१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १९ आइतबार ०८:४६:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तोडिएन गैँडा चोरी सिकारीको सञ्जाल : १५ वर्ष जेल बसेर छुटेपछि  फेरि गैँडाको चोरी सिकारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १९ आइतबार ०८:४६:००

पाँच वर्षअघि गैैँडाको चोरी सिकारीमा संलग्न सबैजसो पक्राउ परेपछि चितवन राष्ट्रिय निकुञ्ज र प्रहरी अधिकारीलाई लागेको थियो, अब गैँडाको चोरी सिकारी बन्द हुनेछ । केही वर्ष चोरी सिकारीका घटना शून्यप्रायः नै भयो । तर, ०७७ कात्तिकमा चितवनको बाँदरझुला क्षेत्रमा एकैपटक चार गैँडा मृत अवस्थामा भेटिए । २०, २१ र २२ कात्तिकमा खाग झिकिएका गैँडा मृत अवस्थामा भेटिएका थिए । यो घटनाले गैँडाको चोरी सिकारीमा नयाँ समूह सक्रिय रहेको हुन सक्ने प्रहरी आशंका थियो, तर अनुसन्धानमा फरक निष्कर्ष आयो । गैँडाकै चोरी सिकारीमा १५ वर्ष जेल बसेर छुटेका व्यक्तिहरू त्यसमा संलग्न थिए । 

चितवनको कालिका नगरपालिकाका स्थानीय रामकुमार प्रजा र बमबहादुर प्रजाले त्यसरी गैँडा मारेका थिए । चोरी सिकारी समूहका नाइके उनीहरू घटनाको २० महिनापछि बल्ल पक्राउ परेका छन् । यसअघि राजकुमार १० र बमबहादुर १५ वर्ष तीन महिना जेल बसेर छुटेका हुन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार यसअघि पनि उनीहरू गैँडाको चोरी सिकारीमै जेल परेका थिए । पेसेवर सिकारी रहेका दुवैले अभियोग स्वीकार गरेका छन् । पक्राउ परेका रामकुमार तिनै व्यक्ति हुन्, जसका दाइ राजकुमार प्रजाले चितवनमा २८ वटा गैँडा मारेका थिए । उनलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएकोमा हाल कारागारमा छन् । 

पछिल्लो तीन वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १४ वटा गैँडाको चोरी सिकारी भएको र त्यसमा बमबहादुर र रामकुमारको संलग्नता आशंका निकुञ्जका अधिकारीको छ । ‘उनीहरू चितवनमा गैँडाको चोरी सिकारीमा संलग्न पेसेवर समूहका मुख्य व्यक्तिमध्ये भएको सिआइबीका एक प्रहरी अधिकारी बताउँछन् । चारवटा गैँडाको चोरी सिकारीसम्बन्धी सो मुद्दामा यसअघि नै ४२ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । त्यसमध्ये १४ जना अझै फरार छन् । फरारहरूको खोजी गर्ने क्रममा सिकारीहरू पक्राउ परेका हुन् । 

चितवनमा गैँडाको चोरी सिकारीमा स्थानीय आदिवासीलाई तस्कर समूहले प्रयोग गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई आर्थिक प्रभावमा पारी गैँडा मारेर खाग निकाल्न लगाउने गरिएको छ । जसमा दर्जनौँ स्थानीय पक्राउ परी हाल जेलमा छन् । तर, १५ वर्ष जेल बसेर छुट्दा पनि त्यही काममा लागेपछि गैँडाको चोरी सिकारी गिरोहको सञ्जाल अझै सक्रिय रहेको देखिएको छ । यसले दुर्लभ वन्यजन्तु गैँडाको संरक्षण अझै चुनौतीपूर्ण देखिएको छ । 

७० लाख भेटियो, खाग भेटिएन 
सो मुद्दामा खाग किन्ने कर्मा तामाङ, नाङ्गे तामाङसहित मेखबहादुर नेपाली, रणबहादुर कुमाल, तारा चेपाङ, सुकबहादुर तामाङ भन्ने वीरमानसिंह प्रजा हाल थुनामा छन् । मेखबहादुरको समूहले प्रहरी बनेर चोरी सिकारी गर्ने समूहसँग खाग लुटेको थियो । उनीहरूले हत्कडी र पेस्तोल देखाएर खाग लुटेका थिए । उनले सो खाग चिनियाँ समूहलाई बिक्री गरेको प्रहरी सूचना छ । उनको खातामा त्यसवेला ७० लाख रुपैयाँ नगद भेटिएको थियो । त्यो पैसा खागको कारोबारबाटै आएको सम्भावना देखिए पनि यसको स्रोतबारे निकुञ्जले खोजबिन नगर्दा उनले त्यो पैसा जोगाउन सफल भए । केही उच्च प्रहरी अधिकारीसँग समेत निकटता देखिएका मेखबहादुरले नै आफूहरूले खाग लुटेको स्विकारेका थिए । सो घटनामा ७० लाख भेटिए पनि खाग भने भेटिएन । कारोबारमा संलग्न केही उच्च तहका व्यक्ति अझै फरार नै छन् ।