१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १ आइतबार
  • Wednesday, 23 October, 2024
भद्रकालीको सवारी जाम । ट्राफिक एन्ड ट्रान्सपर्ट अनलिमिटेड सोलुसनको अनुसन्धान तथ्यांकअनुसार उपत्यकाभित्र सबैभन्दा धेरै सवारी आवगमन केशरमहल चोकमा हुन्छ । दोस्रो व्यस्त हुने चोक भद्रकाली र त्यसपछि नयाँ बानेश्वर हो ।
टेकराज थामी काठमाडाैं
२o७९ श्रावण १ आइतबार o५:४१:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

उपत्यकामा ‘ट्राफिक जाम’ले सास्ती

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण १ आइतबार o५:४१:oo

अत्यावश्यक सवारीसाधन र अनुसन्धानमा खटिएका प्रहरीलाई पनि वेलैमा गन्तव्यमा पुग्न कठिन

उपत्यकाका ४४ ‘जक्सन’मा सवारीसाधन गणना हुँदै

सडकमा सरर गाडी गुड्न पाउँथ्यो भने जोरपाटीका विशाल श्रेष्ठलाई करिब सात किलोमिटर दूरीमा रहेको अनामनगरस्थित कार्यालय पुग्न बढीमा १५ मिनेट लाग्थ्यो । तर, चाबहिल–गौशाला–बानेश्वर रुटको ट्राफिक जाम छिचोलेर कार्यालय पुग्न कम्तीमा ४५ मिनेट लाग्छ । निर्माण व्यवसायमा संलग्न श्रेष्ठ चर्को जाम पार गरेर कार्यालय पुग्दासम्म काम गर्ने आधा ऊर्जा घटिसक्ने अनुभव सुनाउँछन् । 

‘सात किलोमिटर बाटो पार गर्न कम्तीमा ४५ मिनेट लाग्छ । जामकै कारण कतिपटक त टेन्डर नै गुमाउनुपरेको छ । निर्धारित समयमा बैठकमा सहभागी हुन नसकेका उदाहरण त कति छन् कति,’ उनले भने, ‘खासगरी गौशालामा लामो जाम पर्छ । तर, जाम सहेरै ओहोरदोहोर गर्नुको विकल्प छैन ।’ 

ओमकुमार श्रेष्ठ हलचोकमा बस्छन् । कामको सिलसिलामा उनलाई पुतलीसडक आइरहनुपर्छ । तर, केशरमहल चोकको ‘ट्राफिक जाम’ले सधैँ हैरान बनाउँछ । बिमा कम्पनीसँग आबद्ध उनले अनुभव सुनाए, ‘सात किलोमिटरभन्दा कम सडक पार गर्न ४५ मिनेट लाग्छ । केशरमहल चोकमा सबैभन्दा बढी जाम हुन्छ । कहिले त सोह्रखुट्टेदेखि नै जाम सुरु हुन्छ । ट्राफिक जामकै कारण कतिपटक ‘क्लाइन्ट’ गुमाउनुपरेको छ । कार्यालय प्रमुखबाट हप्की खानुपरेको छ ।’ 

कन्सल्टेन्सी व्यवसायमा आबद्ध रामचन्द्र ओली चाबहिल सरस्वतीनगरमा बस्छन् । व्यवसायको सिलसिलामा उनलाई भक्तपुर धाइरहनुपर्छ । उनका लागि कोटेश्वरको ‘ट्राफिक जाम’ सधैँ टाउको दुखाइ बन्छ । ‘चाबहिलबाट भक्तपुर सधैँ आउजाउ गर्नुपर्छ । तर, कोटेश्वरको जामले समय र ऊर्जाको नास गरिदिन्छ,’ उनले भने, ‘घन्टौँ जाममा परे पनि अर्को बाटोको विकल्प छैन ।’ अनावश्यक विषयमा लिनुपर्ने तनावका कारण विदेश पलायनको सोच पलाए पनि पारिवारिक बाध्यताका कारण रोकिएको पनि उनले बताए । 

अत्यावश्यक सवारीसाधन र अनुसन्धानमा खटिएका प्रहरीलाई पनि वेलैमा गन्तव्यमा पुग्न कठिन
ट्राफिक जामका कारण एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीसाधनलाई पनि समयमै गन्तव्यमा पुग्न कठिन पर्ने गरेको छ । यस्ता सवारीसाधनले लेनको नियम मान्न नपरे पनि दुईतर्फी जामका कारण अगाडि बढ्ने सडक नै पाउँदैनन् । ढिलाइकै कारण मानवीय र भौतिक क्षति हुने गरेका छन् । 

नेपाल प्रहरी पनि उपत्यकाको जामले हैरान छ । अपराध अनुसन्धानमै समस्या पारेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘अपराधी रहेको क्षेत्र पहिचान हुन्छ । पाँच–दश मिनेटभित्र घटनास्थलमा पुग्ने गरी प्रहरी टोली खटिन्छ । तर, सडक जामका कारण समयमै घटनास्थल पुग्न असम्भव हुन्छ । जसकारण कैयौँपटक अपराधी उम्किएको तितो उदाहरण प्रहरीसँग छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले भने, ‘आगलागी, झै–झगडाका घटनामा पनि निर्धारित समयमा प्रहरी पुग्न नसक्दा पीडितले ठूलो क्षति व्यहोर्नुपरेको छ ।’ 

‘भिभिआइपी’ र ‘भिआइपी’ सवारीमा ‘ट्राफिक जाम’ले अझ ठूलो समस्या निम्त्याउने गरेको छ । सुरक्षा कार्यविधिअनुसार सवारीलाई सडकमा रोक्नुहुँदैन । तर, ट्राफिक जामका कारण त्यस्तो हुन सकेको छैन । ‘ट्राफिक जाम’कै कारण कतिपय ‘भिभिआइपी’ र ‘भिआइपी’ निर्धारित समयमा तोकिएको ठाउँ पुग्न सक्दैनन् । सोही कारण अन्तर्राष्ट्रिय ‘इमेज’ बिग्रने प्रहरी प्रवक्ता डिआइजी राईको भनाइ छ । ‘सडक जामले भिभिआइपी र भिआइपी सवारीमा सबैभन्दा ठूलो समस्या निम्त्याउने गरेको छ । यस्ता सवारी निर्धारित समयभित्रै गर्नुपर्ने बाध्यता हुन्छ । तर, जामका कारण त्यस्तो हुन सक्दैन । जसबाट नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रने गरेको छ । यो दुःखद पक्ष हो,’ उनले भने ।

केशरमहल, भद्रकाली र नयाँ बानेश्वरमा सबैभन्दा धेरै जाम 
सडक विस्तार गर्ने, सवारीसाधन आवागमनमा सहजताका लागि ट्राफिक लाइट, ओभरहेड ब्रिज, फ्लाइओभर, अन्डरपासलगायत संरचना निर्माण गर्ने काम सडक विभागको हो । उपत्यकामा सबैभन्दा धेरै ‘ट्राफिक जाम’ चक्रपथभित्रै छ । चक्रपथभित्रका सडक विस्तार गर्न अब प्रायः सम्भव छैन । न ओभरहेड ब्रिज, फ्लाइओभर, अन्डरपासलगायत संरचना तत्काल निर्माण गर्न सम्भव छ । तर, ‘ट्राफिक लाइट’ भने राख्न सकिन्छ । यसका लागि विभागले उपत्यकाभित्रका व्यस्त चोकमा दैनिक आवागमन हुने सवारीसाधन गणना सुरु गरेको छ । जुन काम ट्राफिक एन्ड ट्रान्सपर्ट अनलिमिटेड सोलुसनले वर्ष दिनदेखि गर्दै आएको छ । जसको नेतृत्व गरिरहेका छन्, ‘ट्राफिक रोड एक्सपर्ट’ सुभाष ढुंगेलले । 

सोलुसनको अनुसन्धान तथ्यांकअनुसार उपत्यकाभित्र सबैभन्दा धेरै सवारी आवगमन केशरमहल चोकमा हुन्छ । उक्त चोक भएर प्रत्येक घन्टा १७ हजार ६ सय दुई तथा दिनमा दुई लाख २० हजार २२ सवारीसाधनको आवागमन हुन्छ । 

दोस्रो व्यस्त हुने चोक हो भद्रकाली । तथ्यांकअनुसार भद्रकाली भएर प्रत्येक घन्टा १४ हजार नौ सय १० सवारीसाधन आवागमन गर्छन् । यो दर दैनिक एक लाख ८६ हजार तीन सय ८० पुग्छ । 

केशरमहलपछि बढी व्यस्त हुने चोक नयाँ बानेश्वर हो । जहाँ प्रत्येक घन्टा १३ हजार तीन सय ७८ सवारीसाधन ओहोरदोहोर गर्छन् । प्रत्येक दिन एक लाख ६७ हजार दुई सय २५ सवारीसाधन उक्त सडक हुँदै आउजाउ गर्छन् । 

जमल र नारायणगोपाल चोक पनि व्यस्तमध्येकै चोक हुन् । जहाँ प्रत्येक घन्टा क्रमशः १३ हजार एक सय ९८ र १२ हजार चार सय ५२ सवारीसाधन आवागमन हुन्छन् । दिनमा भने यो दर क्रमशः एक लाख ६४ हजार नौ सय ७५ र एक लाख ५४ हजार दुई सय ३४ पुग्छ । 

कोटेश्वर चोक पनि जाम हुनेमध्येमै पर्छ । तर, सोलुसनले कोटेश्वर जक्सनको सर्भे भने गर्न सकेको छैन । सोलुसनका निर्देशक इन्जिनियर हेमन्त तिवारीले काम हुन बाँकी रहेको बताए । ‘हामीले ४४ चोकमा आवागमन हुने सावरीसाधन गणना गर्दै छौँ । त्यसमध्ये कतिपयको काम पूरा भएका छन् । कतिपय ठाउँमा काम हुँदै छ । कोटेश्वरको हकमा काम पूरा भएको छैन । त्यसो हुँदा तथ्यांक आउन सकेको छैन,’ उनले भने ।

उपत्यकाका ४४ ‘जक्सन’मा सवारीसाधन गणना हुँदै 
सडक विभागका अनुसार उपत्यकाभित्रका विभिन्न ४४ ‘जक्सन’मा सवारी आवागमन गणना हुँदै छ । यो काम अबको केही महिनाभित्र पूरा हुनेछ । सोही आधारमा कुन ‘जक्सन’मा कस्तो ‘ट्राफिक लाइट’ राख्ने टुंगो लाग्नेछ । अब राखिने ‘ट्राफिक लाइट’ परम्परागत नभई ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ हुने विभागले जनाएको छ, जसले यातायातका साधन चापका आधारमा कुन ‘जक्सन’मा कति समय आवागमन रोक्ने निर्धारण गर्नेछ । सोही आधारमा प्रणाली अटोमेटिक चल्नेछ ।’

विभागमातहतको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख बेलबहादुर भुजेलले उपत्यकाभित्रका ४४ स्थानमा अब ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ राखिने बताए । उनका अनुसार अबको तीन वर्षभित्र सबै चोकमा यस्ता लाइट राखिनेछ । ‘ट्राफिक जाम विशेषगरी चक्रपथभित्र धेरै छन् । यस विषयमा विभाग जानकार छ । यसका लागि अब ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’ राखिनेछन् । यसको प्रारम्भ भइसकेको छ । सवारीसाधन गणना हुने काम त्यसैका लागि हो । यो सकिनासाथ योजना बन्छ । र, सबै चोकमा ‘स्मार्ट लाइट’ राखिनेछन्,’ उनले भने । 

जहाँ राखिनेछन् ‘इन्टेलिजेन्ट ट्राफिक लाइट’
निर्मलनिवास, कान्ति बाल अस्पताल, शीतलनिवास, लैनचौर उत्तर, लैनचौर, गोल्कुपाखा, सोह्रखुट्टे, केशरमहल, जमल, भोटाहिटी, वीर अस्पताल, न्युरोड, सुन्धारा, बागदरबार मध्य, त्रिपुरेश्वर, दरबारमार्ग दक्षिण ढोका, महेन्द्र सालिक तिनधारा, त्रिचन्द्र कलेज, कमलादी, रत्नपार्क, रत्नपार्क मध्य, पुरानो बसपार्क, पुरानो बसपार्क मध्य, प्रदर्शनीमार्ग, भद्रकाली, जयनेपाल हल, हात्तीसार, कमलपोखरी, काठमाडौं प्लाजा, कमलादी मध्य, डिल्लीबजार, शंकरदेव, पद्मोदय मोड, अनामनगर दक्षिण, सिंहदरबार, माइतीघर, थापाथली, कानदेवस्थान कुपन्डोल, सहिद शुक्रपार्क, नमस्ते सुपरमार्केट पुल्चोक, जावलाखेल, बबरमहल, नयाँ बानेश्वर चोक, सिभिल अस्पताल गेट