
समाजमा देखिएका समस्या समाधान खोज्न र समाजलाई सही मार्गनिर्देश गर्न वेलावेलामा विभिन्न अभियान चलाइन्छन् । धूमपानविरुद्धको अभियान, प्लास्टिकजन्य पदार्थको प्रयोगमा निषेध गर्ने अभियान, सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अभियान, विद्यालय भर्ना अभियान, महिला हिंसाविरुद्धको अभियान, डढेलो नियन्त्रण अभियानलगायत दर्जनौँ अभियान लामो समयदेखि चलिरहेका छन् । यस्ता अभियानमध्ये खाँचो छ अब– डिजिटल साक्षरता अभियानको ।
विद्युतीय माध्यम र इन्टरनेट सेवाले मानव जीवनशैलीमा धेरै परिवर्तन जसरी ल्याएको छ, त्यसरी नै अनेक समस्या पनि उत्पन्न गराएको छ । ती समस्या समाधानका लागि दीर्घकालीन र सबैभन्दा प्रभावकारी उपाय भनेकै डिजिटल साक्षरता अभियान हो । यस अभियानअन्तर्गत नागरिकलाई डिजिटल माध्यम प्रयोग गर्दा ध्यान दिनुपर्ने विषय सिकाउनुपर्छ । प्रयोग गर्न नजान्दा कतै आफूले अपराध गरिरहेको पनि हुन सक्छ भने कतै आफू अपराधको सिकार भइरहेको पनि हुन सक्छ भन्नेबारे आमनागरिकलाई सचेत गराउन आवश्यक छ । इन्टरनेटको सदुपयोग हुनुको सट्टा दुरुपयोग बढेकाले यसमार्फत हुने अपराध दिन–प्रतिदिन बढ्दै गइरहेको छ । नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले हरेक बर्ष इन्टरनेटसम्बन्धी आपराधिक घटना वृद्धि हुँदै गएको देखाएको छ । आफूहरूसँग उजुरी दिएकाहरूको मात्रै विवरण हुने भएकाले उजुरी नै नपरेका आपराधिक घटनाको संख्या अत्यन्त धेरै रहेको ब्युरोको दाबी छ । त्यसैले यसको तीव्र वृद्धिसँगै त्यसलाई न्यूनीकरण गर्ने प्रयास पनि तत्काल थाल्नुपर्ने देखिन्छ । त्यसको मुख्य उपाय भनेकै डिजिटल साक्षरता हो ।
आमनागरिक नै डिजिटल माध्यमबाट भइरहेका अपराधमा पीडित वा पीडकका रूपमा संलग्न हुने भएकाले डिजिटल साक्षरता अभियान पनि आमनागरिकसम्मै पुग्ने गरी चलाउनुपर्छ । अभियानमा सर्वपक्षीय संलग्नता र सक्रियता आवश्यक हुन्छ । डिजिटल साक्षरता अभियानका लागि परिचालन गर्न सकिने केही माध्यम तथा संरचना निम्नानुसार हुन सक्छन् :
सञ्चार–माध्यम : कुनै पनि सचेतनामूलक अभियानका लागि सबैभन्दा बढी प्रभावकारी र उपयोगी माध्यम सञ्चार–माध्यम नै हुन् । सञ्चार–माध्यममार्फत अभियानसम्बन्धी सूचना तथा सन्देश प्रवाह गर्नुपर्छ । साइबर अपराधका स्वरूप, उजुरीको प्रक्रिया, कानुनी व्यवस्था तथा दण्ड सजायबारे रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामार्फत सूचना तथा सन्देश, कार्यक्रम, समाचार र लेख रचना प्रसारण तथा प्रकाशन गरेर साइबर सुरक्षाबारे जानकारी गराउन सकिन्छ । त्यसबाहेक डिजिटलसम्बन्धी विषय भएकाले डिजिटल माध्यमलाई नै अत्यधिक प्रयोग गर्नु अझ प्रभावकारी हुन्छ । त्यसैले फेसबुक, ट्विटर, टिकटक, अनलाइन, युट्युबलगायत माध्यममा यससम्बन्धी सूचना, सन्देश तथा समाचारमूलक कार्यक्रम प्रवाह गर्नु उपयुक्त हुन्छ ।
शैक्षिक संस्थाको उपयोगिता : साक्षरता अभियान भन्नु नै सिक्ने र सिकाउने अभियान हो । त्यसको मुख्य मर्म शैक्षिक संस्थाहरूसँग मिल्छ । त्यसैले डिजिटल माध्यमको प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयबारे सुरुमा शिक्षकलाई जानकारी दिने अनि उनीहरूले विद्यार्थीलाई सिकाउने र विद्यार्थीले अविभावकलाई सिकाउने उपाय सबैभन्दा प्रभावकारी हुन सक्छ । यसबाट एउटै माध्यमले डिजिटल साक्षरता घर–घरमा पुग्छ ।
पाठ्यक्रममा राख्ने : डिजिटल माध्यममा हुने आपराधिक घटनाबारे बाल्यावस्थादेखि नै जानकारी हुनुपर्ने भएकाले बालबालिकालाई पाठ्यक्रमबाट समेत यसबारे जानकारी गराउनु प्रभावकारी हुन्छ । मोबाइल वा टिभी हेर्दै, खाना खाँदै हुर्किएको शिशुलाई डिजिटल साक्षरता पनि त्यहीँबाट सुरु गर्नुपर्छ । त्यसका लागि शिक्षण सिकाइ सामग्रीमा यसलाई समेट्नुपर्छ ।
विद्युतीय माध्यम र इन्टरनेट सेवाले मानव जीवनशैलीमा धेरै परिवर्तन ल्याएजसरी नै अनेक समस्या पनि उत्पन्न गराइरहेको हुनाले ‘डिजिटल साक्षरता अभियान’मार्फत नागरिकलाई डिजिटल माध्यम प्रयोग गर्न सिकाउनुपर्छ
सरकारका हरेक कार्यक्रममा समावेश : डिजिटल साक्षरताको विषयलाई सरकारका हरेक कार्यक्रममा घुसाउनुपर्छ । सरकारी तवरबाट आयोजना गरिने अधिकांश सार्वजनिक तथा सामूहिक कार्यक्रममा यसबारे जानकारी दिने वा चर्चा गर्ने अभियान निकै चाँडो धेरै नागरिकसम्म पुग्छ । विशेषगरी महिला, बालबालिका, वृद्धवृद्धा र युवायुवतीलक्षित कार्यक्रममा यस विषयलाई समेट्न सकियो भने लक्षित वर्ग लाभान्वित हुनेछ ।
गृह मन्त्रालयमातहत कार्यक्रम सञ्चालन : डिजिटल माध्यमबाट हुने अपराध अन्ततः ठोक्किने प्रहरीमै हो । त्यसैले गृह मन्त्रालयमातहतका सबै प्रहरी कार्यालयबाट यसबारे सूचना तथा सन्देश प्रवाह गर्नुपर्छ । त्यसका लागि सबै प्रहरी कार्यालयमा यससम्बन्धी जानकारीमूलक सामग्री राख्ने, सेवाग्राहीलाई वितरण गर्ने, प्रहरीले जानकारी गराउने, सचेतनामूलक कार्यक्रम गराउनेलगायत कार्य गर्न सकिन्छ ।
हटलाइनको व्यवस्था : डिजिटल अपराधसम्बन्धी उजुरी तथा गुनासो गर्न, जानकारी लिन हटलाइन फोन सेवा सञ्चालन गर्नुपर्छ । त्यसका लागि फोनकर्ताको पैसा नलाग्ने छुट्टै फोन सेवा भए धेरै राम्रो हुन्छ । नभए अहिले प्रहरीले प्रयोग गर्दै आएको फोनमै पनि यसबारे जानकारी लिन–दिन सकिन्छ ।
सञ्चार मन्त्रालयको सक्रियता : डिजिटल माध्यम आफैँमा सञ्चार मन्त्रालयको विभागीय विषय भएकाले मन्त्रालयले यसका लागि मातहतका निकायलाई परिचालन गर्न सक्छ । त्यसका लागि सबैभन्दा बढी प्रभावकारी प्रेस काउन्सिल हुन सक्छ । काउन्सिलले यससम्बन्धी प्रशिक्षण, नियमनलगायत काम गर्न सक्छ । त्यसैगरी, सूचना विभागले पनि सचेतनामूलक सामग्री उत्पादन, वितरण, प्रकाशन, प्रसारण, प्रशिक्षणलगायत कामको नेतृत्व गर्नुपर्छ । त्यसबाहेक गाउँ–गाउँसम्मका हुलाक कार्यालयले पनि आफ्नो सेवा प्रदायक क्षेत्रका बासिन्दालाई डिजिटल साक्षरताबारे जानकारी गराउने, घचघच्याउने र समस्यामा परेकालाई सहयोग गर्ने वा बाटो देखाउने काम गर्न सक्छ ।
बार र पत्रकार महासंघको अभियान : वकिल र पत्रकारहरू विभिन्न कारणले पीडित र आम नागरिकको सम्पर्कमा रहन्छन् । वकिल र पत्रकारलाई यसबारे पर्याप्त जानकारी गराउने र आम नागरिकलाई सुसूचित गर्न प्रेरित गर्ने हो भने धेरै नागरिकले यस विषयमा जानकारी पाउने थिए । डिजिटल माध्यमबाट कुनै समस्या भएमा आमनागरिकले सामान्यतः सञ्चारकर्मी, सञ्चार प्राविधिक र कानुन व्यवसायीलाई सोध्ने गर्छन् । उनीहरूले सोध्दा भरपर्दो जवाफ दिन र उपचारका उपाय सिकाउन वकिल र पत्रकारले सके भने धेरै नागरिकले चाँडै समाधान पाउनेछन् ।
पत्रकार र वकिललाई यसमा सक्रिय बनाउन नेपाल पत्रकार महासंघ र नेपाल बार एसोसिएसनले देशव्यापी अभियान घोषणा गर्नुपर्छ । साथै, डिजिटल अपराधबाट पीडितलाई महासंघ र बारले निःशुल्क तथा सहुलियतपूर्ण सेवाको व्यवस्थासमेत गरिदिए भने पीडा दबाएर बसेका पीडित सक्रिय हुने थिए । उनीहरूबाट अरूले पनि यससम्बन्धी शिक्षा लिने थिए र समाजमा डिजिटल साक्षरता प्राप्त नागरिकको संख्या बढ्ने र डिजिटल अपराध घट्नेछ ।