मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ श्रावण १२ बिहीबार १०:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिप्रेमी मेयर  : दिनभर कार्यालय, साँझ–बिहान खेतमा

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ श्रावण १२ बिहीबार १०:३५:००

चौतारा–साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा उमेरले ६ दशक पूरा भए । तर, उनको जोस र जाँगर ३५–४० वर्षीय अधबैँसेको भन्दा कम छैन । पदले मेयर भए पनि सापकोटाको ध्यान माटोप्रति अगाध छ। त्यसैले दिनभर सदरमुकाम चौताराको नगरपालिका भवनमा देखिए पनि  बिहान र साँझ सधैँ भेटिन्छन् कुबिन्डे र नौबिसे खेतको फाँटमा । उनी कार्यालयमा पनि कृषिकै कुरा गर्छन्। किसानकै कुरा गर्छन्। अनि दैनिक प्रशासन सञ्चालन गर्ने कामको जिम्मा कर्मचारीलाई छोडेर नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने विषयमा अगुवा कृषक र सरोकारवालासँग उनी दिनभर छलफल गर्छन्  ।  

०३७ सालमा भारतको अयोध्या पुगेर अखिल नेपाल किसान संघको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका सापकोटा ०४९ मा कुबिन्डे गाविसको अध्यक्ष थिए । चार वर्ष अध्यक्ष चलाएपछि उपाध्यक्षलाई कार्यबाहक छोडेर ०५१ मा उनी माओवादी जनयुद्धमा भूमिगत भए। नगरप्रमुखको जिम्मेवारी सम्हालेको दुई महिना मात्रै भएको छ । छोटो अवधिमै सापकोटाले कृषि क्षेत्रलाई सुधार्ने योजना निर्माण गरेर कार्यान्वयन तहमा लगेका छन् ।

कृषिमैत्री योजना लागू गर्न सिंगो नगरपालिका लागिपरेको पाइएको छ । ‘सानैदेखिको मेरो रुचि सुक्खा जमिनलाई सिञ्चित गर्ने हो,’ सापकोटाले केही वर्ष पहिले गाउँका किसानसँग मिलेर नौबिसे फाँटका लागि नहर निर्माण गरेको अनुभव सुनाउँदै भने, ‘नहर निर्माण विशुद्ध किसानको श्रमदानबाट बन्यो । हामी जुटे कसैको मुख ताक्नुपर्ने अवस्था आउँदैन ।’ सापकोटाको जन्मघर कुबिन्डेमा एक घर एक भैँसी पालन, जिल्लाकै सबैभन्दा ठूलो दूग्ध उत्पादक सहकारी र चिस्यान केन्द्र स्थापना गरिएको छ । उनले डिडिसीमा तालिम लिएर फर्केपछि गाउँमा दुग्ध उत्पादक सहकारी स्थापना गरेका थिए । कुबिन्डेमा दैनिक तीन हजार लिटर दूध संकलन हुन्छ । 

किसानलाई अनुदान र सहुलियत ऋणको व्यवस्था
चौतारा–साँगाचोकगढी नगरपालिकाको पहिलो प्राथमिकता कृषि हो । कृषिलाई यो वर्ष ६ करोडभन्दा बढी बजेट छुट्याइएको छ । नगरलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन हरेक कृषि उत्पादनमा अनुदान र सहुलियत ऋणको व्यवस्था गरिएको छ । दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर पाँच रुपैयाँसम्म अनुदान दिने योजना छ । भैँसी, बाख्रा, राँगापालन  र तरकारी उत्पादन गर्ने किसानलाई दुई प्रतिशत ब्याजमा ऋण दिने नीति रहेको छ । 

नगरभित्र उत्पादित कृषि उपजलाई नगरभित्रै खपत गर्न तीन ठाउँमा संकलन केन्द्र स्थापना गरिएका छन् । शीतभण्डारसहित कुबिन्डे, चौतारा र साँगाचोकमा कृषि उपज संकलन केन्द्र स्थापना भएका छन् । कृषि उत्पादन संकलन, बिक्री र भण्डारण पनि अगुवा कृषकले नै गर्ने व्यवस्था मिलाइएको छ । बतासे, कुबिन्डेलाई आलु र कार्कीटार, फलाँटे, डढुवालाई तरकारी उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको छ । नगरभित्र रहेका एक दर्जनभन्दा बढी भैँसी र बाख्रा फर्मलाई उत्पादनको आधारमा अनुदान र सहुलियत ऋण दिने तयारी गरिएको छ । सुकुटेमा रहेका दुई दर्जन होटेल र रिसोर्टले अनिवार्य रूपमा नगरभित्रकै कृषि उत्पादन प्रयोग गर्नुपर्ने नियम बनाइएको छ । जसका लागि सुकुटेमा पनि कृषि उपज संकलन केन्द्र स्थापना गर्ने तयारी भएको छ ।