
राप्ती नदीमा बाढी खतराको सतहभन्दा माथि पुगेको छ। पानीको सतह ५.४० मिटरमाथि आए खतराको सतह मानिन्छ । तर उक्त नदीमा अहिले पानीको सतह ६ दशमलव २२ पुगेको जल तथा मौसम विज्ञान विभाग जल मापन केन्द्रले जनाएको छ ।
राप्ती नदीमा अहिले पनि बाढी बढ्ने क्रममा रहेकोले सुरक्षित स्थानमा जान र सजग रहन बाँके प्रशासनले आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताए। उनले नदी तटीय क्षेत्रका बासिन्दालाई सजग गराउन होलिया, फत्तेपुर, विनौना, कम्दी, बेतहनी लगायत क्षेत्रमा साइरन बजाइएको बताए ।
त्यसैगरी, डुवान हुने खतरालाई मध्यनजर गरि उद्धारका लागि आवश्यक सामग्री र सुरक्षाकर्मी त्यसतर्फ पठाउने तयारी गरिएको बताए। राप्ती नदीको कुसुमघाटमा आएको बाढी होलिया पुग्न चार घण्टा लाग्ने उनले बताए ।
त्यसैगरि, बबई नदीमा बाढी खतराको सतहभन्दा माथि पुगेको छ। जल मापन केन्द्रका अनुसार, ७ दशमलव ०८ पुगेको छ। यो खतराभन्दा धेरै माथि हो । उक्त नदीमा पानीको सतह ६ दशमलव १० पुगे खतरा मानिन्छ ।
उता, कर्णाली नदीमा पनि पानीको सतह खतरा नजिक पुगेको छ। कर्णाली नदीमा पानीको सतह १० दशमलव ८० पुगे खतरा मानिन्छ । उक्त नदीमा अहिले पानीको सतह १० दशमवल ०६ पुगेको जल मापन केन्द्रले जनाएको छ। यी तीन वटै नदीमा पानीको सतह बढ्दै गएको छ ।