Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ असार १९ आइतबार ०९:११:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सडकको दुर्दशाले तातोपानी नाकामा आयात प्रभावित

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ असार १९ आइतबार ०९:११:००

असार महिनाको सुरुवातबाटै नाका प्रभावित

सडकको दूर्दशाले तातोपानी नाका केही दिनयता प्रभावित भएको छ । अविरल झरीले जमिन भासिने र ठाउँठाउँमा पहिरो खसेर कोदारी सडक अवरुद्ध हुने गरेकाले असार महिनाको सुरुवातबाटै नाका प्रभावित भएको हो । 

सडक डिभिजन कार्यालय चरिकोटलाई गत वर्षदेखि नै स्थानीय सरकार, तातोपानी भन्सार र सीमावासीले जीर्ण कोदारी सडक बनाउन पटकपटक आग्रह गरेका थिए । यद्यपि, सडक डिभिजनले बजेट पठाउन आनाकानी गर्ने र रकम पठाए पनि बर्खामासमा काम गर्ने परिपाटी बसालेकाले सडक मर्मत ‘बालुवामा पानी’ भएको छ । 

यता वार्षिक करोडौँको अनुदान हिसाब देखाएर भूकम्प गएदेखि सडक मर्मत गर्दै आएको चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिसिआरसी) ले बनाएको सडक हिउँदमा टिक्ने बर्खामा बगाउने गरेको छ । सडक समस्याले तातोपानी नाकाको आयात प्रभावित भएको सरकारी निकायलाई जानकारी छ । तर, कसैको पनि  सडक सुधार्नेतिर ध्यान छैन । 

बाह्रबिसे–लिपिङ २६ किलोमिटर सडकखण्ड सबैभन्दा बढी कोदारी क्षेत्रमा बिग्रिएको छ । तलबाट भोटेकोसी नदीले तान्ने र माथिबाट जमिन भासिँदै जाने कमजोर भूगोल भएकाले असारयता खासाबाट सुक्खा बन्दरगाह लार्चा आउने चिनियाँ ट्रेलर सीमामा रोकिएका छन् । भासिएको सडक बनाउन दैनिक एक्स्काभेटर चलाउँदा कोदारी गाउँ जोखिममा परेको छ । केही घर बगेर सडकछेउ आएको छ । सखुवा, बसेरी, झ्यालेभिरलगायत क्षेत्रमा पहिरो गइरहने भएकाले सडकयात्रा अतिजोखिमपूर्ण छ ।  

राजस्व संकलन प्रभावित
भूकम्पअघि तातोपानी भन्सारले दैनिक पाँच करोड राजस्व संकलन गर्थ्यो । अहिले दैनिक ८० लाखसम्म उठ्छ । केही दिनयता सडकको मारमा परेर तातोपानी भन्सारले राजस्व संकलन गर्न सकेको छैन । खासाबाट अहिले ठूलो मात्रामा स्याउ आयात भइरहेको छ । वेलावेलामा सडक बन्द भएर ट्रेलर बीचैमा अड्कँदा स्याउ कुहिन थालेका छन् ।

तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले दिएको जानकारीअनुसार खासा क्षेत्रमा आइपुगेको स्याउ कुहिन थालेको छ । केही दिनयता राजस्व संकलन प्रभावित भएको बताउँदै गौतमले भने, ‘कोदारी सडक जीर्ण भएकाले खासा आइपुगेका सामान आयात गर्न ढिलाइ भएको छ ।’ चीनबाट खासा हुँदै स्याउ, डोजर, मेसिनरी सामान, मेलम्ची खानेपानी आयोजनाका ठूला फलामे पाइप आयात भइरहेको उनले बताए ।  

चीनतर्फ पुनर्निर्माण, नेपालतर्फ सुनसान
भूकम्प र भोटेकोसी बाढीले ढालेको तातोपानीका भौतिक संरचना अझै उठ्न सकेन । कसैले उठाउन प्रयत्न पनि गरेनन् । न सरकारी भवन बने न त निजी अवास नै ठडिए । कमजोर भूगोल रहेको नेपालपटि कुनै पनि भौतिक संरचनाको पुनर्निर्माण र पूर्वाधार तयारी भएको छैन । खासासँग आमने–सामने रहेको लिपिङ ०७२ यता सुनसान छ । 

उता चिनियाँ क्षेत्रमा धमाधम पुनर्निर्माण भइरहेको छ । भोटेकोसीको बहाब  र कटानलाई रोकेर भूगोल संरक्षणमा चिनियाँ नागरिक पारिपट्टि रातदिन काम गरिरहेका छन् । हामी नेपाली वारिपट्टि भोटेकोसीले दिनहुँ कटान गरिरहेको हाम्रो भूगोल टुलुटुलु हेरेर बस्न बाध्य छौँ । चिनियाँ क्षेत्रमा सरकारी भवनदेखि निजी अवासको पुनर्निर्माण पनि सँगसँगै गरिँदै छ । भूकम्पपछि लिपिङ क्षेत्रमा बसोवास गर्ने कम्तीमा एक सय परिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।