१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २३ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण २३ सोमबार o८:५८:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बेथितिमाथि व्यंग्य : सिटामोल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण २३ सोमबार o८:५८:oo

 महाभूकम्पको त्रास व्याप्त छ । गाउँले खुुला स्थानमा पाल टाँगेर बसेका छन् । घरभित्र त बस्ने स्थिति नै छैन । भूकम्प र त्यसपछिको परकम्पले जनजीवनमा पु¥याएको त्रास र आतंकको दृश्यबाट सुरु हुन्छ नाटक ‘सिटामोल’ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीका लागि पठाइएको औषधि बीचबाटोमै चुहिन्छ । गाउँका स्वास्थ्य संस्थामा सामान्य स्वास्थ्य समस्या निवारणका औषधिसमेत छैनन् । सिनामंगलस्थित पुरानो नाटकघरमा चलिरहेको यो नाटकले विपत्तिमा खाद्यान्न, लत्ताकपडा र औषधिको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी चलाउँदा सर्वसाधारणले भोग्नुपरेको कथा उनेको छ । 

स्वास्थ्य चौकीका अहेव औषधि उपचारका लागि गाउँबस्तीमा पटक–पटक पुग्छन् । औषधि उपचारको बहानामा गाउँबस्तीमा पुगेका अहेव पनि कसरी फाइदा लिन सकिन्छ भन्ने उपाय मात्रै रच्छन् । उनी खाना पकाउने पानीमा बिरामी हुने औषधि मिसाइदिन्छन् । यसपछि सिंगो बस्ती झाडापखालाको मारमा पर्छ । एकातिर भूकम्पको कम्पन रोकिएको छैन, त्यसैमाथि फैलिएको झाडापखालाले बस्ती नै सिकिस्त बन्छ । गाउँमा ठूलो संकट पर्छ । तर, गाउँको स्वास्थ्य चौकीमा औषधि हुँदैन । औषधि दिनुको सट्टा अहेव झाँक्री बोलाउन साल्लाह दिन्छन् । गाउँलेहरूले अहेवलाई नै झाँक्री ल्याइदिन आग्रह गर्छन् । अहेव आफैँ झाँक्रीको भेषमा गाउँमा पस्छन् । झाडापखालाले लखतरान भएका गाउँलेलाई झारफुक गर्छन् । झारफुकको बहानामा लुकाएको औषधि खुवाएर बिरामीलाई निको बनाउँछन् । अहेवले पठाएको झाँक्रीले रोग निको भएपछि गाउँले खुसी हुन्छन् । नाटकले सरकारी अपस्तालका अहेवले औषधिको आभाव गराउँदा सिंगो गाउँले पाएको सास्तीलाई चित्रण गरेको छ । 

औषधिको आभाव देखाएर झारफुकको बहाना पारी गाउँलेलाई लुटेका अहेव आफैँ बिरामी हुन्छन् । गाउँलेको गुहार माग्नुपर्ने अवस्था सिर्जना हुन्छ । स्वास्थ्य चौकीमा भएका औषधि बिक्री गरेपछि औषधिको अभाव हुन्छ । गाउँलेले अहेवलाई बोकेर वडा कार्यालय पुग्छन् । वडाध्यक्ष आफँै बिरामी भएका छन् । औषधि उपलब्ध गराउनुको सट्टा जिल्लामा जान सिफारिस गर्छन् । गाउँले सबै मिलेर अहेवको ज्यान बचाउन जिल्ला पुग्छन्, जिल्लामा पनि सिटामोल हुँदैन । नाटकले सरकारी अपस्तालको हेलचेक्य्राइँलाई देखाएको छ ।जिल्ला अस्पतालमा औषधि नभएपछि प्रदेश अस्पताल पुगेका गाउँलेले त्यहाँ पनि उही हालत व्यहोर्नुपर्छ । नाटकमा देखाएको यो दृश्यले नाटकले राज्यको स्वास्थ्य प्रणालीमाथि नै प्रश्न गरेको छ । 

गाउँका स्वास्थ्य चौकीमा निःशुल्क पाइने सबै प्रकारका औषधि छैनन् । प्रदेश अस्पतालले पनि केन्द्रमा सिफारिस गर्छ । अहेवलाई बोकेर गाउँलेहरू केन्द्रमा पुग्छन् । गाउँकै मान्छे प्रधानमन्त्रीका पिए हुन्छन् । पिएलाई गाउँले औषधि मिलाइदिन आग्रह गर्छन् । तर, प्रधानमन्त्री आफैँलाई औषधि चाहिएको हुन्छ । प्रधानमन्त्री कार्यालयमा भएको सिटामोल पनि आधा भाँचेर दिन्छन् । नाटकले देशका नेतृत्व गर्ने प्रधानमन्त्री, मन्त्रीहरूको स्वास्थ्य अवस्था नै राम्रो नभएकाले देशमा जनताको स्वास्थ्य पनि राम्रो नभएको बिम्बात्मक रूपमा देखाएको छ । 
भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता विपत्तिमा कृत्रिम अभाव सिर्जना गरेर जनतालाई दुःख दिने बिचौलियाहरूप्रति नाटकमा व्यंग्य छ ।

औषधिको चरम अभाव सिर्जना गर्दा पनि राज्य रमिते मात्रै हुन्छ । विपत्तिमा भ्रष्टचार बढ्दा पनि राज्यको ध्यान जाँदैन । नाटकले राज्य प्रणालीको बेथितिलाई मजैले व्यंग्य गरेको छ । नाटकमा अरुण पौडेल, सरिता भुजेल, रितेश कार्की, श्रवण यादव, प्रकाश थापा, युनिशा बजगाईं, प्रवीण खरेल, अस्मिता भारती, पीयूष कुँवर, धनलक्ष्मी राई, सन्देश कार्की, शिशिर गिरी, सागर भट्टराई, टीका निरौला, सविता तामाङ, सुरेश राई, सरोज खालिङ राई, तुलसी बोहोरा, सुदिन लुइँटेल र अर्नव घिमिरेले अभिनय गरेका छन् । सुलक्षण भारतीले लेखेको नाटकलाई जयराम ढकालले निर्देशन गरेका हुन् । नाटक २५ साउनसम्म मञ्चन हुनेछ ।