
सन् २०२६ को फिफा विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दै छन् । उत्तर अमेरिकी देशमा आयोजना हुने विश्वकपमा लागि विश्वभर छनोट प्रक्रिया चलिरहेको छ । क्लबहरूको सिजनका खेल सकिएसँगै अहिले विश्वकप छनोटका खेल चलिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले पहिलोपटक विश्वकपमा ४८ राष्ट्रलाई सहभागी गराउँदै छ । यसअघि ३२ राष्ट्रले विश्वकप खेल्दै आएका थिए । फिफाको यो निर्णयसँगै आगामी विश्वकपमा धेरै नयाँ राष्ट्र देखिने पक्कापक्की छ । हालसम्म डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासहित १० टिम विश्वकपमा स्थान बनाएका छन् ।
त्यसमध्ये एसियाबाट मात्रै पाँच टोलीको टुंगो लाग्यो । एसियाबाट नै जोर्डन र उज्वेकिस्तानले विश्वकपमा डेब्यु गर्ने पक्का भयो । आयोजक अमेरिका, मेक्सिको र क्यानडा सीधै विश्वकपमा छनोट भइसक्दा एसियाली महारथी जापान छनोट हुने पहिलो टोली बन्यो ।
ओसिएन प्यासिफिक फुटबल कन्फेडेरेसनबाट एक मात्रै टोलीको रूपमा न्युजिल्यान्डले सीधै विश्वकपमा स्थान बनाइसकेको छ । विश्वकपमा स्थान बनाउन राष्ट्रहरूमा इरान, अर्जेन्टिना, उज्वेकिस्तान, दक्षिण कोरिया र जोर्डन छनोट भएका हुन् । विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्र, अफ्रिकाबाट ९, एसियाबाट ८, उत्तर अमेरिका र अक्षिण अमेरिकाबाट समान ६, एक ओसियन प्यासिफिक तथा दुई प्लेअफ गरी जम्मा ४८ राष्ट्र सहभागी हुनेछन् ।
यसबाहेक एक टिमले अन्तरमहादेशीय छनोटबाट पनि स्थान बनाउन सक्नेछन् । युएई, कतार, इराक, ओमान, प्यालेस्टाइन, अस्ट्रेलिया, साउदी अरेबियामध्ये तीन टिम विश्वकपमा स्थान बनाउन सक्नेछन् ।
उज्वेकिस्तान : पूर्वखेलाडी तिमुर कापाडजेको प्रशिक्षणमा उज्वेकिस्तानले ऐतिहासिक प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको छ । टोली पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भयो । उज्वेकिस्तान विश्वकपमा स्थान बनाउने तेस्रो एसियाली राष्ट्र बन्यो । टोलीमा युरोपियन टोली म्यानचेस्टर सिटीबाट खेलेको रक्षक अब्दुकोडिर खुसानोभसँगै इटालियन क्लब रोमाबाट खेलेका इल्दोर सोमुरोदोभ रहेका छन् । अधिकांश खेलाडी भने एसियाली लिग नै खेलेका छन् । समूह ‘ए’मा रहेको उज्वेकिस्तान नौ खेलमा पाँच जितपछि १८ अंक जोडेर दोस्रो स्थानमा रहेको हो । पहिलो स्थानमा रहँदै इरान यही समूहबाट विश्वकपमा स्थान बनाइसकेको छ । यो समूहमा युएई र कतारको सम्भावना बाँकी रहँदा किर्गिस्तान र उत्तर कोरियाको सम्भावना सकियो ।
जोर्डन : जोर्डन इतिहासमा पहिलोपटक विश्वकप खेल्नका लागि छनोट भएको छ । फिफा वरीयतामा ६२औँ स्थानमा रहेको जोर्डनले यसपटक चामत्कारिक प्रदर्शन गर्यो । नौमध्ये चार खेल जित्यो । त्यसो त समूह ‘बी’मा रहेका इराक, ओमान, प्यालेस्टाइन र कुवेतले स्वाभाविक खेल प्रदर्शन गर्न सकेनन् । जोर्डनले नौ खेलबाट १६ अंक जोड्दै एक खेलअघि नै विश्वकप स्थान पक्का गरेको हो । जोर्डन दोस्रो स्थानमा रहँदा १९ अंकसहित दक्षिण कोरिया शीर्ष स्थानमा रहेको हो । जोर्डनका २५ वर्षीय स्ट्राइकर अली ओल्वानले एसियाली छनोटमा नौ गोल गरेका छन् । उनी मलेसियन लिग खेल्ने गर्छन् । जोर्डनका अधिकांश खेलाडीहरू मलेसिया, युएई र कतारी लिग खेल्दै आएका छन् । जोर्डनका याजन अल नाइमत र फाबिओ लिमाले समान आठ गोल गरिसकेका छन् । त्यस्तै, मुसा अल तामारीलको नाममा सात गोल रहेको छ ।
दक्षिण कोरिया : कप्तान सन हुङ मिनका लागि यो सिजन निकै फलदायी रह्यो । उनको कप्तानीमा टोटनह्याम पहिलोपटक युुरोप लिग च्याम्पियन भएको छ । यस्तै, सनले दक्षिण कोरियालाई पनि आगामी विश्वकपका लागि स्थान सुरक्षित गरेका छन् । एसियाली छनोटको तेस्रो चरणमा उनले १० गोल गरेका छन् । यसअघि दक्षिण कोरिया ११ पटक विश्वकपमा स्थान बनाइसकेको छ । कोरिया एसियाबाट धेरैपटक विश्वकप खेल्ने पहिलो टोली हो । कोरियापछि जापानले सातपटक विश्वकप खेलिसकेको छ । समूह ‘बी’बाट नौमध्ये पाँच खेल जितेको कोरियाले १९ अंक जोडेको छ । यही समहूबाट जोर्डन पनि छनोट भइसकेको हो । कोरियाली टिममा युरोपेली चर्चित लिग खेलेका खेलाडीको संख्या धेरै रहेको छ ।
इरान : इरान एसियाबाट विश्वकपमा स्थान बनाउने दोस्रो टोली बनेको थियो । लगातार चौथोपटक विश्वकपमा स्थान बनाउँदा इरानले समूह ‘ए’मा नौ खेलबाट २० अंक जोडेको छ । यसअघि टोलीले ६ पटक विश्वकप खेलिसकेको छ । दोस्रो स्थानमा रहेको उज्वेकिस्तान पनि १८ अंकसहित विश्वकपमा स्थान बनाइसक्यो । इरानले नौमध्ये ६ खेल जित्दा दुई बराबरी गरेको छ । एक खेलमा पराजित भयो । यसक्रममा १६ गोल गर्दा आठ गोल व्यहोरेको छ । इरानका मेहदी तारेमीले छनोट खेलमा नौ गोल गरेका छन् । उनी इटालियन क्लब इन्टर मिलानबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । १२ गोलसहित कतारका अल्मोइज अली उच्च गोलकर्ताको दौडमा छन् । इरानका सरदार अज्मोउनले नौ तथा मोहम्मद मोहेबीले ६ गोल गरेका छन् ।
जापान : एसियाबाट विश्वकपमा स्थान बनाउने पहिलो टोली बन्यो जापान । तेस्रो चरणको छनोटको समूह ‘सी’मा रहेको जापानले नौ खेलबाट २० अंक जोड्यो । उसले नौ मध्ये ६ खेल जित्दा दुई खेल बराबरी खेल्यो र एक खेलमा हार व्यहोर्यो । २४ गोल गर्दा जम्मा तीन गोल मात्रै खाएको छ ।
जापानले अन्तिम खेलमा इन्डोनेसियासँग खेल्नेछ । जापानले एक मात्रै हार अस्ट्रेलियासँग व्यहोरेको थियो । अब, यस समूहबाट अस्ट्रेलिया र साउदी अरेबियाको सम्भावना कायम छ । अन्तिम खेलमा यी दुई टोली नै भिड्दै छन् । जेद्दाहमा खेल बराबरी गरे पनि अस्ट्रेलिया सोझै विश्वकपमा स्थान बनाउनेछ । यो समूहबाट इन्डोनेसियाको पनि सम्भावना रहँदा बहराइन र चीनको सम्भावना सकिएको छ ।