१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण ४ बुधबार १०:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गत वर्ष कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन सय ३० पर्यटक

Read Time : < 1 मिनेट
२०७९ श्रावण ४ बुधबार १०:३३:००

कञ्चनजंघा संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन् । संरक्षण क्षेत्रमा दुई सय २२ जना विदेशी, ६३ जना सार्क क्षेत्रका र ७४ जना स्वदेशी पर्यटक अवलोकनका लागि आएको संरक्षण क्षेत्र प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवले बताए । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा कोरोनाका कारण ६३ जना मात्र पर्यटक संरक्षण क्षेत्रमा आएका थिए ।

पर्यटकीय क्षेत्र ओलाङचुङगोला, ओलाङचुङगोलाको चार सय पुरानो दिकिछ्योलिङ गुम्बा, घुन्सा, मुख्य गरेर नेपालको दोस्रो तथा विश्वको तेस्रो हिमाल कञ्चनजंघाको अध्ययन–अवलोकन गर्न पर्यटक संरक्षण क्षेत्रमा आउने गरेका छन् । साउनदेखि असोजसम्म कञ्चनजंघा हिमाल हेर्न तथा चढ्न पर्यटक आउँछन् ।

१५ असोजदेखि कात्तिक र चैतदेखि वैशाखसम्म बढी पर्यटक आउने गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू (लिम्बू)ले बताए । त्यसो त जिल्लाका पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । यस क्षेत्रमा अमेरिका, बेलायत, स्पेन, फ्रान्स, इजरायल, क्यानडा, जापान, इटाली, थाइल्यान्ड, रुस, कोरिया, सिंगापुर साथै सार्क मुलुकलगायतका देशबाट पर्यटक आउने गरेका छन् । 

कञ्चनजंघा क्षेत्रमा पर्यटकको कम आकर्षण 

विश्वको तेस्रो तथा नेपालको दोस्रो हिमाल कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्छ । तर, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण त्यति बनेको छैन । पर्यटक आगमनलाई यातायातको सुविधा नरहेको तथा भरपर्दो हवाई सेवा नभएका कारण पर्यटकको आगमनमा कमी आएको हिमालयन गाइडका प्रोप्राइटर ईश्वरी पौडेलले बताए ।

कञ्चजनंघा रुटमा पर्यटकलाई आवश्यक सुविधासम्पन्न होटेलको व्यवस्थासमेत नभएकाले पर्यटकको रोजाइमा यो क्षेत्र नपरेको प्रोप्राइटर पौडेलले बताए । उता, संरक्षण अधिकृत रमेशकुमार यादवले प्रचार–प्रसारको अभाव तथा मोटरेबल बाटोको सुविधा नहुनाले समेत पर्यटकको कमी आएको बताए ।