मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार ३० बिहीबार ०८:४६:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कृषि र पशुपालनलाई महत्वका साथ लगानी गरिरहेका छौँ

Read Time : > 2 मिनेट
२०७९ असार ३० बिहीबार ०८:४६:००

सहकारी भन्नेबित्तिकै बचत तथा ऋण सहकारी भनेर बुझ्ने  मानिसको संख्या अत्यधिक छ । तर, सहकारी फरक–फरक प्रकृतिको पनि हुन्छ र फरक प्रकृतिको सहकारीले वास्तविक सहकारीको रूपमा काम गरिरहेको हुन्छ भन्ने विषय पनि धेरैलाई बुझाउन बाँकी नै छ । त्यस्तै, फरक र समुदायमा विशेष प्रभाव पार्न सफल सहकारीको उदाहरणमा कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई लिन सकिन्छ । हाल स्थानीय समुदायका ६८ हजारभन्दा बढी सदस्यलाई उनीहरूको आर्थिक जीवन परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहसँग गरिएको कुराकानीः

किसान सहकारीको अवस्था कस्तो छ ? कति सेयर सदस्य छन् ?
हाम्रो सहकारीमा ६८ हजार सेयर सदस्य हुनुहुन्छ । सात जिल्लामा ३८ सेवा केन्द्रबाट सेवा दिइरहेका छौँ । कामकारबाही र सेवा प्रवाह सहज र पारदर्शी बनाउन अत्याधुनिक प्रविधि प्रयोग गरिरहेका छन् । मोबाइल एप्स प्रयोगमा ल्याएका छौँ । आफ्नो रकमको विवरण सेयर सदस्यले त्यसमा हेर्न सक्नुहुन्छ । रकम झिक्दा शुल्क नलाग्ने गरी एटिएमको सुविधा दिइरहेका छौँ । हाम्रा सेयर सदस्यहरूले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि १ वैशाखदेखि किसान मार्ट सञ्चालनमा ल्याएका छौँ । जानकी गाउँपालिकामा साढे दुई बिघा जमिन भाडामा लिएर खेती गर्न चाहनेलाई कृषि सिकाइरहेका छौँ ।

गत वर्ष हाम्रो वासलात पाँच अर्ब थियो । चार अर्ब ४० करोड लगानी, तीन अर्ब ८० करोड बचत र १५ करोड मुनाफा भएको थियो । ०५२ सालमा स्थापना भएको यो सहकारीले ०६४ बाट प्रत्येक वर्ष आफ्ना सेयर सदस्यहरूलाई लाभांश वितरण गर्दै आएको छ । हामीले सामाजिक कार्यलाई पनि निरन्तरता दिएका छौँ । कोरोनाका वेला लम्की, टीकापुर, भजनी अस्पतालमा अक्सिजन बैंक स्थापना गरेर अक्सिजन आपूर्तिमा सहयोग गरेका थियौँ । त्यो आपत्को वेलामा स्थानीय तहमार्फत खाद्यान्न, नगद सहयोग ग¥यौँ ।

अहिले कुन–कुन क्षेत्रमा लगानी गरेको छ र प्राथमिकताका क्षेत्र के हुन् ?
हामीले मुख्यतः कृषि र पशुपालनलाई प्राथमिकता दिएर लगानी गरिरहेका छौँ । कोरोना संक्रमणपछि यी क्षेत्रमा आकर्षण पनि बढेको छ । बढी रोजगार र स्वरोजगार सिर्जना गर्ने सम्भावनाको क्षेत्र पनि यही हो । यसबाहेक नवीकरणीय ऊर्जालाई पनि प्राथमिकता दिन्छौँ । सन् २०३० सम्म गरिबी र बेरोजगारी अन्त्य गर्ने तथा २०५० सम्म कार्बन उत्सर्जन न्यूनीकरणको बिन्दुमा झार्ने दिगो विकासको लक्ष्यअनुरूप नवीकरणीय ऊर्जाअन्तर्गत सोलारपावरलगायतमा काम गरिरहेका छौँ । विद्यार्थी तथा विद्यालयहरूसँग पनि समन्वय गरेर नवीकरणीय ऊर्जामा काम गरिरहेका छौँ ।  

लगानी गर्दा विशेष केमा ध्यान दिनुहुन्छ ?
सबैभन्दा पहिले त कर्जा लिन खोज्ने सदस्यको इच्छाशक्ति हेर्छौँ । कामको अनुभव हेर्छाैँ । काम गर्न चाहेका क्षेत्रबारे अनुभव, दक्षताको कमी भए तालिम उपलब्ध गराउँछौँ । तालिमका लागि प्राविधिक जनशक्ति हामीसँग छ । मूलतः जोसजाँगर, इच्छाशक्ति र आँट हेर्छौँ । केही गर्ने इच्छाशक्ति, जोसजाँगर भए विनाधितो पनि ऋण उपलब्ध गराउँछौँ ।

तपाईंको सहकारीबाट सेयर सदस्यले कसरी लाभ लिइरहेका छन् ?
ऐन, नियमावलीबमोजिम १८ प्रतिशत लाभांश दिन्छौँ । प्रविधिको प्रयोग गरेर काम गरिरहेका छौँ, जसले गर्दा कुनै सेवाका लागि सदस्य कार्यालय आइराख्नु पर्दैन । आफ्नो घरमा बसेर नै सामान्य मोबाइलबाटै हाम्रा संस्थाका थुप्रै सेवा लिन सक्नुहुन्छ । हामी एकदमै प्रविधिमैत्री छौँ । सदस्यको मृत्यु भएमा परिवारलाई सहयोगस्वरूप २५ हजार रुपैयाँ दिने गरेका छौँ । सेयर सदस्य र अन्य नागरिकका लागि पटक–पटक स्वास्थ्य शिविर सञ्चालन पनि गर्दै आएका छाैँ ।

सहकारीले चर्को ब्याज असुल्ने गरेको गुनासो तपाईंहरूले कत्तिको सुन्नुपरेको छ ? 
केही वित्तीय संस्थाले बेइमानी गर्दा अन्य राम्रो संस्थालाई पनि पक्कै केही गाह्रो भएको छ । तर, सबैलाई हेर्ने नजर उस्तै हुनुहुँदैन । यो गुनासोप्रति हामी एकदमै सचेत छौँ । हामी ग्राहक सुरक्षण सिद्धान्तअन्तर्गत स्मार्ट सर्टिफाइड संस्था हौँ । स्मार्ट सर्टिफाईको सर्टिफिकेट त्यत्तिकै पाइँदैन, संस्थाका मान्छे आएर, निरीक्षण, अध्ययन गरेर, हाम्रा सदस्यसँग अन्तक्र्रिया गरेर मात्र दिइन्छ । हामी एकदमै पारदर्शी छौँ । हामीले लिने ब्याज लुकाउनुपर्ने दरमा छैन । कुनमा कति ब्याज छ भनेर हरेक सेवा केन्द्रमा बडापत्र राखेका छौँ । लुकाएर गर्नुपर्ने केही छैन ।  हामी यही विश्वास कायम राखिराख्न चाहन्छौँ । 

लगानी सफल भएका केही उदाहरण दिनुपर्‍यो भने ?
लम्कीचुहा नगरपालिकाको बलियाकी राजुकुमारी रोकायाको कमाइ सिजनमा ६०–७० हजार नाघ्छ । यो सहकारीबाट डेढ लाख ऋण लिएर पाँच वर्षअघि उहाँले सुरु गरेको डेरी व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको छ । लम्कीमा रहेको उहाँको डेरीमा दैनिक तीन सय लिटर दूध खपत हुन्छ । डेरीबाट भएको आम्दानीले गत वर्ष ११ लाख रुपैयाँमा १० धुर जग्गा जोड्नुभएको छ । त्यस्तै, जानकी गाउँपालिकाको भोक्सीकी इमानी थरूनीले यहाँबाटै तीन लाख रुपैयाँ ऋण लिएर गत वर्षबाट १४ कट्ठा जमिनमा तरकारी खेती लगाउन थाल्नुभएको हो । तरकारी खेती सुरु गरेपछि भने घरखर्च चलाउन निकै सहज भएको उहाँ सुनाउनुहुन्छ । अहिले बचतसमेत गर्न थाल्नुभएको छ । यस्ता उदाहरण धेरै छन् । यहाँबाट कर्जा लगेर केहीनकेही काम गर्ने ३० हजार सदस्यमध्ये २९ हजार त महिला सदस्य हुनुहुन्छ । तपाईंलाई थाहै होला, महिलाहरूको आर्थिक अनुशासन राम्रो हुन्छ ।