
चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहमुनिका चिकित्सा शिक्षाका कार्यक्रम फेजआउट गरेपछि ६५ संस्थाले माथिल्लो तहका कार्यक्रम सञ्चालनको अनुमति पाएका छन् । प्रमाणपत्र तह सञ्चालन गरेका संस्थाको संख्या धेरै भए पनि निर्धारित समयमा निवेदन दिएका ६५ संस्थाले स्तरवृद्धिको अनुमति पाएका हुन् । स्तरवृद्धिको अनुमति पाएका कतिपय संस्था ठेगानै नभेटिएको र कतिपयको शिक्षक तथा पूर्वाधार नहुँदा सिट निर्धारण भएको छैन ।
चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले ऐनले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएर ६५ संस्थाको कार्यक्रम अपग्रेड भएको र सिट निर्धारण भएकाले कार्यक्रम सञ्चालन गर्न सक्ने बताए । तोकिएको गत ९ फागुनसम्मको अन्तिम मितिसम्म पनि निवेदन नदिएको, तर पछि माग गरेकाले प्राप्त गर्न नसकेको उनको भनाइ छ । तोकिएको मितिभन्दा पछि आएका तीन दर्जन संस्था अदालत गएका छन् ।
चिकित्सा शिक्षा ऐनले प्रमाणपत्र तहभन्दा मुनिका चिकित्सा शिक्षाका अनमी, नर्सिङ, ल्याब, फार्मेसीलगायतका कार्यक्रम फेजआउट गरेको थियो । ती कार्यक्रम फेजआउट भएर स्तरोन्नतिको निर्णय भएका संस्थाको समेत अनुगमनका क्रममा सबै पूर्वाधार नपुगेकाले यसपटक सिट निर्धारण भएको छैन । प्रमाणपत्र तहभन्दा तलको जनशक्ति आवश्यक नभएको भन्दै ऐनले फेटआउट गरेको थियो । स्तरोन्नति भएका संस्थाले एकभन्दा बढी कार्यक्रम सञ्चालनको अनुमति पाएका छन् ।
शिक्षकदेखि ठेगाना नभएकाले पाएनन् सिट
सिटिइभिटीअन्तर्गतको कार्यक्रम सञ्चालन गर्ने अनुमति मागेका र स्तरोन्नति भएका शिक्षण संस्थाहरूमा समेत मापदण्ड पूरा नभएको पाइएको छ । कतिपय संस्थामा कक्षाकोठा नभएको, सामग्रीको बिल मात्र प्राप्त भएको, तर सामग्री नपाइएको, शिक्षक नभएको र कतिपयको अस्पतालसँग सम्झौता नभएको उल्लेख छ । इटहरीको हेल्थ कलेजलाई प्रमाणपत्र तहमा रेडियोग्राफी कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ, तर अनुगमनमा फेला नपरेको विवरणमा उल्लेख छ ।
चिकित्सा शिक्षाको लाइसेन्स परीक्षामा ४२ प्रतिशत उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको मेडिकल र डेन्टल परीक्षामा ४२.३२ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । ६ देखि ८ असोजमा सञ्चालन भएको लाइसेन्स परीक्षामा दुई हजार ३९ परीक्षार्थी सहभागी भएकामा आठ सय ६३ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीका अनुसार मेडिकलमा एक हजार ६ सय ८६ र डेन्टलमा तीन सय ५३ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये मेडिकलमा सात सय ४० र डेन्टलमा एक सय २३ विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । अधिकारीले परीक्षामा अप्रिय गतिविधि नभएको बताए । २१ परीक्षार्थी परीक्षामा अनुपस्थित भएका थिए ।