मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ २० शुक्रबार
  • Friday, 03 February, 2023
प्रमोदहरि​​​​​​​ गुरागाईं
२०७९ भदौ ६ सोमबार १८:५८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

त्रिवेणी जिम्मेवारीमा नेपाली कांग्रेस 

Read Time : > 2 मिनेट
प्रमोदहरि​​​​​​​ गुरागाईं
२०७९ भदौ ६ सोमबार १८:५८:००

नेतृत्वले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन दिनु हुँदैन। भागबन्डाका आधारमा नभई प्रत्येक निर्वाचन क्षेत्रमा टिकट निर्धारणमा तर्कयुक्त बहस जरुरी छ। गुटीय दृष्टिले टिकट निर्धारण भएमा त्यसबाट असन्तोष पैदा हुन्छ।


समयले जिम्मेवारीको निर्धारण गर्छ। जिम्मेवारी चुनौती र अवसर दुवै हो। कुशलतापूर्वक निर्वाह गरिएको जिम्मेवारी बहनले सामाजिक कद बढाउँछ। ढंग नपुर्‍याउनेलाई जिम्मेवारी बोझ बन्छ। ०७४ को संसदीय निर्वाचनको परिणामले नेपाली कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दियो। झन्डै दुईतिहाइ हाराहारीको कम्युनिस्ट सरकार निर्माण भयो। कांग्रेस असल प्रतिपक्षको भूमिकामा रह्यो। सरकारका राम्रा कार्यको समर्थन र गलत कार्यको विरोधमा ऊ कहीँकतै चुकेन। आवरणमा जेजस्तो तर्क गरिए पनि केपी ओली र प्रचण्डबीचको सत्ता सञ्चालनको आधा–आधा समयको भागबन्डाको सहमति कार्यान्वयन नभएपछि समस्या सुरु भयो। केपी ओलीको स्वास्थ्य स्थिति र माओवादी पार्टीको खस्किँदो हालतलाई हेरेर गरिएको कम्युनिस्ट गठबन्धन ‘तरबार बेचुवा र घिउ बेचुवा’ बीचको वस्तु विनिमयजस्तै विचल्लीमा पर्‍यो। स्वार्थवश बनेको गठबन्धन स्वार्थ नमिलेपछि टुट्नु स्वाभाविक थियो, टुट्यो। गठबन्धनमा आएको पहिरोले नेकपा एमाले निर्माणको जग झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेतालाई पनि एमालेबाट विभक्त गर्‍यो। परिणाम, प्रचण्ड, माधवकुमार, झलनाथ र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनुभयो।

पाँचदलीय गठबन्धनको जगमा देउवाको नेतृत्वमा गठित सरकारले स्थानीय निर्वाचनको सम्पादन र परिणाममा सफलता हासिल गरेको छ। सहमतिमै ४ मंसिरमा संसदीय निर्वाचनको मिति तय भएको छ। यसैबीच पाँचदलीय गठबन्धनको निरन्तरतामा पाँचै दलका शीर्षस्थ नेताहरूले सहीछाप गर्नुभएको छ। गठबन्धनको व्यावहारिक स्वरूप निर्धारण गर्न कार्यदल पनि गठन भइसकेको छ। तथापि, अभिभावकीय जिम्मेवारीमा रहेको कांग्रेसले निम्न तीन चुनौतीलाई सचेततापूर्वक अवसरका रूपमा निर्वाह गर्नैपर्छ।

स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन : लोकतन्त्रमा निर्वाचन आवधिक विषय हो। निर्वाचनको परिणाम प्राविधिक पक्ष मात्रै हो। मूलभूत विषय नागरिकको मतको स्वतन्त्र अभिव्यक्ति नै हो। लोकतन्त्रवादीले उत्तर कोरियाको जस्तो निर्वाचन पद्धति र निर्वाचन परिणामपश्चात् नागरिक वैधताको प्रश्न स्विकार्न सक्दैनन्। नेतृत्वप्रति नागरिकको विश्वासको मात्राको मापक निर्वाचनको परिणाम नै हो। नागरिक मनमा नेतृत्वले पैदा गरेको विश्वास, आशा, भरोसा वा नैराश्य, आवेग, गुनासो आदिको अभिव्यक्तिको माध्यम मतदाताले प्राप्त गर्ने स्वतन्त्र मतदान नै हो। तसर्थ, मददातालाई कुनै पनि खालका दबाबमार्फत प्रभावमा पार्ने कार्य रोक्न जिम्मेवारी कांग्रेसकै हो। नागरिक मनको सत्ता प्राविधिक सत्ताभन्दा सुन्दर र दीर्घकालीन महत्‍वको हुन्छ।

कांग्रेसमा सम्पूर्ण एकताको सन्देश : कांग्रेसभित्र गठबन्धनका सन्दर्भमा विभिन्न मत रहे। भिन्न–भिन्न विचार समूहबीचको बहस पार्टीको पुँजी हो। निर्णयमा नपुगुन्जेल आफ्नो मतको सान्दर्भिकताको प्रस्टोक्ति र पार्टीको निर्णयपश्चात् निर्णयको हिस्सेदारी र पालना जिम्मेवार नेतृत्वको पहिचान हो। एउटै डुंगाका यात्रीको साझा लक्ष्य सुरक्षित अवतरण नै हो। डुंगाको सहयात्रालाई बिर्सेर झगडा मच्चाउनु दुर्घटनामा पर्नु हो। तसर्थ नेतृत्वले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिन दिनुहुँदैन। भागबन्डाका आधारमा नभई प्रत्येक निर्वाचन क्षेत्रमा टिकट निर्धारणमा तर्कयुक्त बहस जरुरी हुन्छ। गुटीय दृष्टिले टिकट निर्धारणले असन्तोष पैदा हुन्छ। प्रतिपक्षसँगको प्रतिस्पर्धामा घरभित्रको सम्पूर्ण एकताले नै जित हासिल हुने हो। सम्पूर्ण एकता नाराले होइन, कर्मले प्रमाणित हुनुपर्छ।

धोका नदिने संस्कारको निरन्तरता : कतै पढेको थिएँ– सम्बन्धहरू धागोजस्तै हुनुपर्छ। यसलाई चुँडिन दिनुहुँदैन। चँुडिएपछि गाँसिँदैन। गाँसिइहाले पनि गाँठो रहिरहन्छ। तसर्थ, विश्वसनीय कर्म नै सम्पूर्ण संस्था सञ्चालन र सम्बन्ध निर्माणको अचुक औषधी हो। कांग्रेसले राजा, माओवादी आदिबाट धोका पायो, तर कसैलाई पनि धोका दिएन। हिजोको धोका सम्झिएर वर्तमानको साथ र भविष्यको साझेदारीलाई कांग्रेसले तोड्नु हुँदैन। भनिन्छ, ‘अप्ठेरोमा गाँस छोड्नू तर साथ नछोड्नू।’ सानो चित्तले ठूलो उपलब्धि प्राप्त हुन्न। तथापि, पाँचदलीय गठबन्धनले निम्न दुई विषयमा गम्भीर हुनैपर्छ।

नागरिक तहमा गठबन्धनको औचित्य पुष्टि : स्थानीय तह निर्वाचनको परिणामले पुष्टि गर्‍यो, पाँचदलीय गठबन्धनले संघीय र प्रादेशिक सरकार निर्माणको सहज अंकगणित प्राप्त गर्छ। पाँच दलले सरकार निर्माणसँगै शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सामाजिक सुरक्षाका विषयमा स्पष्ट रोडम्यापको साझा दृष्टिकोण प्रस्तुत गर्नैपर्छ। नागरिक तहमा राजनीति र राजनीतिज्ञप्रति निर्माण भएको निराशालाई सम्बोधन गर्न चुक्नु हुँदैन।

संख्या निर्धारणको व्यावहारिक सम्बोधन : निर्वाचनमा टिकट जित्नु मनोवैज्ञानिक विषय हो। प्रधान विषय निर्वाचनको परिणाम जित्नु हो। तसर्थ, गठबन्धनका नेताहरूले परिणामकेन्द्रित व्यावहारिक निर्णयमा पुग्नैपर्छ। पाथीमा माना मिसाउने कार्यले परिणाम दिन्छ। मानामा पाथी मिसाउने आदेशले परिणाम दिन्न। स्थानीय तहमा पाँचदलीय गठबन्धनभित्रका दलहरूले प्राप्त गरेको मतभारको विश्लेषणले संख्या बाँडफाँड र क्षेत्र निर्धारणमा सहज हुन्छ। तथापि, विजयका लागि प्रस्तुत गरिने उम्मेदवारको समग्र सामाजिक छविलाई पनि नजरअन्दाज गर्नु हुन्न। दैलो भत्किएपछि निधारमा हात लगाउनुभन्दा चुहिन थालेको पाली परिवर्तन गर्नुु हितकर हुन्छ।

भनिन्छ– राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुँदैन। समय सन्दर्भले प्रतिस्पर्धी पात्र वा दल मात्र परिवर्तन हुने हो। तसर्थ, खेलको नियमअनुसार खेल खेल्ने र परिणाम स्वीकार गर्नुपर्छ। प्रतिपक्षले आफू सत्तामा पुग्दा पूरा गर्न सक्ने मुद्दा मात्र उठान गर्नुपर्छ। सत्तापक्षले पनि राष्ट्र निर्माणमा सम्पूर्ण दलहरूको अनिवार्य सहभागिताको महत्‍वलाई भुल्नु हुँदैन। अहिलेको विश्वग्राममा रसिया र युक्रेनबीचको लडाइँको प्रभाव सम्पूर्ण राष्ट्रमा परेको छ। आवधिक निर्वाचनलाई जुँगाको लडाइँको स्वरूपमा परिवर्तन गर्नु गम्भीर भूल हुनेछ। (गुरागाईं कांग्रेस नेता हुन्)