मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण ९ बुधबार
  • Wednesday, 21 February, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ०६:०८:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसदमा प्रदीप गिरिको त्यो पहिलो सम्बोधन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ७ मंगलबार ०६:०८:००

ज्येष्ठ सदस्य बलबहादुर राईको अध्यक्षतामा बसेको ०५१ को प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक राजाको सन्देश पढेर सुनाउँदै औपचारिकतामा सीमित भएको थियो । २ पुस ०५१ मा बसेको दोस्रो बैठकमा सभामुख चयन गर्ने कार्यसूची थियो, जसमा सिराहा– ५ बाट निर्वाचित प्रदीप गिरिले कांग्रेसका तर्फबाट सभामुखका उम्मेदवार रामचन्द्र पौडेलको समर्थनमा रोचक सम्बोधन गरे । संसद्मा त्यो उनको पहिलो सम्बोधन थियो । पौडेलविरुद्ध एमालेले सिपी मैनालीलाई स्थानीय विकासमन्त्रीबाट राजीनामा गराएर उम्मेदवार बनाएको थियो । पौडेल १०७ मतसहित निर्वाचित भए भने मैनालीले ९४ मत प्राप्त गरे । समाजवादी चिन्तक गिरिले गरेको पहिलो सम्बोधनको पाठ :

माननीय सभामुख महोदय, करिब–करिब म अन्तिम वक्ता हुँलाजस्तो लाग्छ । हामीले धेरै बेरदेखि कमरेड सिपी मैनाली र रामचन्द्र पौडेलजीको तुलना गर्नुपर्ने एउटा कठिन र साह्रै धर्मसंकटको कुरा सुनिरहेका छाैँ । तर, पनि एकाध कुरा रमाइला लागे मलाई । जुन कुरो यो संसदीय व्यवस्थामा साथीहरूले मिस गरेजस्तो लाग्यो । म प्रधानमन्त्रीलाई भन्छु, क्याबिनेट गठन गर्न कति गाह्रो छ, एकचोटि अनुभव गरिसक्नु भो । कमरेड माधव नेपाललाई अनुभव भइसक्यो पोर्टफोलियो बाँड्न कति गाह्रो छ । अब उहाँलाई दिइसकेको पोर्टफोलियो, दिइसकेको गाडी हाम्रो साथीले पाउनुहुन्छ । यत्रो सैद्धान्तिक कुरा किन गर्ने ? सरक्क उहाँ (रामचन्द्र)लाई छोडिदिनुहोस् भन्न म उभिएको । लामो–लामो सैद्धान्तिक गफ त वर्षभरि नै हामी गरिराख्छौँ, गर्न पर्छ पनि । आवेश इत्यादि भयो, बढ्ता बोले, कम बोले भनेर साथीहरू भन्दै हुनुहुन्छ । यो त बढ्ता हुँदै होइन ।

अत्यन्त सभ्य कहलिएका तथाकथित संसद्मा योभन्दा बढी हानथाप भइराख्छ । सभामुखमा दुईजनाको योग्यताको विषय मलाई लाग्छ, सबभन्दा महत्वपूर्ण कुरो हो । (रामचन्द्रजी) स्थानीय विकास मन्त्रालयको जिम्मेवारी तीन वर्ष खाएर आउनुभएको छ, तपाईं(सिपी)ले बल्ल स्थानीय विकास पाउनुभएको छ । तपाईं स्थानीय विकासमै रहनुस् तीन वर्ष । यहाँ षड्यन्त्रको कुरा उठ्यो । षड्यन्त्र शब्दका कारण हाम्रो नेता शेरबहादुरजी पनि रिसाउनुभयो । वास्तवमा, उहाँले एकदम संसदीय भाषामै भन्न खोज्नुभएको छ, राम्ररी आफ्नो कुरा राख्नुभएको छ, कुनै गलत राख्नुभएको छैन । तर, यथार्थमा प्रकट भएर आएको भाषाचाहिँ असंसदीय हो । तपाईंहरूले गलत अर्थ नगर्ने हो भने बरु हाम्रा सिपी साहेबलाई नै पो षड्यन्त्र गरेर हटाउन आँटेजस्तो देख्छु म । त्यसैले सिपी कमरेड मन्त्री नै रहनुपर्छ, सभामुख रामचन्द्र हुनुपर्छ । यसमा जोडदार तर्क दिनुभएको छ, पूर्णबहादुर खड्काजी र रामशरण महतजीले । 

रामचन्द्रजी अडान नै नलिने, अडान नलिने मान्छे नै सभामुख चाहिएको हो । सभामुख सबैलाई मिलाएर राख्ने मान्छे चाहिन्छ । त्यसो हुँदा यो (गुण) पनि रामचन्द्रजीकै पक्षमा गयो ।

वास्तवमा सभामुख वेलाबखत कुटाइ खान सक्ने मान्छे पनि हुनुपर्छ, (रामचन्द्रजीले) हाउसमा कुटाइ खाएर सहिष्णुता देखाई पनि सक्नुभएको छ । सिपीले कुटाइ खानुहोला जस्तो लाग्दैन मलाई, बरु कुट्नु नै होला । जहाँसम्म योग्यताको सवाल छ, यो बडो सापेक्ष हुन्छ । कस्तो भन्दा अमेरिकामा राजदूत पठाउने मान्छेको बेग्लै योग्यता हुनुपर्छ, चीनमा राजदूत पठाउने मानिसको बेग्लै । आर्मीमा जाने मानिसको बेग्लै योग्यता हुनुपर्छ, भूमिगत काम गर्न पठाउने हो भने त्यसैअनुरूपको योग्यता हुनुपर्ला । तपाईंहरूलाई भूमिगतको ज्यादा अनुभव छ । यहाँ हाम्रो प्रदीप नेपाल पनि हुनुहुन्छ, उहाँले सञ्जय थापाको नामले उपन्यासै लेख्नुभएको थियो । त्यहाँ शौच इत्यादि नधुने मान्छे चाहिएला, भूमिगत हुन । मैले भन्न खोजेको, कामअनुसारको योग्यता चाहिन्छ । 

सभामुखको योग्यता रामचन्द्रजीमा छ । रामचन्द्रजी पूर्णकदको चन्द्रमाजस्तो शीतल हुनुहुन्छ, सिपी मैनालीजीको व्यक्तित्व एकदम मध्याह्नको प्रखर सूर्यजस्तो छ । सभामुखमा अलिकति सबैतिर ठिक हुने मानिस चाहिन्छ । सिपी कस्तो अडिग भने अगाडि रेलै आए पनि हाम्रो गणेशमानजी जस्तो म हट्ने कि रेल हट्ने भन्ने खालको उहाँको व्यक्तित्व छ । त्यो तपाईंहरू सबैले महसुस गर्नु नै भएको छ । मैले त तपाईंको आदर गरेर कमरेडी कुरा गर्दा नि फेरि यसले त खसालेर भन्यो नभन्नुहोला । यस्तो दृढ व्यक्तित्व, यस्तो अडान लिने, पार्टीभित्र पनि अडान लिएको छ ।

सभामुख वेलाबखत कुटाइ खान सक्ने मान्छे पनि हुनुपर्छ, (रामचन्द्रजीले) हाउसमा कुटाइ खाएर सहिष्णुता देखाइसक्नुभएको छ । सिपीले कुटाइ खानुहोलाजस्तो लाग्दैन मलाई, बरु कुट्नु नै होला । 

रामचन्द्रजी अडान नै नलिने, अडान नलिने मान्छे सभामुख चाहिएको हो । सबैलाई मिलाएर राख्ने मान्छे सभामुख चाहिएको हो । त्यसो हुँदा यो (गुण) पनि रामचन्द्रजीको पक्षमा नै गयो । मेरो भनाइ के भने करिब–करिब सबैको भावना पनि थाहा भइसक्यो हामीलाई । गजेन्द्रबाबुले बोलिसक्नुभयो, रोहित (नारायणमान बिजुक्छे) ज्यूको पनि आत्मा त यतै रहेछ, सल्लाह नगरेर मात्रै हो भन्नुभयो । अरू एक घन्टा टाइम भएको भए जरुर मिलाउँथ्यौँ हामी । त्यसो हुँदा किन लटपट गर्ने ? यहीँ जुरुक्क उठेर यहीँनेर सल्लाह गरेर सिपीले फिर्ता लिनुभएकोे खण्डमा (हामी) ताली बजाइहाल्छाैँ । फेरि विगत तीन वर्षमा रामचन्द्रजीले स्थानीय विकास (मन्त्रालय)मा घोटाला गरेको पो छ कि त्यो पनि मन्त्रीजी (सिपी मैनाली)ले राम्ररी, त्यहीँ बसेर हेर्नुपर्‍यो । अब कहाँ क्याबिनेट पुनर्गठन गर्ने, कसलाई दिने, त्यो पनि झन्झटै छ । त्यसैले सिपी यथावतै बस्नुहुन्छ, रामचन्द्रजीलाई अब नयाँ पद दिऊँ । 

अब अन्तिम कुरा, अघि डा. महतले भन्नुभएको थियो, यो संसद्को नियम–कानुन पनि रामचन्द्रजीलाई थाहा छ भनेर । त्यो पनि ठिकै भन्नुभयो । हाम्रो संसदीय दलको नेता शेरबहादुरजीले माओत्सेतुङको प्रसंग निकाल्दा एउटा साथीले उदारतापूर्वक मैले माओवाद छोडिदिएँ भन्नुभएको थियो । हामी यहाँ त्यो (माओवादी पार्टी) गठन गर्न आएका होइनौँ, हाम्रो विचारधारा यो हो, त्यो हो भन्नुभयो । अर्काेले माओवाद भन्न पाइन्छ, हामी भन्छाैँ भन्नुभयो । एकदम पाइन्छ । माओ विचारधाराका बारेमा तपाईंहरूका विभिन्न मत भएजस्तै हाम्रो नेताको पनि आफ्नै मत छ । यसकारण, त्यसमा पनि चित्त दुखाउन पाउनुहुन्न तपाईंहरूले । यति भन्दै बिदा हुन्छु ।