मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Monday, 14 July, 2025
२o७९ श्रावण २७ शुक्रबार ११:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमा काम नगर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार ११:४३:oo

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काममा ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। हुर्लुङ–जालपा–ऐँसेलुखर्क सडकखण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने रौता–सुसम–आदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडकखण्ड स्तरोन्नतिको काम अलपत्र पार्ने ढुकुचु–बगाले थापा–बिएनटी जेभी र दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतिको काम अलपत्र पार्ने लगलगे कन्स्ट्रक्सन चाबहिललाई नगरपालिकाले कारबाहीको चेतावनी दिएको हो।

सडक स्तरोन्ततिको ठेक्का लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीलाई हप्ता दिनभित्र पुनः काम सुरु गर्न निर्देशन दिँदै नगरपालिकाले दिएको समयसीमाभित्र सुरु नगरेमा कानुनी कारबाही गरिने नगर प्रमुख तीर्थराज भट्टराईले बताए। तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र पुनः सुरु गरी यथाशीघ्र सम्पन्न नगरेमा सार्वजनिक खरिद अनुगमन कार्यालयलगायतका निकायसमक्ष कानुनबमोजिमको कारबाहीका लागि सिफारिस गर्ने नगरपालिकाले चेतावनी दिएको छ।

सुरुबाटै ढिलासुस्ती हुँदै आएको तीनवटै सडक सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आह्वान भई ठेक्का लागेको थियो। तर, सडक स्तरोन्नतिको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्नसमेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ।

हिउँभर सञ्चालन हुँदै आएको उक्त तीनवटै सडक वर्षा सुरु भएसँगै ठप्प छ। ठेक्का लागेको सडक स्तरोन्नतिको काममा ढिलासुस्ती हुँदा स्थानीयवासीबाट व्यापक गुनासो आएकाले ठेकेदारविरुद्ध ‘एक्सन’मा उत्रनुपरेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले ठेकेदार कम्पनीलाई लेखेको पत्र पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई बोधार्थ पठाएको छ। नगरपालिकाले यसअघि दिक्तेलबजारको सडक ढलानको काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई पनि कारबाहीको चेतावनी दिएको थियो।

नगरपालिकाको चेतावनीपछि निर्माण कम्पनी सूर्य कन्स्ट्रक्सन विकास निर्माण सेवा जेभीले अलपत्र काम पुनः सुरु गरेको छ। दिक्तेल बजारस्थित मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान रु. तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु. दुई करोड ७० लाख ४० हजार एक सय ७९ मा ठेक्का पारेको थियो।