनल बनाउन अहिलेको आन्तरिक टर्मिनल भत्काउनुपथ्र्यो, त्यसो गर्दा आन्तरिक उडान अवरुद्ध हुन्थ्यो,’ क्यानका सूचना अधिकारी भुलले भने, ‘अहिलेको टर्मिनललाई आन्तरिक बनाउने र अर्को एरोब्रिजसहितको सुविधासम्पन्न टर्मिनल बनाउने निष्कर्षमा पुगिएको हो ।’ अहिलेको आन्तरिक टर्मिनल साँघुरो र पुरानो भइसकेकाले नयाँ बनाउनैपर्ने थियो ।

क्षेत्रीयबाट अन्तर्राष्ट्रियस्तरको विमानस्थलमा जाँदा टर्मिनल भवन सानो बनेको क्यानको स्पष्टोक्ति छ । तर, ३१ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा सरकारले दीर्घकालीन सोच नराखेको विज्ञको आरोप छ । अहिलेकै टर्मिनललाई कम्तीमा तीनवटासम्म उडान थेग्न सक्ने गरी बनाउनुपर्ने थियो । 

क्यानले १४ अर्ब खर्चिएर पाँचवटा एरोब्रिजसहितको अर्को टर्मिनल बनाउँदै छ । तर, विमानस्थल राम्ररी चल्ने सुनिश्चितता नहुँदै टर्मिनलमा ठूलो लगानी गर्नु अर्को अदूरदर्शी कदम हुने विज्ञको तर्क छ । महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा पनि लाभहानिको तुलनात्मक विश्लेषण गरेर मात्रै अर्को टर्मिनल भवन बनाउन सुझाव दिएको छ । 

श्रम स्वीकृति र स्वास्थ्य जाँचको सुविधा नहुँदा सास्ती
नारायणी पश्चिमतर्फका मानिसलाई विदेश जान भैरहवा एयरपोर्ट सहज हो । तर, वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भैरहवाबाट श्रम स्वीकृति, स्वास्थ्य जाँच, भिसा स्ट्याम्पलगायत सुविधा नहुँदा काठमाडौं धाउनैपर्ने बाध्यता छ । जिबिआइएमा अन्तर्राष्ट्रिय वायुसेवा र यात्रुलाई आकर्षित गर्न सुरुवाती श्रम स्वीकृति, स्वास्थ्य जाँच र भिसाका कामहरू पनि भैरहवाबाटै हुनुपर्छ । नयाँ कामदारले अनलाइनबाट श्रम स्वीकृतिको फाराम भरेर छाप लगाउन काठमाडौं धाउनैपर्छ । यस विषयमा सम्बन्धित मन्त्री, सचिव र निकायका प्रमुखहरूसँग भेटेर तथा पत्राचार गरी समन्वय गरिरहेको विमानस्थलका प्रवक्ता शाहले बताए ।

किन आकर्षित भएनन् विदेशी वायुसेवा ?
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएको चार महिना बितिसकेको छ । अहिलेसम्म एउटा जजिरा एयरवेजले उडान गरिरहेको छ । क्यानले भैरहवामा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिएको छ । एउटा न्यारोबडीले प्रत्येक उडानमा अढाई लाखसम्म बचत गर्न सक्छन् । तैपनि, अन्तर्राष्ट्रिय वायुसेवा भैरहवाबाट उडान गर्न किन हिचकिचाइरहेका छन् ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा खुला गरेपछि वायुसेवा कम्पनीले भैरहवा जान नखोजेको क्यानका सूचना अधिकारी भुलको बुझाइ छ । उनले भने, ‘३१ अक्टोबरदेखि भैरहवाबाट पनि अनिवार्य उडान गर्नुपर्ने बाध्यता सिर्जना नगरी नहुने भएको छ ।’ 

नयाँ विमानस्थलमा दीर्घकालीन योजना नबनाई उडान गर्दा जोखिम हुने ठहर गरेरै वायुसेवाले भैरहवा उडानमा ढिलाइ गरिरहेको हुन सक्ने जिबिआइएका प्रवक्ता शाहले बताए । क्यानको तर्फबाट वायुसेवा कम्पनीहरूलाई दिनुपर्ने छुट सुविधाहरू पूरै उपलब्ध गराइसकेको सूचना अधिकारी भुलको भनाइ छ । 

अध्यागमनको एक्सरे मेसिन महिनामा १५ दिनभन्दा बढी बिग्रिएर हैरानी बनाएको बताइन्छ । कम्तीमा दुईवटा एक्सरे मेसिन अनिवार्य चाहिने प्रवक्ता झाले बताए । ब्यागेज बेल्टमा पनि उस्तै समस्या छ । यात्रुका भिजिटर कुरेर बस्ने प्रतीक्षालय छैन । कफी सप र क्यान्टिनसमेत नरहेको निगमका एक कर्मचारीले बताए । विश्वव्यापी यात्रा गर्ने यात्रुलाई बोक्ने कतार एयरवेज, टर्किस एयरवेजजस्ता वायुसेवा आकर्षित गर्न विमानस्थलमा बिजनेस लाउन्जको व्यवस्था पनि छैन । कम्तीमा कन्फेक्सनरी र सोभेनियर पसल हुनुपर्ने थियो, त्यो पनि छैन । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन ट्राभल एजेन्सी, यातायात व्यवसायी, एयरपोर्टमा सेवा दिने विभिन्न निकायहरू, व्यवसायी, वायुसेवा कम्पनी सबैको एकीकृत प्रयास हुनुपर्ने प्रवक्ता झाले बताए ।

क्यानले भैरहवा विमानस्थलभित्र र बाहिर व्यावसायिक प्रयोजनका लागि बनेका संरचनाहरू भाडामा दिने गरी टेन्डर आह्वान गरेर दुईपटक समय थप्दा पनि कुनै कम्पनीले प्रस्ताव पेस गरेनन् ।

जिबिआइएमा देखिएका समस्या 

  • एकैसाथ दुई फ्लाइट भए साँघुरो टर्मिनल भवन

  • डिपार्चर कक्षमा यात्रु बस्न पर्याप्त कुर्सी नहुनु 

  • श्रम, स्वास्थ्य र भिसाको काम भैरहवाबाट नहुनु 

  • रातिमा एयरपोर्टसम्म पुग्ने सवारीको सुविधा नहुनु 

  • भन्सार र इमिग्रेसनमा पर्याप्त कर्मचारी नहुनु

  • भन्सारको एक्सरे मेसिन र ब्यागेज बेल्ट बिग्रिएर हैरानी 

  • चर्को गर्मी हुने ठाउँमा भिजिटरका लागि प्रतीक्षालय नहुनु 

  • ग्राउन्ड ह्यान्डलिङमा पनि पर्याप्त जनशक्ति र इक्विपमेन्ट नहुनु 

  • कफी सप, कन्फेक्सनरी र सोभेनियर सप पनि नहुनु

  • बिजनेस लाउन्ज नहुँदा बिजनेस क्लासका उडान गर्न समस्या

एयरपोर्ट नपुग्दै सुरु हुन्छ यात्रुलाई सास्ती

बिहान ६ बजे उड्नका लागि यात्रु तीन बजे नै एयरपोर्ट आउनुपर्ने हुन्छ । तर, रातको समय एयरपोर्टसम्म आइपुग्न यातायातको सुविधा छैन । आफ्नो सवारी नहुनेहरू लामो बाटो हिँडेर, ट्रक चढेर एयरपोर्ट पुग्नुपर्ने बाध्यता छ । बिहानै ट्याक्सी र टेम्पो नभेटिँदा निकै सास्ती भएको कुवेत हुँदै कतार जान लागेकी दाङ घोराहीकी प्रतिमा चौधरीले बताइन् । तीन बजे नै एयरपोर्ट आउनुपर्ने यात्रुले दुःख पाइरहेको विमानस्थलका प्रवक्ता झाले पनि बताए । जिबिआइएका यात्रुको सुविधाका लागि भनेर लुम्बिनी विकास कोषले एसियाली विकास बैंक (एडिबी)को ३५ करोड अनुदानमा किनेका बिजुली बस र भ्यानहरू थन्किएर बसेका छन् । यी बसहरू भैरहवादेखि लुम्बिनीसम्म चलाउने योजना थियो । तर, अन्तर्राष्ट्रिय एयरपोर्ट सञ्चालनमा आएको चार महिना बितिसक्दासम्म पनि कोषले बस चलाउने योजना बनाएको छैन । १३ कात्तिकदेखि हंगरीको विज एयरबाट राति ९–१० बजेतिर आउने यात्रुलाई पनि गन्तव्यमा पुग्न समस्या हुनेछ ।

भैरहवाका समस्या समाधान हुँदै छन् : सुचना अधिकारी भुल

ज्ञानेन्द्र भुल, सुचना अधिकारी (क्यान)

यो टर्मिनल फोरडी मापदण्डको हुनाले साँघुरो भएको हो । यसलाई आन्तरिक बनाएर एरोब्रिजसहितको अर्को टर्मिनल बनाउने योजना छ । भैरहवा विमानस्थल सञ्चालनका लागि क्यानको तर्फबाट कुनै सेवा–सुविधामा कमी हुन दिएका छैनौँ । ल्यान्डिङ, पार्किङदेखि ग्राउन्ड ह्यान्डलिङसम्म छुट दिएका छौँ । काठमाडौंमा आइरहेका वायुसेवालाई ‘विन्टर सेड्युल’ बनाउँदा भैरहवालाई पनि समावेश गर्न भनेका छौँ । टिआइए चौबिसै घन्टा सञ्चालन गरेपछि वायुसेवा कम्पनीले भैरहवा जाँदैनौँ भनेका हुन् । ३१ अक्टोबरदेखि भैरहवाबाट अनिवार्य उडान गर्न ताकेता गरेका छौँ । देशको राष्ट्रिय ध्वजावाहक कमजोर हुँदा विदेशी वायुसेवालाई हात जोडेर अनुरोध गर्नुपर्ने रहेछ । यो निगमले पनि बुझ्नुपर्छ ।
अन्य निकायका सेवाहरू बढाउन पनि पहल गरिरहेका छौँ । भैरहवाबाटै श्रम स्वीकृति दिने व्यवस्था तिहारपछि सुरु गर्ने श्रममन्त्रीले भन्नुभएको छ । भिसा स्ट्याम्पका विषयमा गृहमन्त्रीसँग वार्ता हुँदा सकारात्मक हुनुहुन्छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्दा हवाई इन्धनमा छुट दिन सम्बन्धित मन्त्रीसँग प्रस्ताव राखेका छौँ । भैरहवाबाट श्रम स्वीकृति सुरु भएलगत्तै सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई भैरहवा पठाउने स्वास्थ्य मन्त्रालयले बताएको छ । ग्राउन्ड ह्यान्डलिङको क्षमता बढाउन निगम पनि सकारात्मक छ ।