मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोटरसाइकल चोरीमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर : नयाँ पत्रिका 
२०७९ जेठ १९ बिहीबार १८:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरी : एउटा गिरोह पक्राउ पर्छ, अर्को जन्मिन्छ

Read Time : > 1 मिनेट
२०७९ जेठ १९ बिहीबार १८:४७:००

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पक्राउ गर्छ । गिरोह नै पक्राउ गरेकाले अब मोटरसाइकल चोरीका घटना नहुने दाबी गर्छ । तर, पक्राउ गरेको गिरोहले सजाय कटाई नसक्दै अर्को गिरोह सक्रिय भइसक्छ । 

झापाका ठूला सहरमा मोटरसाइकल हराएर सर्वसाधरण हैरान छन् । ‘एउटा गिरोह पक्राउ गरेपछि मोटरसाइकल चोरी रोकिएला कि भन्ने थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठक भन्छन्, ‘तर, नयाँ समूह सिर्जना भइहाल्छ । पक्राउ गरेका कारागारमा हुँदै अर्को समूह सक्रिय भएको पाएका छौँ ।’

ग्यारेज सञ्चालनको नाममा चोरीका मोटरसाइकल बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, अनारमनीले मोटरसाइकल चोरीमा संलग्न आठजनालाई पक्राउ गरेको हो । तर अझै पनि मोटरसाइकल चोरीका घटना कम भएका छैनन् । पक्राउ परेकाहरूले चोरीका मोटरसाइकल बिक्रीका लागि ग्यारेज नै खोलेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताए । 

पक्राउ पर्नेमा दुई नाबालक पनि छन् । उनीहरूबाट चोरीका १२ वटा मोटरसाइकल पनि फेला परेको उनले बताए । पक्राउ पर्नेमा बिर्तामोड– ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड– ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मियाँ, सप्तरी टिकुली–५ का २७ वर्षीय करण महम्मद, गौरीगन्ज–५ का १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र दुई नाबालक रहेको प्रहरीले जनाएको छ । करण महम्मदले चोरीका मोटरसाइकल बिक्री गर्न अर्जुनधारा–८ मा ग्यारेज नै सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । 

ग्यारेजमा नम्बर प्लेट परिवर्तन र मोटरसाइकल मोडिफाई गरिने गरेको खुलेको डिएसपी कुँवरले जानकारी दिए । ‘ग्यारेज सञ्चालन गरेर चोरीको मोटरसाइकल विक्रीको काम हुँदो रहेछ । बाहिरबाट सटर लगाएर बन्द भएजस्तो गर्ने भित्र चोरीका मोटरसाइकल मोडिफाई र नम्बर प्लेट बनाइने काम हुँदो रहेछ,’ डिएसपी कुँवरले भने, ‘यी सबै एउटै गिरोहका हुन् । करणले नै मोटरसाइकल चोरी गर्न सिकाउँदा रहेछन् । मोटरसाइकल भएको ठाउँबाट ३० सेकेन्डमा चोर्न सफल हुने रहेछन् । एक घण्टामा त मोटरसाइकलको स्वरूप परिवर्तन नै हुँदो रहेछ ।’

चोरीमा संलग्नले रातको १२ बजेदेखि २ बजेबीचमा मोटरसाइकल चोरी गर्ने गरेको डिएसपी कुँवरले बताए । चोरीमा संलग्न विगतमा पनि पक्राउ परेका रहेको उनले बताए । ‘उनीहरू विगतमा पनि पक्राउ परेका छन् । पहिला दुले चोर रहेछन्,’ उनी भन्छन्, ‘अहिले स्तरवृद्धि भएर बाइक चोर भएका रहेछन् ।’

केही दिनअघि इलाका प्रहरी कार्यालय दमकले पनि मोटरसाइकल चोरीमा संलग्न दुईजना र उनीहरूबाट चारवटा चोरीका मोटरसाइकल फेला पारेको थियो । ती मोटरसाइकल पाँचथरबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी पाठकले जानकारी दिए ।

‘मोटरसाइकल तराईमा चोरेर पहाड पुर्याउने गरेको पाइयो । सहरमा चोरी भएका मोटरसाइकल गाउँमा बिक्री गर्ने गरेको खुलेको छ,’ उनले भने, ‘जहाँ प्रहरीको पहुँच कम छ । त्यहाँ प्रहरी चेकिङ पनि हुँदैन । त्यस्तो ठाउँमा लगेर बिक्री गर्ने गरेको पाइएको छ ।’