
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले नगरको विभिन्न स्थानको अनुगमन गरेर फोहोर व्यवस्थापनमा कुनै किसिमको लापर्बाही नगर्न निर्देशन दिएका छन् ।अनुगमनका क्रममा बजारमा देखिएको फोहोर,नालालगायतको अवस्थामा सुधार गर्न निर्देशन दिँदै नियमित नाला सफा नहुनु, फोहोर नउठ्नुको कारण सोधेका थिए ।
फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधिलाई २४ घण्टाभित्र सबै ठाउँमा थुपारिएको फोहोर उठाउन र नालाहरू सफा गर्न निर्देशन दिएका छन् । नगरप्रमुख सिंहले बजार क्षेत्रका पसले र व्यवसायीसँग हात जोडेर आग्रह गर्दै जथाभावी फोहोर नफाल्न, आफ्नो पसलअगाडिको क्षेत्र सफा राख्न अनुरोध गरेका छन् ।
महानगरपालिकाबाट फोहोर व्यवस्थापनमा कुनै पनि कमजोरी देखिए सीधै आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् । बिहीबार शपथग्रहण गरेका नगरप्रमुख सिंहले पहिलो दिन वर्षौंदेखि जीर्ण रहेको घण्टाघरदेखि माइस्थान चोकसम्मको सडक निर्माणको काम सुरु गराएका छन् ।
नगरप्रमुख सिंहले दोस्रो दिन बजार क्षेत्रको अनुगमन गरेका छन् । अनुगमनको क्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे र सरसफाइका ठेकेदार र कर्मचारीहरू थिए ।