मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
यम बम काठमाडाैं
२०७९ असार १४ मंगलबार ०६:०७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशभर फैलियो मनसुनी वायु,  बिहीबारसम्म झरीको सम्भावना

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०६:०७:००

मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको आकलन गरेको छ । 

यस अवधिमा केही क्षेत्रमा भारी र अतिभारी वर्षासमेत हुन सक्ने भएकाले बाढीपहिरोको जोखिम रहेको चेतावनी दिएको छ । नेपालमा २२ जेठमा मनसुन भित्रिएकामा सोमबार सुदूरपश्चिम प्रदेशमा पनि फैलिएर देशभर सक्रिय बनेको छ । यही वेला मनसुनको न्यूनचापीय रेखा पनि मंगलबारदेखि बिहीबारसम्म तराई भूभागनजिक आइपुग्ने देखिएपछि विभागले झरी र भारी वर्षाको चेतावनी दिएको हो । 

मौसमविद् सजिना शाक्य भन्छिन्– 
मनसुनी वायु देशभर सक्रिय बनेको छ । मंगलबारदेखि मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभागमा रहने देखिन्छ । यसले मनसुन थप सक्रिय भई देशभर वर्षा तथा केही क्षेत्रमा भारी र अतिभारी वर्षा हुन सक्छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार मंगलबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनीका थोरै र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । ‘मनसुन सक्रिय भएकाले बाढीपहिरोको जोखिम बढेको छ, यस्तो अवस्थामा सचेत रहन जरुरी छ,’ उनले भनिन् । पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भनिएको छ भने ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ । 

मंगलबार राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा त धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ । बुधबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । ती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको पनि प्रक्षेपण विभागले गरेको छ । सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा पनि भारी वर्षाको सम्भावना छ । बिहीबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको आकलन गरिएको छ । थोरै स्थानमा भारी वर्षा पनि हुन सक्ने ठानिएको छ । 

झरी र भीषण वर्षाको सम्भावना कहाँ–कहाँ ? 

मंगलबार : देशभर वर्षाको सम्भावना । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने । राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना ।

बुधबार : प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही थानमा भारी र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना । सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा भारी वर्षाको सम्भावना ।

बिहीबार : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना । थोरै स्थानमा भारी वर्षाको प्रक्षेपण । 

(लगातारको वर्षालाई झरी भनिन्छ भने औसतमा प्रतिघन्टा एक सय मिलिमिटरभन्दा बढीको वर्षालाई भारी वर्षा भनिन्छ । तर, भारी वर्षाको परिभाषा भूगोल र स्थानअनुसार फरक छ ।)