मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण १ आइतबार १६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुरे पहिरोपीडितका लागि जनताबाट संकलित सवा दुई करोड आठ वर्षपछि फुकुवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण १ आइतबार १६:५८:००

जुरे पहिरोपीडितका नाममा संकलित सवा दुई करोड रुपैयाँ आठ वर्षपछि सरकारले फुकुवा गर्न स्वीकृति दिने निर्णय गरेको छ । पीडितका नाममा सहयोगस्वरूप संकलित दुई करोड २४ लाख ६६ हजार रुपैयाँ जिल्ला विपत् व्यवस्थापन कोषको खातामा रहेको थियो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सो रकम फुकुवा गर्ने निर्णय गरेको हो । 

१७ साउन ०७१ मा मांखा र राम्चेबीचको जुरेमा भीषण पहिरो खस्दा एक सय ३० घर पूर्ण रूपमा नष्ट भएका थिए भने ४७ घरमा क्षति पुगेको थियो । तत्कालीन केन्द्रीय दैवीप्रकोप उद्धार समितिको २५ साउन ०७१ को बैठकले कार्यविधि बनाएर तीन महिनाभित्र सहयोग रकम खर्च गर्ने निर्णय गरे पनि सरकारी निकाय र पीडितबीच सहमति नहुँदा रकम सरकारी खातामै अड्किएको थियो।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रकम फुकुवाका लागि स्वीकृति दिने निर्णय भएको जानकारी दिए पनि थप विवरण खुलेको छैन । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद्को निर्णय प्राप्त भएपछि मात्र ‘कुन प्रक्रियाबाट रकम फुकुवा हुने’ भनेर थाहा हुने प्रतिक्रिया दिए । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने संकलित सबै रकम पीडितलाई दिने गरी प्रस्ताव गृहमा पुगेको बताएकाे थियो । तर, कुन विधिबाट रकम वितरण गर्ने भन्नेबारे जानकारी पाप्त भइनसकेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

यसअघि २९ कात्तिक ०७५मा मन्त्रिपरिषद्ले भूकम्पपीडितको लाभग्राही सूचीमा परेकालाई पहिरोपीडितबापतको रकम उपलब्ध नगराउने र लाभग्राही सूचीमा नपरेकाको पुनस्र्थापना गर्न खर्चिने गरी रकम फुकुवा गरेको थियो । तर, पीडित नै आन्दोलित बनेपछि स्थगित भएको थियो । पहिरोपीडित र भूकम्पपीडितलाई समान राहत उपलब्ध गराउने निर्णय पनि भएको थियो । १२ वैशाख ०७२ मा भूकम्प गएपछि सरकारले पहिरोपीडितलाई दिने भनिएको राहतको मापदण्ड परिवर्तन गरेको थियो । पहिरोपीडितमध्ये कतिपयले भूकम्प प्रभावितबापतको अनुदान लिइसकेका छन् ।