मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार २०:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुक चाँडै प्राकृतिक विपतबाट प्रभावित हुन सक्ने गृहमन्त्रीको आकलन

‘भूकम्प प्रभावित क्षेत्रमा पहिरोका घटना बढ्न थाले’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार २०:००:००

गृहमन्त्री बालकृष्ण खाणले मुलुक प्राकृतिक विपतका घटनाका कारण चाँडै प्रभावित हुन सक्ने बताएका छन्। मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको भन्दै गृहमन्त्री खाणले बर्खामा मुलुक प्राकृतिक विपतबाट प्रभावित हुन सक्ने र प्रतिकार्यका लागि सरकार चनाखो रहेको बताए।

मंगलबार काठमाडौंमा आयायोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’मा गृहमन्त्री खाणले भने, ‘विपतलाई नदेखेजस्तो गरी टार्न सकिँदैन। यसको सामना गर्नैपर्छ। विपतकाे सामना, नागरिक तथा सम्पत्तिको रक्षा गर्नु आजको हाम्रो बाध्यता र यथार्थता दुवै हो।’

जल तथा मौसम विज्ञान विभागले सोमबार विशेष बुलेटिन जारी गरेर मनसुन सक्रिय बनेको र यसले केही दिन वर्षा गराउने बताइसकेको छ। वर्षाका कारण पूर्वी तराईमा बाढी र डुबानका घटना सार्वजनिक भइरहेका वेला गृहमन्त्री खाणको यस्तो भनाइ आएको हो। 

गृहमन्त्री खाणले भूकम्प प्रभावित क्षेत्रमा पहिरोका घटना बढ्न थालेको बताए। ‘पूर्वसूचना प्रणाली र प्रतिकार्यका कारण बाढीबाट ज्यान गुमाउनेको संख्या घटेको छ, तर पहिरोका घटना बढेका छन्। विशेष गरी ०७२ को भूकम्पपछि प्रभावित जिल्लामा यस्तो समस्या छ,’ उनले भने, ‘यसले जोखिम बढाएको छ। अहिले त जलवायु परिवर्तनले गर्दा अतिवृष्टि र अनावृष्टि भइरहेको छ। यो जोखिमलाई कसरी छुट्याउने ?’

प्राकृतिक विपतकाे जोखिम कम गर्न सरकारले छुट्टै निकाय (विपत् व्यवस्थापन प्राधिकरण) गठन गरेर सञ्चालनमा रहेको उल्लेख गर्दै उनले स्रोतसाधन पर्याप्त मात्रामा उपलब्ध गराइने प्रतिबद्धता जनाए।

कार्बन उत्सर्जनमा नेपालका भूमिका नगन्य रहेको र नेपाल, नेपालीको कारण वातावरण (पर्यावरण) बिग्रन नदिने उनले प्रतिबद्धता व्यक्त गरे  । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले विपतका घटना न्यूनीकरणका लागि सरकारले प्रतिकार्य योजना बनाएर कार्यान्वयमा लगिएको बताए  । उनले विपतसम्बन्धी इपोर्टललाई परिमार्जित गरी ल्याइने पनि बताए।