१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण २० शुक्रबार ०७:००:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एसइईपछि के पढ्ने ? कहाँ पढ्ने ?

कलेजका शिक्षक ऊर्जावान् छन् र नयाँ–नयाँ विधिबाट पढाउन सक्छन् भने त्यस्ता शिक्षक भएको कलेज छान्नु ठीक हुन्छ

Read Time : > 4 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०७:००:००

बेलायतको एउटा स्कुलले एक छात्राको अभिभावकलाई पत्र लेख्यो, ‘तपाईंकी छोरी पढ्न सक्दिनन् । उनमा एकाग्रता छैन । चली मात्र रहन्छिन्, एक ठाउँमा बस्नै  सक्दिनन् ।’ परिवारलाई पिर पर्‍यो । आमाले उनलाई डाक्टरकहाँ लगिन् । धेरैचोटि जाँचेपछि डाक्टरले ती छात्रासित एक्लै कुरा गर्ने भनेर आमालाई बाहिर पठाए र नजिकै रेडियो बजाएर उनलाई त्यहीँ छोडिदिए । बाहिर पुगेको केही बेरपछि डाक्टरले आमालाई पर्दाबाट बिस्तारै चियाउन लगाए । आमाले बिस्तारै पर्दा उघारेर हेर्दा छोरी रेडियोको धुनमा नाचिरहेको देखिन् ।

डाक्टरले मुस्कुराउँदै आमालाई भने, ‘तपाईंकी छोरी बिरामी होइन, उसमा अर्कै प्रतिभा छ । उसलाई नृत्यको विद्यालय लैजानुस् ।’ आमाले छोरीलाई नृत्य स्कुलमा लगिन् । एउटा साधारण स्कुलले असफल घोषित गरेको ती छात्राले विशिष्टीकृत विद्यालयमा भर्ना भएपछि सफलता चुमिन् । ती छात्राको नाम थियो– जिलियन लेन । पछि उनले नृत्यको ठूलो कम्पनी चलाइन् । उनी एउटा ठूलो नाम मात्रै बनिनन्, दाम पनि उत्तिकै कमाइन् । त्यसैले, कुन विषय पढ्ने र कहाँ पढ्ने भन्ने निकै महत्वपूर्ण प्रश्न हो ।

एसइईपछि के पढ्ने ?
एसइईको ढोका पार गरेका भाइबहिनी र अभिभावकका निम्ति महत्वपूर्ण निर्णय गर्ने घडी आएको छ । वास्तवमा एसइई उत्तीर्ण गर्नुको अर्थ कसको ग्रेड कति आयो भनेर मार्कसिटमा लेखेर दिनु मात्र नहुनुपर्ने हो । एसइई पास गर्नुको अर्थ त विद्यार्थीले आफू केमा राम्रो छु भनेर पहिल्याउन सक्नु हो । तर, हाम्रो शिक्षाले हामीलाई स्पष्ट बनाउँदै लानेभन्दा पनि ‘कन्फ्युज्ड’ बनाउँदै लाने गरेको छ । सुरुमै स्पष्ट भन्छु– विज्ञान, व्यवस्थापन, मानविकी, कानुन या अन्य जे पढे पनि यी कुनै संकाय ठूलो वा बढी महत्वपूर्ण र अर्को संकाय सानो वा कम महत्वपूर्ण भन्ने हुँदै हुँदैन । एउटा पहिलो दर्जा र अर्को दोस्रो दर्जाको हुँदै होइन । सबै विषय आआफ्ना विधामा उत्तिकै महत्वपूर्ण छन् ।

संकाय वा विषय छान्दा सबैभन्दा पहिले विद्यार्थीले आफ्नो रुचि बुझ्नुपर्छ । आफू के पढ्ने, कुन विधामा जाने वा कुन विधामा रुचि छ भन्ने स्पष्ट भए त्यो उद्देश्य हासिल गर्न के पढ्ने, कुन बाटो हिँड्ने थप स्पष्ट हुन सक्छ । यदि अहिले नै उद्देश्य पहिल्याउन गाह्रो परेको छ भने आफू कुन–कुन विषय पढ्दा रमाउँछु र ती विषय कुन संकायमा पर्छन् भनेर बुझ्न जरुरी छ । त्यसैले, विषय छान्दा आफ्नो रुचिलाई पहिल्याउनु नै सबैभन्दा महत्वपूर्ण आधार हो । 

हाम्रो समाजमा अहिले पनि अभिभावकहरू विद्यार्थीको मर्जी र रुचिविना कुनै निश्चित विषय पढ्न बाध्य बनाउने गर्छन् । मैले केही वर्षयता केही विद्यार्थी र अभिभावक देखेको छु, जो यसरी जबर्जस्ती गर्दा केही वर्षपछि पछुताएका छन् । विद्यार्थीले पढ्न नसकेर पढाइ अगाडि नबढेको वा केही घटनामा विद्यार्थी तनावमा पुगेको र उपचार गर्नुपरेको वा कतिपय घटनामा त विद्यार्थीले आत्महत्यासमेत गरेका घटना छन् । त्यसैले, विषय छान्दा अभिभावक सहयोगी बन्न जरुरी भए पनि विद्यार्थीलाई अनावश्यक दबाब भने दिनु हुँदैन । 

दोस्रो हेर्नुपर्ने, बुझ्नुपर्ने महत्वपूर्ण विषय भनेको अबको १० वर्षपछिको बजार हो । अबको १० वर्षपछिको बजार कता जाँदै छ र अबको १० वर्षपछि जब विद्यार्थी आफ्नो पढाइ सकेर बजारमा जान्छन्, तब बजार कस्तो हुन्छ भन्ने पाटो महत्वपूर्ण छ । २०२२ मा आइटी, व्यापार इन्जिनियर, रोबोटिक्स इन्जिनियर, साइबर सेक्युरिटी विज्ञ, कस्टमर कियर विज्ञ, फाइनान्स म्यानेजर र स्वास्थ्यकर्मीको माग धेरै हुने देखिन्छ । धेरै कमाउने विधामा अब बिजनेसम्यानसँगै कलाकार पनि पर्न थालेका छन् । खेलाडी पनि सफल र धनी हुन थालेका छन् । अहिले एउटा राम्रो ‘फुड स्टाइलिस्ट’ले प्रतिवर्ष ७७ हजार डलर तलब कमाउँदा रहेछन् । मतलब अब नाम र दाम केही विधा र विषयमा मात्र अड्किएको छैन । 

त्यस्तै, अबको १० वर्षपछि संसार कहाँ पुग्ला भनेर अहिले संसारभरि नै आकलन हुँदै आइरहेको छ । अबको १० वर्षपछि अहिले गरिआएका ५५ प्रतिशत काम अब रोबोटले गर्छ भनिन्छ । त्यसैले, अबको १० वर्षपछि कुन विधाको स्पेस र स्कोप कस्तो होला, यसमा पनि सचेत हुन सके राम्रो हुन्छ । मैले केही रिपोर्ट पढ्दै गर्दा भविष्यमा मानव–मेसिन सहकार्य विज्ञ, एल्गोरिदम विश्लेषक, डिजिटल मुद्रा विज्ञ, वातावरण विज्ञ, कलाकार, कमेडियन, स्टोरी टेलर, खेलाडी, भूकम्प पूर्वानुमान विज्ञजस्ता विज्ञ या विशेषज्ञको माग बढ्ने देखिन्छ । मतलब, रुचि छ भने केही यस्ता विधा पढ्न सक्नुहुन्छ, जसका लागि मैदान खाली देखिएको छ ।

विज्ञान, व्यवस्थापन, मानविकी, कानुन या अन्य जे पढे पनि यी कुनै संकाय ठूलो वा बढी महŒवपूर्ण र अर्को संकाय सानो वा कम महŒवपूर्ण भन्ने हुँदैन । सबै विषय र संकाय आ–आफ्ना विधामा उत्तिकै महत्वपूर्ण छन् ।
 

तेस्रो महत्वपूर्ण भनेको, हामीले जे विषय पढे पनि केही गुण भने प्रत्येक विद्यार्थीले अब आफूमा विकसित गर्नैपर्छ । अब कुन विषयले कम या बढी अर्थ राख्छ भन्ने भन्दा एउटा विद्यार्थीमा कुन–कुन गुण र सीप छ भन्नेले बढी अर्थ राख्नेवाला छ । सिर्जनशील, स्मार्ट, सीपयुक्त, ऊर्जावान्, लगनशील, नेतृत्व क्षमता भएको, टिम वर्क गर्न सक्ने, आत्मविश्वास, प्रभावकारी सञ्चार कला भएका, समय व्यवस्थापन गर्न सक्ने जनशक्ति आजको सबै विधाको माग हो । तसर्थ, आफूले जे विषय लिएर पढ्दा पनि यी गुण भने विकास गर्न छुटाउनु हुँदैन ।

एसइईपछि कुन कलेज पढ्ने ?
अहिले फेसबुक, पत्रपत्रिका, अनलाइन या अन्य विभिन्न सञ्चारमाध्यममा कलेजहरूको भरमार विज्ञापन देखिन्छ । सबै प्लस टु कलेजहरूले आफ्नो कलेज पढे विद्यार्थी सफल हुने दाबी गरिरहेका छन् । तर, मेरो अनुभव, भोगाइ र केही अनुसन्धानले त्यसो भन्दैनन् । १९६० मा अमेरिकाको शिक्षाबारे अध्ययन गर्न जेम्स स्यामुयल कोलम्यानको नेतृत्वमा विज्ञहरूको आयोग बन्यो । ६ वर्षपछि आयोगले ६ लाख ५० हजार विद्यार्थीको अध्ययन गरेर सात सय पानाको रिपोर्ट निकाल्यो । रिपोर्टले केही महत्वपूर्ण निष्कर्ष प्रस्तुत गर्‍यो । तीमध्ये एउटा निष्कर्ष थियो– स्कुलले विद्यार्थीको उपलब्धि र सफलतामा खासै प्रभाव पार्दैन । विद्यालय विद्यार्थीका निम्ति सहायक तत्व मात्र हो । जुन विद्यार्थी यहाँ वा वहाँ पढ्यो अनि सफल भयो भनेर फोटो झुन्ड्याइएको छ, यदि त्यही विद्यार्थी त्यहाँ नपढेर अर्को विद्यालयमा पढेको भए पनि ऊ त्यति नै सफल हुने धेरैभन्दा धेरै सम्भावना थियो । त्यसैले, जुन विद्यालय पढे पनि हुन्छ । ठुल्ठूला भवन, एसी कक्षाकोठा हेरेर कलेज पढ्ने निर्णय गर्नु विवेकपूर्ण हुँदैन । कुन कलेज छान्ने भन्ने विषयमा, विद्यार्थीले कलेजमा चार कुरा ध्यान दिएर हेर्न र बुझ्न जरुरी छ । 

पहिलो, कलेजका शिक्षक कस्ता छन् ? यदि प्लस टुका शिक्षक ऊर्जावान् छन् र नयाँ–नयाँ विधिबाट पढाउन सक्छन् भने बाँकी कुरा छाडेर राम्रा शिक्षक भएको कलेज छान्नु उपयुक्त हुन्छ । शिक्षक राम्रा छन् वा छैनन् भन्ने विषय भने त्यही विद्यालयमा पढेका अघिल्ला वर्षका विद्यार्थीबाट थाहा पाउन सकिन्छ । कलेजकै शिक्षक–कर्मचारीबाट पनि यसबारे थाहा पाउन सकिन्छ । शिक्षकबारे थाहा पाउने दोस्रो तरिका भनेको, कलेजमा शिक्षकको मूल्यांकन हुन्छ वा हुँदैन भन्ने प्रश्न पनि हो । यदि शिक्षकको मूल्यांकन हुन्छ भने सो कलेजले शिक्षकलाई राम्रो बनाउन खोजिरहेको छ भन्ने बुझ्न सकिन्छ । यदि हुँदैन भने शिक्षकलाई राम्रो बनाउन कलेजले भूमिका खेलेको छैन भन्ने बुझ्न सकिन्छ ।

कलेज छान्दा हेर्नुपर्ने अर्को पक्ष त्यहाँको मूल्य–मान्यता हो । कलेज मूल्य–मान्यतामा हिँडेको छ वा त्यत्तिकै जे पर्छ, त्यो गर्दै हिँडेको छ भन्ने पाटो महत्वपूर्ण छ । हरेक सफल हुन खोज्ने संस्थाको मूल्य–मान्यता हुन्छ । त्यही मूल्य–मान्यतामा हिँड्ने संस्था मात्र सफल हुन्छ । यससँगै, विद्यार्थीको व्यक्तित्व विकास र सीपमा विद्यालयले कति काम गरेको छ वा गर्न खोजेको छ भन्नेले पनि विद्यालयको स्तर मापन गर्न सकिन्छ ।

तेस्रो हेर्नुपर्ने विषय भनेको कलेज व्यवस्थापन हो । कलेजको व्यवस्थापन कस्तो छ, कतिको बदलिइरहन्छ भन्ने महत्वपूर्ण हुन्छ । सबै पक्ष राम्रो भएर पनि कलेज व्यवस्थित हुन सकेन भने विद्यार्थीले अस्तव्यस्तताको सामना गर्नुपर्ने हुन्छ । चौथो, महत्वपूर्ण पक्ष भनेको कलेजले विद्यार्थीलाई कतिको सञ्जाल उपलब्ध गराउन सक्छ र कतिको बाहिरी संसारसँग जोड्न सक्छ भनेर हेर्नु हो । आज विद्यार्थीले बाहिरी संसारसँग जोडिन एउटा नेटवर्क र एक्सपोजर खोजिरहेका छन् । त्यस्तो नेटवर्क र एक्सपोजर उपलब्ध गराउन सक्ने कलेज र त्यहाँका साथीभाइले पढाइ सकेपछि पनि धेरै कुरामा विद्यार्थीलाई सहयोग गर्न सक्छन् ।

अन्त्यमा, अहिले यसो हेर्दा, ३० वर्षभन्दा माथि उमेर भएका अधिकांश मान्छेले घडी हातमा लगाउँछन्, किनकि उनीहरू त्यस्तो समयमा हुर्किए, जति वेला समय थाहा पाउन घडी लगाउनुपथ्र्यो । तर, आज ३० वर्षमुनिका युवालाई हेर्नुभयो भने उनीहरूले घडी लगाएको पाउनुहुन्न । किनकि अबको यो पुस्तालाई समय थाहा पाउन घडी लगाइरहनु पर्दैन । लगाएको घडी पनि कि फेसनका लागि हो, कि त्यो घडी समय हेर्नका लागि नभई फोन आएको थाहा पाउन वा फेसबुकको नोटिफिकेसन थाहा पाउन हो । म अब घडी कसको फोन आयो भनेर हेर्नका लागि लगाउँछु, न कि समय हेर्न । समय बदलिएको छ, घडीको अर्थ बदलिएको छ । यो बदलिएको समय र परिस्थिति हेरेर बुझेर हामीले के पढ्ने र कहाँ पढ्ने भन्ने निर्धारण गर्नुपर्छ ।