सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन्। खाडीचौरमा बसेको माओवादी १ नं. क्षेत्रीय समन्वय समितिको बैठकले सापकोटासहित तीनजनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो।
सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। महिला नेतृ फुलम तामाङ र पार्टी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबाेधको नाम क्रमशः दुई र तीन नम्बरमा छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने निश्चित भने भइसकेको छैन।