Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनिल यादव काठमाडौं
२०७९ श्रावण २० शुक्रबार ०६:१८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

स्थानीय निर्वाचनमा कमजोर भएपछि गठबन्धन खोज्दै मधेसी दल

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ श्रावण २० शुक्रबार ०६:१८:००

एकपछि अर्को विभाजनको असर स्थानीय तह निर्वाचनमा देखिएपछि मधेसकेन्द्रित दल संघीय चुनावमा गठबन्धनको पक्षमा देखिएका छन् । कोही सत्तागठबन्धनमा त कोही प्रतिपक्ष एमालेसँग सहकार्यको पक्षमा छन् । 

स्थानीय निर्वाचनमा मधेसमा सबैभन्दा बढी पालिका कांग्रेसले जितेपछि मधेसी दल झस्किएका छन् । कुल एक सय ३६ मध्ये कांग्रेसले ४६ र एमालेले ३० पालिका जित्दा मधेसमा शक्तिशाली मानिएको जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले क्रमशः २५ र १४ पालिका मात्रै जितेका छन् । 

यही परिदृश्य आउँदो मंसिर ४ मा तोकिएको संघ र प्रदेशमा दोहोरिन नदिन मधेसी दल चुनावी गठबन्धन गर्न तातिएका छन् । अहिलेसम्म उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी त सत्तागठबन्धनसँगै छँदै छ । 

जसपा फुटेर बनेको महन्थ ठाकुर र राजेन्द्र महतोको लोसपाले आउँदो चुनावमा गठबन्धन गर्न ठूला पार्टीसँग वार्ता थालिसकेको छ । लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरिया गठबन्धनका लागि कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको बताउँछन् । ‘पार्टीभित्र जहाँबाट फाइदा हुन्छ, जहाँ सम्मानजनक र बढी सिट पाइन्छ, त्यही पार्टीसँग गठबन्धन गर्नुपर्छ भन्ने राय छ,’ उनले भने । 

कांग्रेस अध्यक्ष शेरबहादुर देउवा नेतृत्वको सरकारका वेला पार्टीले उठाउँदै आएको प्रमुख मुद्दामध्येको नागरिकता विधेयक पारित भएपछि कांग्रेससँग गठबन्धनको ढोका खुलेको उनको तर्क छ । यद्यपि, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र कार्यकर्ता रिहाइलगायतका माग भने सम्बोधन हुन बाँकी छ । ‘प्रधानमन्त्रीले ती माग पनि पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसो भयो भने सहकार्यको सम्भावना झन् बलियो देखिन्छ,’ अरगरियाले भने । 

गठबन्धन गर्न चाहने दलहरूसँग लोसपाले सम्मानजनक सिटलाई सर्त बनाएको छ । लोसपाका अर्का एक नेताका अनुसार पार्टीभित्र एमालेसँग गठबन्धन गर्नुपर्छ भन्ने पंक्ति ठूलो छ । नेता शरत्सिंह भण्डारीको दबाब लोकतान्त्रिक शक्तिसँगै मिलौँ भन्ने छ ।’

सिके राउतको जनमत पार्टी मधेसी शक्तिहरूबीच सहकार्यको पक्षमा छ । प्रवक्ता चन्दन सिंहका अनुसार पार्टीको चाहना मधेसवादी शक्तिहरू एक हुनुपर्छ भन्ने छ । ‘मधेसवादी शक्ति अहिलेसम्म एक हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले हाम्रो अध्यक्षले खुला रूपमा एक हुन आह्वान गरिरहनुभएको छ । मधेसका पुराना नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादवहरू यसमा सकारात्मक हुनुपर्छ । भरसक आफैँ अग्रसर हुनुपर्छ ।’ 

महन्थ ठाकुरको लोसपा र उपेन्द्र यादवको जसपासँग बेग्लाबेग्लै छलफलसमेत भइरहेको उनले बताए । जनमत पार्टीले स्थानीय निर्वाचनमा दुईवटा गाउँपालिकासहित २० वटा वडा जितेको थियो । यसपटक संघीय निर्वाचनमा भने राउत स्वयं पनि चुनाव लड्ने तयारीमा छन् । हालै लोसपाबाट अलग्गिएका वृषेशचन्द्र लालको नेतृत्वमा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) भने लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन हुनुपर्ने पक्षमा छ । 

उमाशंकर अरगरिया, प्रमुख सचेतक, लोसपा
कांग्रेस र एमाले दुवैबाट प्रस्ताव आएको छ । पार्टीभित्र जहाँबाट फाइदा हुन्छ, जहाँ सम्मानजनक र बढी सिट पाइन्छ, त्यही पार्टीसँग गठबन्धन गर्नुपर्छ भन्ने राय छ । हामीले उठाउँदै आएको प्रमुख मुद्दामध्येको नागरिकता विधेयक पारित भएको छ, मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता र कार्यकर्ता रिहाइका माग भने सम्बोधन हुन बाँकी छ । प्रधानमन्त्रीले ती माग पनि पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसो भयो भने सहकार्यको सम्भावना झन् बलियो देखिन्छ ।