१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ८ आइतबार o९:२४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्वकपका लागि श्रमिक लैजान अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार o९:२४:oo

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा हुने विश्वकप फुटबलका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरूको श्रम स्वीकृति प्रदान गरेर नै पठाउने निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोख्रेलले बताएका छन् । 

फुटबल प्रतियोगिताका लागि कामदारको माग आएको कतारमा रहेको नेपाली दूतावासलाई रोजगारदाता कम्पनीले जानकारी गराएका थिए । आफूलाई जानकारी आएपछि दूतावासले नेपालमा पत्र लेखेको थियो । यो निर्णयसँगै दूतावासले छोटो अवधिका लागि श्रमिक लैजान इच्छुक रोजगारदाताले ल्याएका माग प्रमाणीकरण गरेर कामदार पठाउन पाइनेछ ।

विश्वकप फुटबलसम्मका लागि मात्रै नेपाली कामदार पठाइने भएकाले सरकारले शून्य लागतमा पठाउन सम्बन्धित कम्पनीहरूलाई अनुमति दिनेछ । त्यस्तै, मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै व्यहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि ६ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेहरूले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।

नेपालबाट कति श्रमिक लैजाने र सेवा–सुविधा कति पाउने भन्ने कुरा भने अहिले नै निश्चित भइसकेको छैन । कामदारका लागि मागपत्र प्रमाणीकरण भएर आएपछि मात्रै त्यहाँ पाउने तलब र सेवा–सुविधाबारे जानकारी हुनेछ । तर, सामान्य अवस्थामा जाने श्रमिकले भन्दा विश्वकपको समयमा छोटो अवधिका लागि जाने श्रमिकले राम्रो तलब र सेवा–सुविधा पाउनेछन् । त्यस्तै, विश्वकप फुटबलको समयमा कतारले छोटो अवधिका लागि झन्डै १२ हजार श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागबाट इजाजत लिएका सबै म्यानपावर कम्पनीहरूले यो छोटो अवधिका लागि कामदार मागपत्र ल्याएर श्रमिक पठाउन पाउनेछन् ।