
अबको केही वर्षमा बाल्टिक सागरको ४० मिटर मुनिको विश्वकै लामो सुरुङले डेनमार्क र जर्मनीलाई जोड्नेछ र यी दुुई देशबीचको यात्रा समयलाई कटौती गर्नेछ ।
फेहमार्न बेल्ट सुरुङको निर्माण कार्य एक दशकभन्दा लामो तयारीपछि सन् २०२० देखी सुरु भएको हो । डेनमार्कतर्फ एउटा अस्थायी बन्दरगाहको निर्माण कार्य सम्पन्न भइसकेको छ । यो बन्दरगाहमा एउटा कारखाना पनि निर्माण गरिँदै छ, जसले चाँडै जलगत सुरुङमा राख्न ८९ वटा ठूला पक्की सुरुङ खण्डहरू निर्माण गर्नेछ र त्यसैलाई जोडेर सुरुङ बनाइनेछ ।
‘पहिलो लटको उत्पादन यसै वर्षको अन्त्यसम्ममा नभए नयाँवर्षको सुरुताका तयार हुने अपेक्षा छ,’ डेनिस सरकारको स्वामित्वको कम्पनी फिमर्न ए÷एसका सिइओ हेनरिक भिन्सेन्टसेन भन्छन्, ‘सन् २०२४ को सुरुसम्ममा पहिलो सुरुङ खण्डलाई पानीमुनि गाड्न हामीले तयारी गर्नु छ ।’१८ किलोमिटर लम्बाइको उक्त सुुरुङ युरोपको सबैभन्दा ठूलो पूर्वाधार परियोजनामध्येको एक हो । यसको बजेट सात अर्ब युरोभन्दा धेरै छ । हुन त युरोपमा यसअघि नै योभन्दा लामो जलगत सुरुङ मार्ग बनिसकेको छ । तर, यसको निर्माण च्यानल टनेल (इग्लिस च्यानलको पानीमुनि निर्मित)को भन्दा फरक किसिमले हुँदै छ । सन् १९९३ मा निर्माण सम्पन्न भएको बेलायत र फ्रान्सलाई जोड्ने ५० किलोमिटर (३२ माइल) लामो च्यानल टनेलको लागत अहिलेको मूल्यमा हिसाब गर्दा १२ अर्ब युरोबराबर हुन आउँछ । फेहमार्न बेल्ट सुरुङभन्दा लामो भए पनि च्यानल टनेल बोरिङ मेसिनको प्रयोग गरेर निर्माण गरिएको थियो, तर यो सामुद्रिक सुरुङ मार्ग भने बाहिर नै तयार गरिएका सुरुङ खण्डहरू जोडेर निर्माण गरिनेछ ।
यो सुरुङ जर्मनीको फेहमार्न टापु र डेनिस टापु लोल्यान्डबीचको जलडमरुको वारपार निर्मित हुनेछ । यसलाई रोडबाई र पुटगार्डेनबाट सञ्चालित हरेक वर्ष करोडाँै यात्रुलाई ओसारपसार गर्ने पानीजहाज सेवाको विकल्पको रूपमा डिजाइन गरिएको छ । अहिले जहाज (फेरी)बाट यो जलडमरु पार गर्न ४५ मिनेट लाग्छ, तर सुरुङ निर्माणपछि रेलबाट सात मिनेट र कारमा १० मिनेटमा नै यसलाई वारपार गर्न सकिनेछ ।
बृहत् प्रभाव
यो परियोजनाबाट २५ हजार मानिसले प्रत्यक्ष रोजगारी पाउनेछन् । ‘स्टिल र अन्य कच्चापदार्थको मूल्य बढेकाले आपूर्ति शृंखला अहिले चुनौतीपूर्ण छ । हामीले आवश्यक सामग्री पाउनेछौँ । तर, यो गाह्रो भने छ । हाम्रा ठेकेदारले आवश्यक सामग्री पर्याप्त परिमाणमा प्राप्त गर्न सक्ने सुनिश्चित गर्न आपूर्तिकर्ताहरूको संख्या बढाउनुपरेको छ,’ भिन्सेन्टसन भन्छन् । डेनमार्कका ठूला संगठनमध्येको एक डेनिस उद्योग महासंघका माइकल स्वान सुरुङ डेनमार्क बाहिरका व्यवसायका लागि पनि फाइदामन्द हुने विश्वास गर्छन् । ‘सुरुङले स्क्यान्डिनेभिया र मध्य युरोपबीच एक रणनीतिक कोरिडोर सिर्जना गर्नेछ । यसको अर्थ जलवायुमैत्री यातायात सञ्जालको विकास पनि हो । हामी अन्तरसीमा आबद्धतालाई स्थानीय रूपमा मात्र नभई राष्ट्रिय रूपमा पनि वृद्धि र रोजगारी सिर्जना गर्ने एउटा उपकरण मान्छौँ,’ स्वानको भनाइ छ ।
केही वातावरणवादी समूहले फेहमार्न बेल्टमा सुरुङले पोरपोइसस (माछा जस्तै सामुद्री प्राणी)मा प्रभाव पार्ने चिन्ता व्यक्त गरे पनि डेनिस सोसाइटी फर नेचर कन्जर्भेसनका माइकल लोभेन्डर क्रुजचाहिँ यो परियोजनाले वातावरणीय फाइदा गर्ने विचार राख्छन् ।
विश्वकै लामो
आधिकारिक नाम फेहमार्न बेल्ट फिक्स्ड लिंक दिइएको यो सुरुङमार्ग संसारकै लामो संयुक्त सुरुङमार्ग (सडक र रेलमार्ग) हुनेछ । यसमा दुई लेनको मोटरबाटोसहित एउटा सर्भिस प्यासेज वे र विद्युतीय रेलको दुुईवटा ट्र्याक हुुनेछन् ।‘अहिले कोपनहेनगनबाट हामवर्गसम्म रेलको यात्रा गर्नुपर्यो भने झन्डै साढे चार घन्टा लाग्छ,’ फेमर्न ए/एसका प्राविधिक निर्देशक जेन्स ओले कासलुन्ड भन्छन्, ‘सुरुङमार्गको निर्माण सम्पन्न भएपछि त्यो यात्रा साढे दुुई घन्टामा पूरा हुनेछ ।
च्यानल टनेल बोरिङ मेसिनको प्रयोग गरेर निर्माण गरिएको थियो, तर यो फेहमार्न बेल्ट बाहिर नै तयार गरिएका सुरुङ खण्डहरू जोडेर निर्माण गरिनेछ
अहिले प्रशस्त मानिस यी दुई सहरबीच उडान गर्छन्, तर भविष्यमा धेरैले रेल यात्रा गर्नु मुनासिब ठान्नेछन् । फेरीका लागि लाइनमा बस्नु नपर्दा कारबाट यात्रा गर्दा यो यात्रा अहिलेभन्दा करिब एक घन्टा छिटो हुनेछ ।’ रेल र बसका यात्रुलाई प्राप्त हुने लाभबाहेक सुुरुङले मालबाहक ट्रक र रेलको खर्चमा पनि सकारात्मक प्रभाव पार्ने कासलुन्ड बताउँछन् । किनकि यसले स्विडेन र मध्य युरोपबीच अहिलेको भन्दा १६० किलोमिटर छोटो स्थलमार्ग उपलब्ध गराउनेछ ।
परियोजनाको सुरुवात
यो जलगत सुरुङमार्ग निर्माण जर्मनी र डेनमार्कले सम्झौतामा हस्ताक्षर गरेपछि सन् २००८ बाट सुरु भएको थियो । त्यसपछि दुवै देशले आवश्यक कानुन पारित गर्न र भू–प्राविधिक तथा वातावरणीय प्रभाव अध्ययन गर्न एक दशकभन्दा बढी समय लाग्यो । यी कार्य डेनमार्कतर्फ सहज रूपमा सम्पन्न भए पनि जर्मनीका फेरी कम्पनी, वातावरणीय समूह र स्थानीय नगरपालिका सहितका धेरै संस्थाले यो परियोजनाको विरोध गर्दै अदालत पुगेका कारण ढिलाइ भयो । तर, सन् २०२० को नोभेम्बरमा जर्मनीको संघीय अदालतले ती निवेदनलाई खारेज गरिदियो ।
अहिले डेनमार्कतर्फ अस्थायी बन्दरगाह निर्माणको कार्य सम्पन्न भइसकेको छ । वास्तविक खाडल खन्ने, सुरुङ खण्डहरू बनाउने कारखानाको निर्माणलगायत परियोजनाका धेरै अन्य चरणका काम चलिरहेको छ ।बाहिरै तयार गरेर जडान गर्न लगिने प्रत्येक सुरुङखण्ड दुई सय १७ मिटर लामो (विश्वको सबैभन्दा ठूलो कन्टेनर जहाजको लगभग आधा लम्बाइको), ४२ मिटर चौडा र नौ मिटर अग्ला हुनेछन् । यी प्रत्येक ७३ हजार मेट्रिक टन वजनका अर्थात् १३ हजार हात्तीजत्तिकै भारी हुनेछन् ।
‘हामीसँग ६ वटा उत्पादन लाइन हुनेछन् र कारखानामा तीनवटा हल हुनेछन् । पहिलो हलको निर्माण कार्य ९५ प्रतिशत पूरा भइसकेको छ,’ भिन्सेन्टसन भन्छन् । यी सुरुङ खण्डहरू पानीको सतहबाट करिब ४० मिटर तल समुद्रको पिँधमा क्रेनद्वारा लगेर राखिनेछ । सबै खण्डहरूलाई त्यहाँ लगेर राख्न लगभग तीन वर्ष लाग्ने परियोजनाको अनुमान छ ।