मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
५१ केजी हेरोइनसहित पक्राउ परेका सात अफ्रिकन युवती । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ३ शुक्रबार ०६:५६:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक अर्बबराबरको लागुऔषधसहित सात दक्षिण अफ्रिकी महिला पक्राउ

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ३ शुक्रबार ०६:५६:००

दक्षिण अफ्रिकाको हेरोइन नेपाल हुँदै भारतमा 

गत ३ वैशाखमा दक्षिण अफ्रिकाबाट काठमाडौं आएकी जाम्बियन युवती कपुतुला अभिसाराङ सात केजी हेरोइनसहित पक्राउ परेपछि प्रहरी अधिकारीले निष्कर्ष निकाले– दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा ठूलो मात्रामा हेरोइन तस्करी भइरहेको छ । ५ भदौमा पनि दक्षिण अफ्रिकाबाट आएको दुई केजी नौ सय ६६ ग्राम हेरोइन बरामद भएको थियो । यिनै दुई घटनालाई आधार बनाएर लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी अनुसन्धानमा खटिँदा नेपाल प्रहरीले लागुऔषधसम्बन्धी अपराधको अनुसन्धानमा यो साता ऐतिहासिक सफलता पायो । एकै अप्रेसनमा एक अर्ब रुपैयाँभन्दा धेरै पर्ने ५१ केजी हेरोइनसहित सात अफ्रिकन युवतीलाई प्रहरीले पक्राउ गरेको छ । यो नेपाल प्रहरीको इतिहासमा त ठूलो सफलता हो नै, लागूऔषधविरुद्धको अप्रेसनमा विश्वमै ठूलो सफलता मानिएको छ । 

विगतका दुईवटा घटनाको क्राइम प्रोफाइलिङ गरेर अनुसन्धान गर्दा यो सफलता मिलेको ब्युरोका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए । ‘विश्वमै महँगो लागुऔषधमा यो अहिलेसम्मकै ठूलो बरामदी हो,’ उनले भने, ‘हाम्रो अप्रेसन अझै जारी नै छ, थप व्यक्तिहरू पक्राउ पर्ने सम्भावना छ ।’ 

पक्राउ परेका सातमध्ये दुईजना एकैपटक आएका थिए भने अन्य पाँचजना विभिन्न समयमा गरी पटक–पटक नेपाल आएको ब्युरोले जनाएको छ । उनीहरूलाई ठमेलस्थित होटेलबाट प्रहरीले पक्राउ गरेको हो । 

अप्रेसन ह्वाइट बस्ट नाम दिइएको यो अनुसन्धान प्रहरीले ३० र ३१ जेठमा गरेको थियो । सुरुमा सिबिसी थान्डीकिले र मुरेइ नासाम्बालाई ३० जेठको दिउँसो ठमेलको होटेलबाट १६ केजी सेतो हेरोइनसहित पक्राउ गरेको थियो । त्यही दिन बेलुका थाबालाला खान्यिलिले भोनी, रोहिसनी नोन्क्ली जान्टिजीलाई ८–८ केजी तथा मालाको मौरिन माथिबालाई ७ केजी हेरोइनसहित ठमेलका फरक–फरक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । 

त्यस्तै, ३१ जेठमा मोरोइसी सुजन कोफुलाई चार केजी सेतो हेरोइन तथा दुई केजी खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो भने त्यही दिन राति मालिसी बडेन्होर्सट ६ केजीसहित पक्राउ परेकी थिइन् । उनीहरू सबैले दक्षिण अफ्रिकाबाट फल्स बटन भएको सुटकेसमा हेरोइन लुकाएर ल्याएका थिए । विमानस्थलको चेकिङमा समेत थाहा नहुने गरी कालो प्लास्टिकले र्‍यापिङ गरेर हेरोइन सुटकेसभित्र फिट गरिएको थियो । 

पक्राउ परेका सातमध्ये ६ जना दुबई हुँदै तथा एकजना कतार ट्रान्जिट भएर नेपाल आएका थिए । ठमेलको होटेलमै सो लागुऔषध लिन भारतबाट गिरोहका अन्य व्यक्ति आउँदै थिए, तर उनीहरू पक्राउ परेको शंका लागेपछि भारतीय समूह होटेल पुगेन । ‘नेपालमा हेरोइनको त्यस्तो ठूलो माग छैन,’ एसपी श्रेष्ठ भन्छन्, ‘हाम्रो सूचनाअनुसार यो लागुऔषध भारत नै लैजान लागिएको देखिन्छ ।’ 

लागुऔषधसम्बन्धी अपराधको अनुसन्धानमा लामो समय बिताएका नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी हेमन्त मल्ल एकै अप्रेसनमा यति धेरै हेरोइन बरामद हुनु प्रहरीको ऐतिहासिक सफलता भएको बताउँछन् । ‘यो प्रहरीको इतिहासकै ठूलो उपलब्धि हो,’ उनी भन्छन्, ‘यसमा पक्कै संगठित गिरोह नै हुनुपर्छ, कोही नेपाली पनि मिलेका हुन सक्छन् ।’ 

खुला सीमाको दुरुपयोग 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा करिब एक वर्षदेखि नै सो समूहले भारतमा हेरोइन तस्करी गर्दै आएको देखिन्छ । ५ भदौ ०७८ मा पनि दक्षिण अफ्रिकाबाट नेपाल ल्याएर भारत लैजान लागिएको दुई केजी नौ सय ६६ ग्राम हेरोइन बरामद भएको थियो । त्यो पनि भारत नै लैजान ल्याइएको थियो । त्यस्तै, गत ३ वैशाखमा सात केजी हेरोइनसहित ब्युरोले जाम्बियन र भारतीयलाई पक्राउ गरेको थियो । हेरोइन लिएर आएका जाम्बियन तथा लिन आएका भारतीयलाई ब्युरोले पक्राउ गरेको हो । 

अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको माफिया समूहले नेपाल–भारत खुला सीमाको फाइदा उठाउन थालेको यो घटनाले देखाएको छ । दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा हेरोइन नेपाल ल्याएर सडकमार्ग हुँदै भारत तस्करी हुँदै आएको प्रहरीले जनाएको छ । 

भारतमा हेरोइन प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको त्यहाँ अनुसन्धानले देखाएका छन् । नयाँदिल्लीस्थित एम्स नेसनल ड्रग डिपेन्डेन्स ट्रिटमेन्ट सेन्टरका अनुसार सन् २०१८ मै त्यहाँ हेरोइन प्रयोगकर्ताको संख्या साढे दुई लाख पुगेको थियो । माग उच्च भएकाले यसरी अफ्रिकामा रहेको गिरोहले भारतमा तस्करी गर्न थालेको हो । खासगरी, कोभिड महामारीपछि दक्षिण अफ्रिकी देशबाट भारतमा लागुऔषध तस्करी बढेको छ । सन् २०२० मा भारतमा दक्षिण अफ्रिकाबाट आएको १० केजी हेरोइन बरामद भएकोमा २०२१ मा ५१ केजी बरामद भएको थियो । एक वर्षमा भारतले बरामद गरेबराबर हेरोइन नेपालमा एकैपटक बरामद भएको छ । दक्षिण अफ्रिकाबाट भारतमा हेरोइन तस्करी बढेपछि भारतको नार्काेटिक्स ब्युरो इन्डियाले दक्षिण अफ्रिकाका सुरक्षा निकायसँग यसविरुद्ध सहकार्य थालेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

राष्ट्रसंघीय निकायले प्रकाशन गरेको विश्व लागुऔषध रिपोर्ट २०२१ अनुसार पछिल्लो समय दक्षिण अफ्रिकासहितका अन्य अफ्रिकी देशमा हेरोइनका ‘हाइटेक अन्डरग्राउन्ड ल्याब’हरू बढिरहेका छन् । हेरोइन अफिमबाट बन्दछ । अफिम सबैभन्दा धेरै उत्पादन हुने देश मध्यपूर्व हो, त्यसमा पनि अफगानिस्तान पहिलो स्थानमा पर्दछ । अफ्रिकी देशमा अफिम उत्पादन कम हुन्छ । मध्यपूर्वबाटै अफ्रिका लगेर सो हेरोइन नेपाल ल्याइएको हुन सक्ने पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन् । ‘सुरक्षा निकायलाई शंका नहोस् भनेर यसरी मध्यपूर्वको हेरोइन दक्षिण अफ्रिका हुँदै ओसारपसार भएको हुन सक्छ,’ मल्ल भन्छन्, ‘यो उनीहकै पुरानो शैली हो ।’ नेपालमा पनि कतिपयले हेरोइन प्रयोग गर्दछन् । नेपालीमा लागुऔषध प्रयोगकर्ताले एक ग्राम हेरोइनकै २० हजार रुपैयाँसम्म तिर्ने गर्दछन् । सोही आधारमा प्रहरीले बरामद हेरोइनको मूल्य करिब एक अर्ब दुई करोड रहेको बताएको छ । 

डेलिभरी गर्लदेखि कुकसम्म 
पक्राउ परेका सातैजना युवती कमजोर आर्थिक अवस्थाका छन् । उनीहरू दक्षिण अफ्रिकामा सामान डेलिभरी गर्ने तथा कुकको काम गर्दै आएका थिए । पक्राउ परेकाहरूले घुम्न पनि पाइने र केही पैसा पनि पाइने प्रलोभनमा आफूहरू नेपाल आएको बताएका छन् । पक्राउ परेकामध्ये ४६ वर्षीया मुरेल यही वर्ष दुईपटक नेपाल आइसकेकी थिइन् । त्यो वेला पनि उनी लागुऔषध लिएर आएको हुन सक्ने प्रहरी आशंका छ । यसअघि उनी लागुऔषध ओसार्न सफल भएकाले यसपटक एकैपटक ठूलो परिमाणमा हेरोइन पठाएको हुन सक्ने प्रहरी आकलन छ । 

नाइके दक्षिण अफ्रिकामा, इन्टरपोलसँग सहकार्य हुँदै
विगतमा पक्राउ परेका दुई समूह अहिलेका व्यक्तिहरूलाई दक्षिण अफ्रिकामा रहेको एउटै गिरोहले परिचालन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । ‘यी सबै गिरोहका नाइके एकै हुन् भन्ने हाम्रो अनुसन्धानमा देखिएको छ,’ एसपी श्रेष्ठले भने, ‘उनीहरूमाथि थप अनुसन्धानका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग पनि सहकार्य गर्दछौँ ।’ गिरोहका नाइके डेभिड भन्ने खुलेको छ । पक्राउ परेका सातैजनालाई दक्षिण अफ्रिकाबाटै नेपालमा होटेल बुकिङ गराउँदै आएका थिए । उनीहरूलाई खर्चबापत एक हजार डलर दिइएको थियो । प्रहरीले कोहीसँग एक हजार त कोहीसँग सात सय डलर बरामद गरेको छ । 

हेरोइन बोकेर आएका युवतीहरू लिने व्यक्ति नआएपछि घुम्नसमेत निस्किएका थिए । एक महिला त घुम्नका लागि सिन्धुपाल्चोकको सुकुटेसम्म पुगिसकेकी थिइन् । एक सय ग्रामभन्दा धेरै हेरोइनको मुद्दामा १५ वर्षदेखि जन्मकैदसम्म सजाय हुन सक्ने प्रावधान छ ।

यसरी सफल भयो ‘अप्रेसन ह्वाइट डस्ट’ : एसपी जीवनकुमार श्रेष्ठ, प्रमुख, लागुऔषध नियन्त्रण ब्युरो
गत वर्ष भदौदेखि नै यो अप्रेसनको तयारी भएको थियो । त्यतिवेला दक्षिण अफ्रिकाबाट आएको दुई केजी नौ सय ६६ ग्राम हेरोइन बरामद भएको थियो । गत वैशाख ३ गते दक्षिण अफ्रिकाबाटै आएको सात केजी बरामद भयो ।

दुई घटनाको क्रिमिनल/क्राइम प्रोफाइलिङ गर्‍यौँ । त्यो भनेको कस्ता मान्छे यसमा संलग्न छन्, कसरी तस्करी भइरहेको छ र कुन रुट प्रयोग भइरहेको छ भनेर हेर्ने हो । एकै व्यक्ति सन् २०२२ मा तीन पटकसम्म नेपाल आएको देखियो, त्यो पनि एक्लै । तिनका गतिविधि पनि शंकास्पद लागेपछि निरन्तर त्यस्ता व्यक्तिलाई निगरानी गर्दा अहिले सातजना पक्राउ गर्न सफल भएका हौँ ।

उनीहरूबाट यति धेरै हेरोइन बरामद होला भन्नेचाहिँ लागेको थिएन । तर, टिमले गरेको मिहिनेतअनुसार अहिलेसम्मको ठूलो सफलता पाएका छौँ । यसमा हाम्रो अप्रेसन अझै चलिरहेको छ ।