
पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला स्वास्थ्य बिमा सम्पर्क कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालय नवलपुरमा स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
सोमबार कावासोतीस्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा दर्ता समूहको टोलीले जिल्ला प्रमुख जायसोर भुसाललाई ज्ञापनपत्र बुझाएलगतै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले गत २०७८ देखिको पारिश्रमिक नपाएको, बिमितहरूलाई स्वास्थ्य सेवा प्रादयाक संस्थाहरूले सम्मानजनक व्यवहार नगरेको, बिमाले समेटेको औषधि र गुणस्तरीय उपचारमा ध्यान नदिएको, केन्द्रीय बिमा बोर्डले समयमै सेवा प्रदायक संस्थालाई भुक्तानी नदिएको, स्वास्थ्य सेवा प्रादायक संस्थामा बिमा सहायता कक्ष स्थापना नगरिएको भन्दै जिल्ला सम्पर्क कार्यालयमा तालबन्दी गरेका हुन् ।
स्वास्थ्य बिमा दर्ता सहयोगीले ०७८ भाद्र चक्रको कमिसन सोमबारको मितिले तीन दिनभित्र, ०७९ जेठ चक्रको कमिसन सात दिनभित्र र अबदेखि हरेक चक्र सुरु भएको मितिले १५ दिनभित्र पाउनुपर्ने माग राखेका छन् । जिल्लामा ०७७ फागुन ९ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा करिब एक लाख जनसंख्या आबद्ध भइसकेका छन् ।