मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ असार १८ शनिबार ०६:१३:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अभियुक्त नेविसंघ नेताविरुद्धका मुद्दा फिर्ता लिने अन्तिम तयारीमा सरकार

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असार १८ शनिबार ०६:१३:००

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण प्रकरण

यस्तो छ तयारी : पटक–पटकको दबाबपछि महान्यायाधिवक्ता कार्यालयले दिएको मुद्दा फिर्ता लिन मिल्ने राय गृहले कानुन मन्त्रालयमा पठायो, कानुन मन्त्रालयले स्वीकृति दिएलगत्तै मन्त्रिपरिषद्बाट निर्णय गराएर मुद्दा फिर्ता लिने तयारी

सञ्जीवराज रेग्मी प्रवक्ता, महान्यायाधिवक्ताको कार्यालय

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्नविरुद्धको मुद्दामा गृहले महान्यायाधिक्ता कार्यालयसँग राय मागेको थियो । हामीले मुद्दा फिर्ता गर्न सकिने रायसहितको पत्र गृहलाई पठाइसकेका छौँ । अहिले सो पत्र कानुन मन्त्रालय पुगेको सुनिएको छ । कानुन मन्त्रालयको स्वीकृतिपछि मन्त्रिपरिषद्मा पेस हुनेछ । त्यहाँबाट निर्णय भएपछि मुद्दा फिर्ताले औपचारिकता पाउनेछ ।

गृह मन्त्रालय भन्छ– राय लिने काम मात्र भएको हो
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने मुद्दा फिर्ता प्रक्रिया अघि नबढेको दाबी गरे । राय लिनेसम्मको कार्य मात्र भएको उनको भनाइ छ । ‘प्रेम चलाउनेमाथि हमलामा संलग्नविरुद्धको मुद्दा फिर्ताका निम्ति प्रक्रिया अघि बढेजस्तो लाग्दैन । राय लिनेसम्मका काम भएका होलान् । त्यसबाहेक अरू काम भएको छैन,’ उनले भने । 

को–को थिए घटनामा संलग्न ?

उपप्राध्यापक चलाउनेमाथि भएको सांघातिक आक्रमणका मुख्य योजनाकार नेपाल विद्यार्थी संघ विश्वविद्यालय इकाइका अध्यक्ष हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावल हुन् । उनीहरूले परिचालन गरेका रूपेश साह, रविनकुमार लामा, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा आक्रमणमा संलग्न थिए ।

रूपेशले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको साबिती बयानमा यसको पुष्टि गरेका छन् । २० असोजमा उनीहरूले चलाउनेमाथि बाटो ढुकेर त्रिविपरिसरभित्रै सांघातिक आक्रमण गरेका थिए । २६ असोजमा उनीहरूविरुद्ध प्रहरीमा मुद्दा परेको थियो ।

आचार्य र रावल फरार भएका थिए भने अन्य पाँचजनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । जिल्ला अदालतले गत वर्ष थुनछेक बहसपछि सबैलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

६ महिनाको गम्भीर उपचारपछि बाँचेका प्रेम चलाउने भन्छन्–म पीडितविरुद्ध नै राज्य लाग्यो, न्याय माग्न अब कहाँ जाऊँ ?

दुई वर्षअघि ममाथि सांघातिक हमला भयो । ६ महिनाको गम्भीर उपचारपछि बल्ल बाँचेँ । घटनामा संलग्न अभियुक्त नेविसंघका नेता–कार्यकर्ता थिए । अनुसन्धान प्रभावित पार्न उनीहरू त्यसवेलैदेखि कम्मर कसेर लागेका हुन् । अदालतमा मुद्दा चल्यो । आशा थियो– उनीहरू पुर्पक्षका लागि जेल जानेछन् ।

तर, धरौटीमा छाडियो । मुद्दा चल्दै गर्दा सरकार परिवर्तन भयो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । त्यसलगत्तै मुद्दा फिर्ता गर्न मुख्य योजनाकार हरिप्रसाद आचार्य र योगेन्द्र रावल सक्रिय भए । गृह मन्त्रालयको दबाबपछि मुद्दा फिर्ता गर्न सकिने खालको राय जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै गृह मन्त्रालय पुग्यो ।

महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा फिर्ता गर्न सकिने राय गृहमा बुझाइसकेको छ । अब कानुन मन्त्रालयको स्वीकृति पर्खिएका छन् भन्ने सुनेको छु । कानुन मन्त्रालयले स्वीकृति दिनासाथ मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिने सूचना पाएको छु । पीडित म हुँ । राज्य मेरो अभिभावक हो । आशा थियो– मैले न्याय पाउनेछु । तर, मेराविरुद्ध राज्य नै लागेको छ । अपराधीको संरक्षणमा सबै संयन्त्र प्रयोग भएका छन् । न्याय माग्न म अब कहाँ जाऊँ ?

...                                                        ...

सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथिको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धका मुद्दा फिर्ता लिने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयको सकारात्मक रायपछि गृह मन्त्रालयले यसबारे कानुन मन्त्रालयलाई पत्राचार गरेको छ । कानुनले स्वीकृति दिएलगत्तै मन्त्रिपरिषद्बाट निर्णय गराएर मुद्दा फिर्ता लिने सरकारको योजना छ । 

नेपाल विद्यार्थी संघ विश्वविद्यालय इकाइ अध्यक्ष हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको योजनामा उपप्राध्यापक चलाउनेमाथि २० असोज ०७७ मा सांघातिक आक्रमण भएको थियो । जसमा रूपेश साह, रविन लामा, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझा पनि संलग्न थिए । २६ असोजमा उनीहरूविरुद्ध प्रहरीमा मुद्दा परेको थियो । आचार्य र रावल फरार भएका थिए भने अन्य पाँचजनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै आचार्य र रावल मुद्दा फिर्ताका लागि ‘लबिइङ’मा लगेका थिए । उनीहरूले पहल गरिदिन ५ माघ ०७८ मा कांग्रेसको काठमाडौं जिल्ला कार्यसमिति र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिमा पनि निवेदन दिएका थिए । त्यसलगत्तै कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयबाट मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएका थिए । 

गृह मन्त्रालयकै दबाबमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका निमित्त सहन्यायाधिवक्ता लक्ष्मण उपाध्याय, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख गोविन्दप्रसाद रिजालले अभियुक्तविरुद्धका मुद्दा फिर्ता गर्न सकिने भन्दै १२ माघ ०७८ मा गृहमा पत्र पठाएका थिए । पत्रमा उपप्राध्यापक चलाउनेमाथि आचार्य र रावलको योजनामा सांघातिक आक्रमण भएको, सोही कारण उनको शरीरमा गम्भीर चोट लागेको र शान्तिसुरक्षा कायम गर्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता गर्न लागिएको उल्लेख छ । 

तीनवटै निकायले गृहमा पेस गरेको पत्रमा भनिएको छ, ‘प्रतिवादीको कार्यबाट चलाउनेको जिउ–ज्यानमा गम्भीर असर परेको छ । विश्वविद्यालयको शिक्षा हासिल गर्ने र शान्तिसुरक्षामा गम्भीर असर परेको हुँदा अमनचयन कायम गर्न सार्वजनिक हित, शान्ति एवं व्यवस्थामा असर पर्न नदिन विश्वविद्यालयका पदाधिकारी, डिनको जिउ–ज्यान सुरक्षा भई निर्भीक र निर्भयतापूर्वक काम गर्न र अध्ययनरत विद्यार्थी र आमनागरिकमा सकारात्मक प्रभाव पर्ने हुँदा पीडितलाई राहत उपलब्ध गराई मुद्दा फिर्ता लिने प्रयोजनार्थ राय साथ निर्णयका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरियो ।’ पत्र प्राप्त भएको करिब दुई महिनापछि राय लिन गृहले महान्यायाधिक्ता कार्यालयमा पत्राचार गरेको थियो । 

जिल्ला अदालत काठमाडौंले गत वर्ष भएको थुनछेक बहसपछि घटनाका योजनाकार आचार्य र रावललाई जनही ५५–५५ हजार धरौटीमा छाड्ने आदेश गरेको छ । उनीहरू एकैपटक अदालतमा उपस्थित भएका थिए । त्यस्तै, घटनामा संलग्न रूपेश साह र रविनकुमार लामालाई जनही ५०–५० हजार, नीरज रानामगर र सयुज श्रेष्ठलाई जनही ३५–३५ हजार तथा दीपकराज जोशीलाई २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । 

उपप्राध्यापक चलाउनेले पीडितविरुद्ध नै राज्य लागेको बताए । ‘मुद्दा फिर्ता लिने सरकारको तयारीले मर्माहत बनाएको छ । पीडित म हुँ । राज्य मेरो अभिभावक हो । आशा थियो– मैले न्याय पाउनेछु । तर, त्यस्तो भएको मैले पाइनँ । मेराविरुद्ध राज्य नै लागेको छ । अपराधीको संरक्षणमा सबै संयन्त्र प्रयोग भएका छन् । न्याय माग्न म अब कहाँ जाऊँ ?’ उनले भने । 

यस्तो थियो घटना 
घटनामा संलग्नमध्येका एक रूपेश साहले प्रहरी र सरकारी वकिलको कार्यालयमा दिएको साबिती बयानअनुसार मुख्य योजनाकार नेविसंघ इकाइ अध्यक्ष हरिप्रसाद आचार्य हुन् । घटनामा संलग्न अभियुक्तसँग भएको पटक–पटकका टेलिफोन वार्ताले पनि त्यसको पुष्टि गर्छ । घटना हुनुअघि उनले आफ्नो मोबाइलबाट रूपेश, रावल र जोशीलाई पटक–पटक फोन गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले कुराकानीको सिडिआर (कल डिटेल रिपोर्ट)समेत अदालतमा पेस गरेको छ । 

साहको बयानअनुसार विश्वविद्यालयमा लगाइएको ताला तोडेपछि आचार्य उपप्राध्यापक चलाउनेसँग रुष्ट थिए । उनी कुनै हालतमा यसको बदला लिन चाहन्थे । यसका लागि उनले उपप्राध्यापक चलाउनेलाई हमला गर्ने योजना बनाए । सचिव योगेन्द्र रावललाई पनि त्यसमा सामेल गराए । आक्रमण गर्ने युवा जुटाउने जिम्मा उनले रावललाई नै दिए । परिआएका सबै समस्या हल गर्ने प्रतिबद्धतापछि रावलले युवा जुटाउन रूपेशलाई भने । रूपेशले रविनकुमार लामा, नीरज रानामगर, सयुस भनिने सयुज श्रेष्ठ र दीपकराज ओझालाई तयार गराए । त्यसपछि आक्रमण गर्न उपयुक्त ठाउँ र मौकाको खोजी सुरु भयो । 

उपप्राध्यापक चलाउने विश्वविद्यालयकै क्वार्टरमा बस्थे । क्वार्टरभन्दा करिब पाँच सय मिटर टाढा थियो, नेपाल बैंकको कार्यालय । उनी रकम झिक्न बैंकस्थित एटिएम बुथ वेलावेला गइरहन्थे । एटिएम बुथनजिकै झाडी थियो । त्यही बाटो भएर चलाउने क्वार्टर जान्थे । रावलसहितको टोलीले चलाउनेलाई सोही ठाउँमा हमला गर्ने योजना बनायो ।

योजनाअनुसार रूपेश र रविनले जंगलमा बाँसका लाठी लुकाएर राखेका थिए । चलाउनेको फोटो रावलमार्फत रूपेशसहितको टोलीले पाइसकेको थियो । उनीहरू मौका ढुकिरहेका थिए । यही क्रममा चलाउने २० असोज ०७७ को बिहान क्वार्टरबाट निस्किए । झाडीको बाटो हुँदै नेपाल बैंकको एटिएम बुथ पुगे । रकम झिकेर फर्कँदै गर्दा उनीमाथि आक्रमण भयो । बाँसको लाठी उनको खुट्टा, पिँडुला, ढाड, हात र टाउकामा अनवरत बर्सियो । चलाउने सडकमै ढले । रगताम्य उनी अचेत भए । कुटपिट गर्नेहरू फरार भए ।