
नेपाली यू–१९ महिला क्रिकेट टोलीको विश्वकप खेल्ने सपना पूरा हुन सकेन । मलेसियामा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मंगलबार थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना पूरा नभएको भएको हो । छनोट खेलमा दोस्रो हारसँगै नेपालको शीर्ष स्थानमा उक्लेन सबै मौका समाप्त भएको छ ।
पहिलो ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा सात विकेट गुमाएर ८९ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपाल १९.५ ओभरमा ४० रनमा अल आउट भयो । नेपालकी सृष्टि जैशीले सर्वाधिक सात रन बनाइन् । उनले २१ बलको सामना गरिन । साना प्रवीनले २१ बलमा ६ रन जोडिन् । थाइल्यान्डकी नथिता बुनसुखमले चार ओभरमा नौ रन खर्चेर तीन विकेट लिइन् । उनले एक मेडन ओभर पनि गरिन् । ओभल बांगी मैदानमा पहिलो ब्याटिङ गरेको थाइल्यान्डकी पुथावाङले सर्वाधिक २० रन बनाइन् । उनले ३१ बलको सामना गरेकी थिइन् । ओपनर लिफथानाले २२ बलमा १९ रन बटुलिन् । उनले एक चौका प्रहार गरेकी थिइन् ।
नेपालकी स्पिनर मनीषा उपाध्यायले चार ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । कप्तान कृतिका मरासिनीले १५ रन खर्चेर दुई विकेट हात पारिन् । यसअघि नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा नेपाल युएईसँग आठ रनमै अलआउट भयो । युएईले नेपाललाई १० विकेटले पराजित भर्यो । तेस्रो खेलमा नेपालले भुटानलाई चार विकेटले पराजित गर्यो । नेपालले बिहीबार आफ्नो अन्तिम खेल मलेसियासँग खेल्नेछ । बिहीबार नै युएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।