
विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडाैंमा एक विशेष साइक्लिङ भेलाको आयोजना हुने भएको छ । शनिबार दरबारमार्गमा साइकल तथा प्रकृतिप्रेमी सम्मिलित भेलालाई उपत्यकाका नगरप्रमुख तथा विज्ञहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
साइकल संस्कृति अभियानका संयोजक डा. तारालाल श्रेष्ठले विज्ञप्ति जारी गर्दै विभिन्न साइकल समूह, संघसंस्था तथा समुदायको सहकार्यमा आयोजित कार्यक्रमको सुरुवात पाटन दरबार स्क्वायर ललितपुरबाट साइक्लिस्टहरूको जमघट हुने जनाएका छन् । बिहान ७: ३० बजेदेखि साइकल र्याली पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, सुनधाराबाट अघि बढेर दरबारमार्गमा बिहान ८ बजेदेखि सभामा परिणत हुनेछ । पैदल सडक प्रयोगकर्ता, सार्वजनिक सवारीसाधन प्रयोगकर्ता तथा आमनागरिकसमेत कार्यक्रममा सहभागी हुनेछन् ।
नेपालमा अत्यधिक निजी सवारीसाधन, इन्धनको खपत, धुवाधुलो, वायु प्रदुषण , व्यापार घाटा बढ्दै गइरहेको भन्दै देशका सम्पदा सहरहरूलाई साइकल तथा पैदलमैत्री दिगो सहरका रूपमा विकास गर्न सार्वजनिक प्रतिबद्धताको शुभारम्भ स्वरूप यो कार्यक्रम आयोजना गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ ।