निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ भदौ २ बिहीबार
  • Thursday, 18 August, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार २१:२२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचनकाे सम्पूर्ण प्रकृया बुझाउन माेक्षदा स्कुलमा मतदानबाट छानिए विद्यार्थी नेता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १७ मंगलबार २१:२२:००

गणतन्त्र दिवसका दिन कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी थिएटरमा पुग्दा एउटा बिल्कुलै फरक माहोल देखिन्थ्यो । हलको एउटा कुनामा स्कुलका दुईवटा फ्लेक्स ठड्याइएका थिए । फ्लेक्सको अगाडि दुईवटा बन्द बाकस राखिएका थिए । बाकसको बाहिर लेखिएको थियो— मोक्षदा निर्वाचन २०७९, मत पेटिका । 

हलको दुईतिर लामबद्ध विद्यार्थी उभिएका थिए । दुवैतिर मतपत्र लिएर दुई मतदान अधिकृत सुरेश चन्द र अञ्जली खनाल बसेका थिए । केही विद्यार्थी सुरक्षाकर्मीको भूमिकामा देखिन्थे । कोही मतदाता नामावलीमा विद्यार्थीको नाम खोज्दै थिए भने कोही नाम भेटिएका विद्यार्थीको नङमा मसी लगाउँदै थिए । मतदान अधिकृतबाट हस्ताक्षर भएको मतपत्र लिइसकेपछि मतदाता विद्यार्थीले गोप्य स्थानमा गएर आफूले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाए । मतपत्र पट्याए र मतपेटिकामा ल्याएर खसाए । 

मोक्षदा स्कुलका विद्यार्थीले यसैगरी निर्वाचनको पूर्ण प्रक्रिया पालना गरी हरेक वर्ष आफ्ना प्रतिनिधि छनोट गर्दै आएका छन् । यस वर्ष पनि विद्यार्थीले सय रुपैयाँ धरौटी राखेर एक एक जना प्रस्तावक र समर्थकसहित मनोनयन पत्र दर्ता गराए । दाबीविरोधको समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित भयो । प्रकाशित नामावलीअनुसार स्कुल क्याप्टेन पदमा ४ र भाइस क्याप्टेन पदमा ३ जनाको उम्मेदवारी पr/यो । त्यसैगरी, नीलगिरी सदनका क्याप्टेन र भाइस क्याप्टेन पदमा दुई दुई जनाले उम्मेदवारी दिए । अपी सदनबाट क्याप्टेनमा तीनजना र भाइस क्याप्टेनमा दुईजनाको उम्मेदवारी परेको थियो । त्यसैगरी माछापुच्छ्रे सदनबाट क्याप्टेन र भाइस क्याप्टेन पदमा दुई /दुई जनाको उम्मेदवारी परेको थियो भने मनास्लु सदनबाट क्याप्टेनमा चारजना र भाइस क्याप्टेनमा दुईजनाले उम्मेदवारी दिएका थिए । 

उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएपछि मुख्य निर्वाचन अधिकृत लेखनाथ दाहालले उनीहरूलाई निर्वाचन चिह्न प्रदान गरे । उम्मेदवारहरूले कक्षा ४ देखि १० सम्मका कक्षामै गएर विद्यार्थी हकहितसँग सम्बन्धित आआफ्ना एजेन्डासहित मत मागे । मुख्य निर्वाचन अधिकृत दाहालले सबै कक्षामा गएर विद्यार्थीलाई आफूले चाहेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाएर मत हाल्ने तरिकाबारे जानकारी गराए । शुक्रबार साँझ ६ बजेपछि मौन समय सुरु भयो । मौन समयमा प्रचार प्रसार गर्न पूर्णतः रोक लगाइयो । 

आइतबार सम्पन्न निर्वाचनमा कुल १ सय ६५ मध्ये १५३ मतदाता विद्यार्थीले मतदान गरे । स्कुल क्याप्टेन र भाइस क्याप्टेनका लागि भएको मतदानमा कुल ७ मत बदर भए । कक्षा १० का आर्यन चन्द ७१ मतका साथ स्कुल क्याप्टेनमा विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी सुदीप मगरले ४५ मत प्राप्त गरे । त्यसैगरी स्कुल भाइस क्याप्टेन पदमा ६४ मतका साथ कक्षा १० की डिम्पल डिसी विजयी भइन् । उनका निटकतम प्रतिस्पर्धी सुजन कटवालले ४७ मत प्राप्त गरे । 

सदन प्रमुखहरूमा नीलगिरि सदनबाट सोनिमा श्रेष्ठ र भाइस क्याप्टेन पदमा ओजस्वी बस्नेत विजयी भए । अपी सदनबाट संयम नेपाल र प्रिन्सी दास क्रमशः क्याप्टेन र भाइस क्याप्टेनमा निर्वाचित भए । त्यसैगरी माछापुच्छ्रे सदनबाट प्रजित गौतम र अभिलेख कार्की तथा मनास्लु सदनबाट नम्रता डिसी र भवेश पौडेल क्रमशः क्याप्टेन र भाइस क्याप्टेन पदमा निर्वाचित भए । 
‘हामीले बालबालिकालाई प्रजातान्त्रिक प्रक्रिया र निर्वाचनको महत्व बुझाउन हरेक वर्ष यसैगरी सम्पूर्ण विधि पूरा गरी निर्वाचन गराउँदै आएक छौँ,’ मुख्य निर्वाचन अधिकृत लेखनाथ दाहालले भने, ‘यसबाट विद्यार्थीले निर्वाचनका सामान्य प्रक्रिया र नेतृत्व चयन विधिबारे धेरै कुरा जान्न र बुझ्न पाउँछन् ।’ निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा कसरी गर्ने, मतदातासामु आफ्ना कुरा कसरी राख्ने र आफ्ना समर्थकहरूको नेतृत्व कसरी गर्ने भन्ने विषयमा समेत विद्यार्थीहरू जानकार हुने पनि दाहालले बताए । 

स्कुल क्याप्टेन पदमा निर्वाचित आर्यन चन्दले यस्तो निर्वाचन प्रक्रियाले आफूहरूले सामाजिक अध्ययन विषयमा पढेको निर्वाचन प्रक्रियाबारे प्रत्यक्ष रूपमा धेरै कुरा बुझ्न र सिक्न पाएको बताए । उनले हार र जितभन्दा पनि प्रजातान्त्रिक प्रक्रियाका रूपमा यसलाई लिएको बताए ।