
आगो लगाएर महिलाको हत्यापछि फरार रहेका शैल्यशिखर नगरपालिका– १ का भोजबहादुर खडायत बैतडीबाट फक्राउ परेका छन् । बुधबार बिहान शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर हत्या गरेको आरोपमा खडायतलाई बैतडी प्रहरीले खाड्पे क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका खडायतलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइँदै छ । यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको डिएसपी प्रतीक विष्टले जानकारी दिए ।
बिहीबार पक्राउ परेका भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सेक्युरिटी गार्ड हुन् । यस्तै वीरेन्द्र नेकपा माओवादी केन्द्र शैल्यशिखर नगर कमिटी उपाध्यक्षसमेत हुन् । हत्यामा संग्लन रहेकामाथि पीडित परिवारले किटानी जाहेरीसमेत दिएको डिएसपी विष्टले बताए । स्थानीयले अनिभाको बलात्कारपछि हत्या भएको आशंका गरेका छन् । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको डिएसपी विष्टले बताए । शवको पोस्टमार्टम आजै गर्ने तयारी छ ।