१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Sunday, 06 July, 2025
२o७९ असार २१ मंगलबार o७:५८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गाईखुरे झरना : वर्षामा टनाटन, हिउँदमा सुनसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार o७:५८:oo

डुम्रे–बेसीसहर सडकखण्डमा पर्ने बेसीसहर नगरपालिकाको उदिपुरस्थित गाईखुरे झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ । चिसो मौसम र आकर्षक झरना हेर्दै बिदा मनाउन पुग्नेको भिड दिनहुँ बढ्दो छ । यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने हुँदा साहसिक पर्यटन मन पराउनेहरू पनि पुग्ने गर्छन् । वर्षाको समयमा झरना अझै ठूलो हुने हुँदा यहाँ यो मौसममा युवायुवतीको लर्को लागेको हो । 

झरना हेर्न बेसीसहरबाट उदिपुर आएकी कल्पना श्रेष्ठले पहाडको खोंचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्छन् । वर्षायाममा झरना हेर्न र रमाउन पुग्नेहरूको भिड लाग्छ । तर, हिउँदमा भने झरना सुनसान जस्तै हुन्छ । किनभने हिउँदमा झरनामा पानी हुँदैन । तर, नजिकै बगेको मस्र्याङ्दीको पानीलाई मोटरले तानेर झरनाबाट झार्न सके बाह्रै महिना पर्यटकलाई झरनासम्म तान्न सकिने बेसीसहरका शिव सिलवाल बताउँछन् ।

संरक्षणको खाँचो
पर्यटकीय महत्व हुँदाहुँदै पनि सरकारी तथा गैरसकारी संस्थाहरूले गाईखुरे झरनाको व्यवस्थापनमा चासो नदिएको स्थानीयको गुनासो छ । थोरै मात्र लगानी गर्न सके पनि यो क्षेत्र पर्यटकका लागि निकै राम्रो गन्तव्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल थापाले बताए । सिलवालले भने, ‘निश्चित मापदण्ड बनाएर शुल्क लिने गरी झरना व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन सके करोडौँ आम्दानी गर्न सकिन्छ ।’ 

व्यवस्थित गर्ने प्रतिबद्धता 
बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरिने बताउँछन् । उनले भने, ‘बेसीसहर नगरपालिकामा रहेको यो झरनाले आन्तरिक र बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ, यसलाई व्यवस्थित गर्नुपर्छ ।’