मापसेजस्तै  सडकमै ‘ड्रग टेस्ट’

२०७५ चैत २ शनिबार १०:२७:००

लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने चालकहरू पनि अब प्रहरीको फन्दामा पर्ने भएका छन् । शुक्रबारबाट ट्राफिक प्रहरीले सडकमै ‘ड्रग युरिन टेस्ट’ सुरु गरेको छ । यस्तो जाँच मुलुकमै पहिलोपटक सुरु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको अमलेखगन्ज खण्डमा प्रदेश–२ अन्तर्गतको प्रदेश ट्राफिक कार्यालय पथलैयाद्वारा खटिएका ट्राफिक प्रहरीले शुक्रबार ड्रग युरिन टेस्ट किट प्रयोग गरी सवारीचालकहरूले लागुऔषध सेवन गरे–नगरेको जाँच गरे ।

नेपालमा भर्खरै भित्रिएको यो प्रविधिले लागुऔषध सेवन गरी सवारीसाधन चलाउनेहरूलाई कानुनी कठघरामा ल्याई सडक यात्रा सुरक्षित बनाउने ट्राफिक प्रहरी निरीक्षक रिपेन्द्र सिंहले विश्वास व्यक्त गरे । ‘मापसे चेकजाँचले सडक दुर्घटना निकै घटाएको छ । अब लागुऔषध प्रयोग गरे–नगरेको यो जाँचले पनि सडक दुर्घटना घटाउन सहयोग पुर्‍याउने हामीलाई विश्वास छ,’ प्रवक्ता सिंहले भने । आगामी दिनमा ‘ड्रग युरिन टेस्ट किट’ प्रविधि प्रदेशका सबै जिल्लामा लागू हुने प्रदेश ट्राफिक कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस