१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २२ बुधबार
  • Wednesday, 03 July, 2024
मुना कुँवर काठमाडौं
२o७९ असार २२ बुधबार o७:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

पारिश्रमिकमा ठगिन्छन् वैदेशिक रोजगारमा गएका नेपाली : ५३ प्रतिशतले पाउँदैनन् सम्झौताअनुसारको तलब

जिफन्टले गरेको एक अध्ययनअनुसार एजेन्टमार्फत गएकामध्ये ६५ प्रतिशत नेपाली श्रमिक पारिश्रमिकमा ठगिने गरेका छन्

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २२ बुधबार o७:२५:oo

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली श्रमिकले सम्झौताअनुसार तलब नपाउने गरेको पाइएको छ । नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनअनुसार वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले स्थानीय एजेन्टदेखि गन्तव्य मुलुकमा पुगेपछि रोजगारदाताबाट समेत ठगिने गरेको पाइएको हो ।

अध्ययनअनुसार करिब ५३ प्रतिशत श्रमिकले तोकिएअनुसारको पारिश्रमिक पाएका छैनन् । वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनीले योग्यता पुगेका नेपाली श्रमिक र रोजगारदाताबीच समन्वय गरी अन्तर्वार्ता लिन्छन् । अन्तर्वार्तामा छानिएका श्रमिक र रोजगारदाताबीच श्रमका विषयमा करार गरिन्छ ।

वैदेशिक रोजगार ऐनबमोजिम करारपत्रमा श्रमिकले पाउने पारिश्रमिक, अन्य सेवा–सुविधाको विषयमा उल्लेख गरिएको हुन्छ । श्रमिकले करारपत्रमा उल्लेख गरिएका सर्त मन्जुर भएमा मात्रै करारपत्रमा हस्ताक्षर गरी रोजगारीमा जान पाउँछ । तर, सम्बन्धित मुलुकमा पुगेपछि रोजगारदाताले करारपत्रमा उल्लेख गरिएको पारिश्रमिक नदिने गरेको पीडित कामदार बताउँछन् ।

कानुुनी प्रक्रियाबमोजिम रोजगारीमा जाँदासमेत सम्झौताअनुसार पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ । नेपालबाट कर्जा लिएर रोजगारीमा गएका कारण श्रमिकहरू कम पारिश्रमिकमा पनि श्रम गर्न बाध्य भएको दुबईमा कार्यरत भीम नेपालीले बताए । ‘ऋण–धन खोजेर आएको छु । घर जाऊँ भने ऋण कसरी चुक्ता गर्नु । परिवारलाई कसरी मुख देखाउनु,’ उनले भने ।

स्थानीय एजेन्टमार्फत जाने नेपाली कामदार बढी ठगिने गरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार नेपाली श्रमिक स्थानीय एजेन्ट, साथी, आफन्त, पत्रिका, रेडियो, म्यानपावर कम्पनी, सामािजक सञ्जाल, टिभीलगायतका माध्यमबाट सूचना प्राप्त गरी रोजगारीमा जाने गरेका छन् । एजेन्टमार्फत गएकामध्ये ६५ प्रतिशत नेपाली श्रमिक पारिश्रमिकमा ठगिने गरेको पाइएको छ । त्यस्तै, साथीमार्फत जानेमा ५९ प्रतिशत कामदार ठगिने गरेको पाइन्छ । तर, म्यानपावर कम्पनी र टेलिभिजनमार्फत पाइएको जानकारीअनुसार वैदेशिक रोजगारीमा जाने कामदारमध्ये कमै मात्रै पारिश्रमिकमा ठगिएको पाइएको छ । 

सम्झौताअनुसार काम पनि पाउँदैनन् 
नेपाली श्रमिक जुन भिसामा रोजगारीमा जान्छन्, गन्तव्य मुलुकमा पुगेपछि सोही काम पनि नपाउने गरेको भेटिएको छ । जिफन्टले गरेको अध्ययनअनुसार रोजगारीमा जानेमध्ये ६५ प्रतिशत नेपाली श्रमिकले सम्झौतामा वाचा गरिएअनुसारको काम नपाएको गुनासो गरेका छन् ।  कैलालीका मुन्ना यादव ६ महिनाअघि टेक्निसियनका लागि दुबई पुगेका थिए । तर, सम्बन्धित मुलुकमा पुगेपछि उनले टेक्निसियनको काम पाएका छैनन् । 

रोजगारदाताले लेबर काममा खटाइरहेको उनले गुनासो गरे । ‘म यहाँ टेक्निसियन भिसामा आएको थिएँ । तर, साहुले लेबर काम लगाएको छ । त्यो पनि साताभरि पाइँदैन । गुनासो गर्यो भने केही महिना पख भन्छ,’ उनले भने । कर्जाका कारण उनी रोजगारी छाडेर नेपालसमेत आउन सकेका छैनन् । 

काममा ठगिनेमध्ये करार सम्झौतापत्र प्राप्त नगरेका कामदार बढी छन् । अध्ययनअनुसार सम्झौतापत्र प्राप्त नगरेकामध्ये ४३ प्रतिशतले वाचा गरिएअनुसार रोजगारी नपाएको पाइएको छ । त्यस्तै, सम्झौतापत्र प्राप्त गरेकामध्ये ३९ प्रतिशतले वाचा गरिएको रोजगारी नपाएको पाइएको छ । 

चाहेको समयमा स्वदेशमा फर्कन पाउँदैनन् श्रमिक
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरू आफूले चाहेको समयमा स्वदेशसमेत फर्कन पाउँदैनन् । आप्रवासी श्रमिकले आफू रोजगारीका लागि पुगेको मुलुकमा श्रम सम्झौताअनुसारको जिम्मेवारी पूरा गरेपछि उनीहरू कुनै बाधाविना स्वदेश फर्किन पाउने अधिकारको ग्यारेन्टी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू तथा द्विपक्षीय श्रम सम्झौताले गरेको छ ।  

तर, श्रमिकले भने आफूले कुनै उचित कारणसहित राजीनामा दिन र स्वदेश फर्किन पाउने अवस्था नरहेको अध्ययनका क्रममा बताएका छन् । रोजगारीका लागि साउदी अरब पुगेका टोपबहादुर मगरले भने, ‘यदि कुनै कारणवश म नेपाल फर्किनुपर्ने भएको भए मैले कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्ने थियो । स्वदेश फर्किनुपर्ने हवाईजहाजको टिकटको रकम पनि मैले आफैँले तिर्नुपर्ने थियो ।’ 

रोजगारीमा रहेका कामदारमध्ये ८३ प्रतिशत कामदारले आफूले चाहेको समयमा रोजगारी छाड्न र स्वदेश फर्किन नपाउने गरेको अध्ययनले देखाएको छ । १७ प्रतिशतले भने उपयुक्त कारण देखाएर रोजगारी छाड्न र स्वदेश फर्किन स्वतन्त्र रहेको अध्ययनमा उल्लेख छ । 

आप्रवासी कामदारले आफ्नो पासपोर्टदेखि अन्य सबै कागजपत्र आफ्नो साथमा राख्न पाउने व्यवस्था छ । तर, नेपाली कामदारले भने पासपोर्ट र अन्य कागजपत्र रोजगारदाताले जफत गरिदिने गरेको पाइएको छ । अध्ययनअनुसार ९५ प्रतिशत नेपाली श्रमिकले आफ्नो पासपोर्ट र कागजपत्र रोजगारदाताले जफत गर्ने गरेको पाइएको छ । 

रोजगारदाताले नै कागजपत्र जफत गर्ने हुँदा नेपाली श्रमिकले आफूले चाहेको समयमा स्वदेश फर्कन पाउँदैनन् । त्यस्तै, करार अवधि समाप्त भएपछि पनि आफ्नो इच्छाले रोजगारी छाड्न पाउँदैनन् । रोजगारी छाडेमा रोजगारदाताले विभिन्न आरोप लगाएर प्रहरीमा बुझाइदिने गरेको श्रमिकको गुनासो छ । 

पाइलैपिच्छे ठगिन्छन् नेपाली कामदार
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार दैनिक १५ सय नेपाली युवाहरू रोजगारीका लागि नै बिदेसिने गरेका छन् । तर, वैदेशिक रोजगारीमा जाँदा नेपाली युवाहरू भने पाइलापिच्छे नै ठगिने गरेको अध्ययनले देखाएको छ ।

शिक्षा र सीपको अभावका कारण एजेन्ट, म्यानवापर कम्पनी, ट्राभल एजेन्ट र रोजगारदाताबाट उनीहरू ठगिने गरेका हुन् । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको विषयलाई गहन रूपमा लिन नसक्दा नेपाली श्रमिक आफ्नै देश र विदेश पुगेपछि पनि ठगिने गरेका हुन् । 

वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली श्रमिक कुनै कुनै चरणमा ठगिने गरेको अध्ययनमा सहभागी डा. जीवन बानियाँले बताए । उनका अनुसार नेपाली कामदारले पासपोर्टदेखि लिएर आफ्नो सामान्य कागजपत्रसमेत साथमा राख्न पाउँदैनन् । जसका कारण नेपाली श्रमिक बाध्य भएर श्रम गरिरहेका छन् ।

ad
ad
ad
ad