१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
खाँदबारी–किमाथांका सडकअन्तर्गत मकालु गाउँपालिका–३ समाटारमा खसेको सुख्खा पहिरो
नवीन गुरुङ संखुवासभा
२०७९ जेठ १३ शुक्रबार १७:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाँदबारी–किमाथांका सडक एक महिनादेखि अवरुद्ध

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ जेठ १३ शुक्रबार १७:३८:००

संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांका जाने सडक एक महिनादेखि अवरुद्ध भएको छ। चीनको सीमावर्ती भोटखोला गाउँपालिकाको किमाथांका जाने सडक अवरुद्ध हुँदा स्थानीय सर्वसाधारण मारमा परेका छन्।

मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरो जाँदा खाँदबारी–किमाथांकाअन्तर्गतको कोसी- ल्हासा राजमार्ग अवरुद्ध भएको हो। समाटारमा सडकमाथिबाट लगातार रूपमा सुख्खा पहिरो झरिरहेको छ। सडकमाथिको भागको जमिन नै चिरिएकाले झन् डरमर्दो भएको स्थानीयहरू बताउँछन्। भोटखोला गाउँपालिका–४ स्थित बरुण नदीमा रहेको अस्थायी पुलसमेत बाढीले बगाएको छ।

बरुण नदीको अस्थायी पुल बाढीले बगाएपछि ढुवानीका साधनहरू त्यहाँभन्दा माथि जान नसकेको ट्याक्टर ड्राइभर सुवास दर्जीले बताए।  हिउँदमा खाँदबारीदेखि ढुवानीका साधनहरू भोटखोलाको च्याम्ताङसम्म पुग्थे। खाँदबारीदेखि भोटखोला आवातजावात गर्ने मुख्य सडकखण्ड नै अवरुद्ध भएपछि जनजीवन कष्टकर बनेको छ। सुख्खा पहिरोका कारण अहिले समाटारसम्म मात्रै यातायातको साधान सञ्चालनमा छ।

समाटारको दुवैतर्फ पहिरो पन्छाउन स्काभेटर तयारी अवस्थामा राखिएको र काम भइरहेको उत्तरदक्षिण कोसी सडक आयोजना कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले बताए। उनले दुवैतर्फ स्काभेटर र जनशक्ति तयारी अवस्थामा रहे पनि निरन्तर सुख्खा पहिरो झरिरहेकाले ढिला भएको बताए। ‘सडकको माथिबाट नै जमिन चिरिएको छ। आज पहिरो पन्छायो फेरि राति पहिरो झरिहाल्छ। त्यसैले समस्या भइरहेको छ,’ प्रमुख रजकले भने।

स्थानीय तहको निर्वाचनभन्दा अघिदेखि नै सडक अवरुद्ध भएकाले निर्वाचन गराउनसमेत कर्मचारी, सेना, प्रहरी र म्यादी पैदल गएर फर्किएका छन्। समाटारको सुख्खा पहिरोको दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै स्थानीयहरूले सरोकारवाला निकायले चासो नदेखाएको आरोप लगाउँदै आएका छन्।

राष्ट्रिय गौरवको जोगमुनी—किमाथांका सडक निर्माणाधीन अवस्थामा नै रहेको छ। किमाथांका नाका खोल्ने यो मुख्य सडकखण्ड हो। अब किमाथांका नाका खोल्न करिब १४ किमि सडक बाँकी रहेको छ। खाँदबारी–किमाथांका १६२ किमि रहेको छ। तीमध्ये ९० किमि बरुण नदीसम्म हिउँदबर्खा यातायातको साधन सञ्चालनमा रहेको थियो।