मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
काठमाडौंको गल्फुटारमा बन्न लागेको बाल अस्पतलको ‘मास्टर प्लान’
२०७९ असोज ८ शनिबार १६:२७:००
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

राजधानी काठमाडौं र पूर्वको दमकमा अत्याधुनिक बाल अस्पताल

डा. कोइरालाको नेतृत्वमा बन्न लागेका अस्पतालले सरकारी अस्पतालकै शुल्कमा बालबालिकासम्बन्धी सबैखाले उपचार सेवा दिने

Read Time : > 3 मिनेट
२०७९ असोज ८ शनिबार १६:२७:००

बालबालिकामा देखिने सबैखाले रोगको उपचार न्यून शुल्कमा गर्नका लागि चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा काठमाडौं र दमकमा अत्याधुनिक सुविधानसम्पन्न अस्पताल बन्ने भएको छ। यस अस्पतालमा सरकारी अस्पतालकै हाराहारी शुल्क तिरेर विशेषज्ञ उपचार सेवा प्राप्त हुनेछ ।

यी दुई अस्पताल काठमाडौंको गोल्फुटार र झापाको दमकमा बन्नेछन्। अस्पतालमा हेलिप्याड सुविधासहितको भव्य ‘किओच काठमाडौं बाल अस्पताल’ र ‘किओच दमक बाल अस्पताल’ बन्दै छन् । गोल्फुटारमा बन्ने अस्पताल तीन महिनाअघि नै निर्माण प्रक्रियामा गइसकेको छ । यो अस्पताल दुई वर्षभित्रै सञ्चालनमा आइसक्नेछ । दमकको अस्पतालको भने निर्माण सम्पन हुन लागिसकेको छ । यसअघि रेडक्रसले बनाएको भवनलाई स्तरोन्नति गरेर पुसदेखि उपचार सेवा सुरु हुनेछ ।

झापाको दमकमा बन्न लागेको बाल अस्पतालको ‘मास्टर प्लान’

दमकमा एक बिघा र काठमाडौंमा बन्न लागेको बाल अस्पताल ४२ रोपनी जग्गामा फैलिएको छ । यति फराकिलो जग्गामा बन्ने यी दुई अस्पताल नेपालकै पहिलो नमुना बाल अस्पताल हुनेछन् । जहाँ सरकारी अस्पतालकै शुल्कमा बालबालिकामा देखिने हरेक रोगको उपचार हुनेछ । काठमाडौंको अस्पतालमा करिब एक अर्ब ७५ करोड रुपैयाँ र दमकको अस्पतालमा दुई करोड रुपैयाँ लागत लाग्नेछ ।

बालबालिकामा समर्पित एउटा विशिष्टीकृत सेवा प्रदान गर्न सकिने अस्पताल आवश्यक छ भन्ने महसुस गरेर नै यस प्रकारको अस्पताल निर्माणमा लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. कोइरालाले बताए । ‘म आफैँ पनि सक्रिय रूपमा स्वास्थ्य क्षेत्रमा लागेकाले यस्तो अस्पताल बनाउँछु भन्ने सोच बनाएको थिएँ,’ उनले भने, ‘मैले जहाँ–जहाँ काम गरेँ, त्यहाँ–त्यहाँ बालबालिकाको उपचार सुदृढ गर्नतिर लागेँ, तर विशेष अस्पताल चाहिने रहेछ भन्ने बोध भयो ।’

उनका अनुसार अस्पताल निर्माणका लागि ०७४ देखि जग्गा खोज्न सुरु गरिए पनि ०७७ मा मात्र जग्गा प्राप्ति भएको थियो । ०७७ माघमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारी जग्गा अस्पताल बनाउन दिइने निर्णय भएको थियो । नक्सा पास, वातावरण प्रभाव मूल्यांकन र जग्गाबारे अध्ययनपछि काम सुरु गरिएको छ । रेडक्रसले बनाउन लागेको अस्पतालको भवन नै प्राप्त भएकाले त्यहाँ अबको तीन महिनापछि बाल उपचार सेवा सुरु हुनेछ ।

तीन महिनादेखि निर्माण कार्य सुरु भएको काठमाडौंको अस्पताल निर्माणमा मात्रै एक अर्ब ७५ करोड लाग्ने इस्टिमेट रहेको छ । कोइरालाका अनुसार त्यो रकम व्यक्ति, सरकार तथा विभिन्न दाताबाट जुट्दै छ । काठमाडौंको अस्पताल निर्माणका लागि संघ र प्रदेश सरकारले पाँच–पाँच करोड र स्थानीय सरकारले चार करोड दिने सम्झौता भइसकेको छ । बजेट अपुग हुने देखिएमा बैंक तथा वित्तीय संस्था र अन्य निजी संस्थाहरूसँग सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग माग गरिने कोइरालाले जानकारी दिए ।

उनका अनुसार ठूल्ठूला कर्पोरेट हाउसहरूले सिएसआरअन्तर्गतको रकम सहयोग गरे भने अस्पताल निर्माणमा आर्थिक समस्या हुनेछैन । ‘कुनै पनि देशमा बच्चाको स्वास्थ्यलाई पहिलो प्राथमिकता (पिवान)मा राखिन्छ, तर हामीकहाँ बच्चाको उपचारलाई त्यति महत्व दिइन्न, महत्व दिए पनि उपचारका लागि राम्रो स्वास्थ्य संरचना छैन,’ डा. कोइरालाले भने, ‘त्यसैले हामीले गैरसरकारी तवरबाट यो अस्पताल बनाउन लागेका हौँ, यो अस्पताल अर्धसरकारी वा सामुदायिकजस्तै हुनेछ ।’

सातै प्रदेशमा अस्पताल खोल्ने योजना
हाल दुई स्थानमा मात्रै बाल अस्पताल खोल्न लागेका डा‍ कोइरालाको सपना यसलाई सातै प्रदेशमा पुुर्याउनेछ । तर, सुरुमा सबैतिर काम थाल्दा आर्थिक अभाव हुने भएकाले दुई स्थानमा मात्रै अस्ताल निर्माण कार्य सुरु गरेको उनले बताए । अबको सात–आठ वर्षमा सरकारसँग समन्वय गरेर सातै प्रदेशमा बाल अस्पताल खोल्ने योजना कोइरालाको छ । ‘७५३ वटै स्थानीय तहमा अस्पताल बनाउँछौँ भन्ने सरकारलाई सातवटा प्रदेशमा अस्पताल बनाउन दिने पैसा पुग्दैन होला र ?,’ उनले भने, ‘कि त सरकार आफैँले गर्नुपर्यो, कि त हामीलाई सहयोग गर्नुपर्यो ।’

किताब बिक्रीको पैसा अस्पतालमा 
कोइरालाले आफ्नो पुस्तक बिक्री र जीवनभरि संघर्ष गरेर कमाएको पैसा अस्पताल निर्माणमा खर्च गरेको बताए । अस्पताल निर्माणका लागि सरकारले १४ करोड दिने घोषणा गरेको छ । हाल संस्थाको नाममा करिब ३० करोड रकम छ। त्यसबाहेक विभिन्न व्यक्तिबाट करिब पाँच करोड रकम जम्मा भइसकेको छ। यसबाहेक अस्पतालका लागि सरकारले निःशुल्क जग्गा दिइसकेको छ । निर्माणकार्यका लागि आर्थिक अभाव हुने देखिएकाले नागरिक समाज, व्यवसायी र व्यावसायिक संघ–संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम सहयोग गर्न आग्रह गरिएको छ । ‘यो अस्पतालमा आफ्नो भूमिका धेरै रहे पनि यो नितान्त सेवामूलक तथा सामुदायिक अस्पतालका रूपमा रहनेछ,’ उनले भने, ‘बालबालिकाको जीवन बचाउन अस्पताल निर्माणमा कर्पोरेट संस्थाहरूलाई पनि सहयोग गर्न आग्रह गर्दछु ।’

कस्ता–कस्ता रोगको उपचार हुन्छ ? 
यो अस्पतालले बालबालिकामा देखिने सामान्य समस्यादेखि जटिल समस्यासम्मको उपचार सेवा दिनेछ। बालबालिकालाई मनोपरामर्शदेखि बालबालिकाको रोगअनुसार सबैखाले शल्यक्रिया गरिनेछ। दुई रोपनीभन्दा बढी जग्गामा बालबालिका खेल्ने पार्क पनि बनाइनेछ। एउटा बाल मनोपरामर्श सेवासम्बन्धी विभाग हुने र त्यहाँ बाल मनोवैज्ञानिकहरू राखिनेछ। ‘बालरोग विशेषज्ञ भनेपछि सबै उही डाक्टरले हेर्छ भन्ने मान्यता हामीकहाँ छ तर बच्चाको किड्नी, फोक्सो, न्युरो, मुटुलगायत उपचारका लागि छुट्टै अस्पताल चाहिन्छ,’ उनले भने, ‘ठूला मानिसको मुटुको उपचार गर्नेले बच्चाको मुटुको उपचार गर्न सक्दैनन्।’

यसरी बन्यो बाल अस्पतालको योजना 
डा. कोइरालाले गंगालाल, त्रिवि शिक्षण, मनमोहनलगायत धेरै अस्पतालमा काम गरे। धेरैवटा अस्पताल चहारेका उनले अन्य उमेर समूहका व्यक्तिको जसरी बालबालिकाको उमेरअनुसार फरक–फरक रोगको अस्पताल कतै देखेनन् । तर, उनीसँग आमअभिभावकले बालबालिकामा लाग्ने जटिल रोगबारे सोध्थे ।

कतिपय बालबालिकाको त नेपालमा उपचार सम्भव नदेखिएपछि उनले भारतमा लैजान पनि सुझाव दिन्थे। तर, धेरै बालबालिकामा देखिने ‘कमन’ रोगको समेत उपचार हुने अस्पताल नभएको देखेपछि करिब ६ वर्षअघि उनले एउटा बाल अस्पतालको ‘कन्सेप्ट’ सोचे ।

नेपालमै नभएको बाल अस्पताल र बालबालिकामा देखिने दुर्लभ रोगको समेत उपचार एउटै छानामुनि हुने अस्पताल बनाउने योजना उनले अघि सारे । करिब तीन वर्ष उनले कस्तो र के–के रोग बालबालिकामा देखिने रहेछन् भनेर रिसर्च गरे । त्यसका लागि उनले सरोकारवाला व्यक्ति, चिकित्सक, अभिभावक, राजनीतिकर्मीलगायतसँग आफ्नो योजनाबारे छलफल गरे । उनको उक्त योजना मन्त्रिपरिषद्सम्म पुग्यो, जसले गर्दा उनलाई अस्पताल बनाउन चाहिने जग्गा सरकारले नै दियो ।

'बिरामीलाई भारत वा अन्य देशमा दौडाउनुपर्ने बाध्यता हट्नेछ'

नेपालमा बालबालिकासम्बन्धी रोग बढ्दो छ । तर, समयक्रमअनुसार उनीहरूमा देखिने सबैखाले रोगको उपचारका लागि कुनै विशिष्टीकृत अस्पताल छैन । अन्य उमेरसमूहका व्यक्तिले जसरी बालबालिकाले एउटै छानामुनि सहज उपचार सेवा पाउँदैनन् । हाल बालबालिका बिरामी भए अधिकांश अभिभावकले दौडाउने ठाउँ कान्ति बाल अस्पताल हो । तर, यहाँ पनि बालबालिकाको सबैखाले रोगको उपचार सम्भव छैन ।

कान्तिमा बालरोग विशेषज्ञ डाक्टरले नै बालबालिकाको सबैखाले रोगको उपचार गर्दै आएका छन् । तर, रोगअनुसार छुट्टै विभाग र डाक्टरको व्यवस्था नहुँदा कान्तिमा पनि सबैखाले बाल रोगको उपचार हुँदैन । उपत्यका तथा देशका अन्य अस्पतालले त झन् बालबालिकाका लागि सामान्य उपचारबाहेकको सेवा प्रवाह नै गर्न सकिरहेका छैनन् ।

बालबालिकालाई क्यान्सर, पेट, घाँटीसम्बन्धी वा अन्य अंगसँग सम्बन्धित जटिल रोग लाग्यो भने भारत वा अन्य देशमा दौडाउनुपर्ने बाध्यता छ । त्यसैले बालकालिकाका हरेक रोगको उपचार हुने गरी हामीले अस्पताल निर्माण गर्न लागेका हौँ ।