
पुस्तक पढ्ने कुनै निश्चित समय त छैन, तर फुर्सदमा पढिहाल्छु : बुद्धि तामाङ
मैले ०६३ सालमा डबली नाट्य समूहमा काम गर्न थालेपछि विभिन्न पुस्तक पढ्ने अवसर पाएँ । डबलीमा पुुस्तकालय देखेपछि मैले सञ्चालक पुष्कर गुरुङसँग बिन्ती बिसाएँ । ‘म अफिसमै बस्छु, सफा गर्ने, चिया पकाउने, यहाँको सबै काम गर्छु । मलाई यहीँ बस्ने व्यवस्था गर्दिनु,’ मैले गरेको यो अनुरोधमा एउटै स्वार्थ थियो, पुस्तकालयमा भएका सबै किताब पढ्छु भन्ने । मलाई त्यो वेलामा थाहा थिएन, पुस्तकालयका पुस्तकहरू झोलामा घर लगेर पढ्न मिल्छ भन्ने । अहिले सोच्दा म कति सोझो रहेछु भन्ने लाग्छ । सायद पालैपालो किताब लगेर पढ्छु भनेको भए पनि पुष्कर सरले नाइँ भन्नुहुने थिएन होला ।
म डबलीमा जानुको मुख्य कारण त्यहाँको पुस्तकालय नै थियो । त्यहाँ भएका किताब पढे केही न केही त बुझिन्छ भनेर यात्रा सुरु भएको थियो । म रंगमञ्चमा अडिनुको कारण पनि पुस्तक हो । मैले प्रायः नाटकका पुस्तक पढ्थेँ । अंग्रेजी नजान्ने म नेपाली किताब छानीछानी पढ्थेँ । पुस्तकालयमा अंग्रेजीबाहेकका नेपाली पुस्तक क्रमशः पढेँ । दुई–तीन वर्षको अवधिमा मैले करिब एक हजार पुस्तक पढेँ हुँला ।
पुस्तक पढ्ने कुनै निश्चित समय त छैन, तर फुर्सदमा पढिहाल्छु । पहिले पैसा नहुँदा किताब कसरी पढेँ भन्ने त सुनाइहालेँ, अहिले आर्थिक अवस्था केही सक्षम छ । अहिले म किताब किनेर नै पढ्छु । किनेर पढेको पुस्तकको महत्व पनि बढी हुँदोरहेछ । पुस्तक किन्दा चर्चामा आएका नाटकसम्बन्धी पुस्तक नै मेरो रोजाइमा पर्छ । म पुस्तक मागेर वा साटेर पनि पढ्छु । आफूले मागेर ल्याएको पुस्तक सम्झिएर फिर्ता दिने मेरो बानी छ । हाम्रा कालाकारहरूको टिममा पनि पुस्तकको बारेमा कहिलेकाहीँ चर्चा हुन्छ । जीवनमा मन पर्ने पुस्तक धेरै छन् ।