१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रवीन्द्र मिश्र (बायाँ), मिलन पाण्डे (दायाँ) । तस्बिर : फेसबुक
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १३:३८:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको प्रश्न– के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १३:३८:००

विवेकशील साझा पार्टीभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । संघ र प्रदेशको निर्वाचन मिति घोषणा भइसक्दा पनि विवेकशील साझाभित्रको विवाद अन्त्य भएको छैन । 

यसबीच, मिलन पाण्डे पक्षले पार्टी पुनर्गठन गर्ने बताएको छ । पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै छिट्टै राष्ट्रिय भेला गरेर पार्टी  पुनर्गठन गर्न लागिएको स्पष्ट पारेका छन् । 

उनले वैकल्पिक राजनीतिमाथि घात भएकाले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । ‘पार्टीमा विचारको स्पष्टताभन्दा पनि नेतृत्वको महत्वाकांक्षाअगाडि सार्दा र पार्टीमा रहेको वैचारिक विचलनलाई सम्बोधन नगरी अघि बढौँ भन्दै गर्दै हामीले त्यसलाई कुनै हालतमा स्वीकार्न सकेनौँ,’ पाण्डेले भनेका छन्, ‘वामे सर्दै गरेको पार्टीमा आज नै व्यक्तिको व्यवस्थापनमा सम्झौता गरेर हामीले भनेको पार्टी बन्दैन । त्यसैले हामीले त्यो बाटो रोजेनौँ, विचारमा सम्झौता गरेनौँ ।’ उनले आफ्नै समूहभित्रको भागबन्डा मिलाउन नसक्दा आन्तरिक गुटको कलहले मिश्रले राजीनामा दिएको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचनभन्दा केही महिनाअघि तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहसहितको प्रस्ताव ल्याएपछि विवेकशील साझा छिन्नभिन्न भएको हो । 
प्रस्तावमा असहमति जनाएका पाण्डेलगायतका नेताहरूलाई मिश्रले सकारबाही गरेपछि विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको छ । तर, निरुपण भइसकेको छैन । 

स्थानीय तह निर्वाचनमा लज्जास्पद पराजयपछि अध्यक्ष पदबाट राजीनामा दिँदै मिश्र लामो समय निष्क्रिय बसेका थिए । तर, केही दिनअघि आसन्न निर्वाचनमा सहभागी हुनका लागि आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने मनसायसहित मिश्रले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि पाण्डे समूह पुनः असन्तुष्ट छ । 

परिवर्तनका एजेन्डा त्यागेर मिश्र राजतन्त्र पुनर्स्थापनातिर जान खोजेको भन्ने पाण्डे पक्षले लगाएको आरोप अहिले पुष्टि भइसकेको छ । मिश्रले अहिले खुलेर राजतन्त्रको पक्षमा वकालत गरिरहेका छन् । 

पाण्डे भन्छन्– पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी दुई समूह छन्

पाण्डेले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा हाल पार्टीमा गणतन्त्रवादी र राजसंस्थावादी दुई समूह रहेको उल्लेख छ । पाण्डेले भनेका छन्, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्मअनुसार अघि बढिरहेका छौँ । पार्टीको स्थापनाको मर्मविपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन ।’

उनले विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देश दस्ताबेजले आमनागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी भएको र यसको हिसाबकिताब इतिहासले राख्ने बताएका छन् । 
‘विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधानविरोधी, वैकल्पिक राजनीतिको मर्मविरोधी, युवा तथा परिवर्तनविरोधी र समग्रमा राष्ट्रविरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरीत ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो । यसको हिसाबकिताब इतिहासले राख्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले पूर्वअध्यक्ष मिश्रलाई पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउनकै लागि भएको हो र भन्दै प्रश्नसमेत गरेका छन् । ‘के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहिनेत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन ।’


हेर्नुस् विज्ञप्तिः
विवेकशील साझा पार्टीमा विचारभन्दा माथि देश दस्ताबेज आएलगत्तै उक्त दस्ताबेज संविधानविरोधी, वैकल्पिक राजनीतिको मर्मविरोधी, युवा तथा परिवर्तनविरोधी र समग्रमा राष्ट्रविरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरीत ल्याइएको उक्त दस्ताबेजले आमनागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो। यसको हिसाबकिताब इतिहासले राख्नेछ।

तर, आजै हामीले दिनुपर्ने एउटा प्रश्न अनुत्तरित छ। के हाम्रो पार्टीको स्थापना ‘राजतन्त्र’ ब्युँताउन भएको थियो ? पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहिनेत राजतन्त्रको पक्षपोषणका लागि थियो ? नागरिकले अघिल्लो निर्वाचनमा दिएको मत के राजा बोक्न भनेर थियो ? व्यवस्था र संविधान भत्काउन भनेर थियो ? पक्कै थिएन। त्यसैले वैकल्पिक राजनीति माथिको यो घातलाई अब हामीले पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प रहेन।

मार्ग परिवर्तन : विचारभन्दा माथि देश २०७८ साल साउन ११ गते आउँदा नै हामीले राजतन्त्रको पक्षपोषण गर्नकै लागि थियो भन्ने सञ्चारमाध्यमबाट सबैलाई अवगत गराएकै थियौँ। यहीबीचमा जालझेल र किर्ते गरी मार्ग परिवर्तन दस्ताबेजलाई बहुमतका नाममा पारित भयो भनियो। यस विषयमा हामीले सम्मानित सर्वोच्च अदालतमा आफ्नो तथ्यपूर्ण दलिल प्रस्तुत गरेकै छौँ जहाँ अदालतले समयमै न्याय दिने पूर्ण विश्वास छ। उक्त दस्ताबेजको पक्ष बलियो बनाउन अर्को पक्षले मंसिर १८ गते ५४ जना राजसंस्थावादी सदस्यहरू (थोरै केहीबाहेक) केन्द्रीय समितिमा थपियो। त्यसपछि आफ्नै समूहभित्रको भागबन्डा मिलाउन नसकेपछि आन्तरिक गुटको कलहको कारण रवीन्द्र मिश्रले राजीनामा दिए।

यही बीचमा हामीले केही कुरा स्पष्ट गर्नुपर्ने भएको छ।

१. हाल विवेकशील साझा पार्टीमा गणतन्त्रवादी ( मूलबाटो पक्षधर ) र राजसंस्थावादी (विचारभन्दा माथि देश पक्षधर)  गरी दुई विचार समूह अस्तित्वमा छन्। हामी संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र यही व्यवस्था पक्षधर विचार समूह निरन्तर वैकल्पिक राजनीतिलाई वैचारिक रूपमा सुदृढ र स्पष्ट पार्दै पार्टी स्थापनाको मर्मअनुसार अघि बढिरहेका छौँ। पार्टीको स्थापनाको मर्मविपरीत जाने र नागरिकलाई धोका दिने छुट कसैलाई छैन।

२. विगतको केही समय यता पार्टीको अर्को पक्षका साथीहरूसँग र त्यसभित्रका विभिन्न उपसमूहसँग केही संवाद भए। प्रत्येक संवादमा हामीले पार्टी स्थापनाको मर्मअनुसार नै व्यवस्थालाई सुदृढ गर्दै नागरिकका आवाज बोल्ने पार्टीको रूपमा अगाडि बढाउन प्रस्ताव गर्‍याै। तर, अर्को पक्षले पार्टीमा विचारको स्पष्टताभन्दा पनि नेतृत्वको महत्त्वाकांक्षा अगाडि सार्दा र पार्टीमा रहेको वैचारिक विचलनलाई सम्बोधन नगरीकनै अघि बढौँ भन्दै गर्दै हामीले त्यसलाई कुनै हालतमा स्विकार्न सकेनौँ। बामे सर्दै गरेको पार्टीमा आज नै व्यक्तिको व्यवस्थापनमा सम्झौता गरेर हामीले भनेको पार्टी बन्दैन। त्यसैले हामीले त्यो बाटो रोजेनौँ, विचारमा सम्झौता गरेनौँ।

३. हामी सम्पूर्ण साथीहरूलाई सोध्न चाहन्छौँ– पार्टी बचाउने भनेको के हो ? निर्वाचन आयोगमा दर्ता गर्नु र फेरि मार्ग परिवर्तनकै लाइनमा उभिएर झगडा गर्नु पार्टी बचाउनु हो ? वा, पार्टीलाई स्पष्ट विचार र एजेन्डासहित अगाडिबढाउनु चाहिँ पार्टी बचाउनु हो ? पार्टी बचाउनु भनेको स्पष्ट विचारसहित, स्पष्ट दिशासहित अघि बढ्नु हो। हाम्रा लागि नागरिकको अवस्था बदल्नु र नागरिकलाई बलियो बनाउन गरिने राजनीति नै पार्टी बचाउनु हो। त्यो अवस्थामा पार्टी नफर्कने हो भने, पार्टी बच्न सक्दैन।

४. तसर्थ, विवेकशील साझा पार्टी जे प्रयोजन र उद्देश्यका लागि स्थापना भएको हो, त्यसमा निरन्तर अगाडि बढ्छ। कमजोर जग र बांगिएको खम्बाहरूमा बलियो र परिपक्व घर बन्न सक्दैन। अतः हालको अवस्थामा पार्टीलाई वैचारिक र सा.गठनिक रूपमा पुनर्गठन गरी अघि बढ्नुपर्ने दायित्व हाम्रो हो। बृहत् छलफल र वैकल्पिक राजनीतिका घटकहरू र नयाँ राजनीतिको सम्भावना खोजिरहेका युवाहरूसँगको परामर्श र सहकार्यपछि पार्टी पुनर्गठनको ठोस खाका छिट्टै सार्वजनिक गर्नेछौँ। हामी छिट्टै राष्ट्रिय भेलाको मिति सार्वजनिक गर्नेछौँ र पार्टीलाई पुनर्गठन गर्नेछौँ।

मिलन पाण्डे 
२०७९/०४/२९