
दाङकाे तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार तीन सय ३६ मत खसेकोमा बुधबार बिहान ७ बजेसम्म ७१ हजार एक ६६ मत गणना भएको छ । अब तीन हजार एक सय ७० मत गन्न बाँकी छ । अहिलेसम्मको मतपरिणामअनुसार नगरप्रमुखमा एमालेका टीकाराम खड्का तीन हजार ६६ मतले अघि छन् ।
उनले ३० हजार ३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फका उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले २६ हजार ६ सय ६९ मत प्राप्त गरेका छन् । तुलसीपुरमा एमाले सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको छ । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरले अघि छिन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फका उम्मेदवार बनेका एकीकृत समाजवादीका जोगबहादुर रानालाई नौ हजार दुई सय एक मतान्तरले पछि पारेकी छिन् । चौधरीले २९ हजार तीन सय ४५ मत प्राप्त गरेकी छिन् भने रानाले २० हजार एक सय ४४ मत प्राप्त गरेका छन् ।
१९ वटा वडामध्ये अहिलेसम्म १७ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । अहिलेसम्म तुलसीपुरका नाैवटा वडा एमालेले जितेको छ भने कांग्रेसले चार र माओवादी केन्द्रले तीनवटा वडा जितेको छ । त्यस्तै, एउटा वडा स्वतन्त्रले जितेको छ ।
अहिले वडा नम्बर १७ र १९ को मतगणना भइरहेको छ । तुलसीपुरमा यसअघि पनि एमाले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ मत खसेको थियो ।