१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
बर्दघाटमा पसल सञ्चालन गर्दै आएकी नारायणी कोइराला
मुना कुँवर काठमाडौं
२०७९ जेठ ८ आइतबार ०९:५६:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहकारीको साथले सफल

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
२०७९ जेठ ८ आइतबार ०९:५६:००

बर्दघाटका टीकाराम लामिछानेले पछिल्लो एक दशकमा तीन करोड रुपैयाँबराबरको सम्पत्ति जोडेका छन् । सामान्य परिवारमा जन्मेका लामिछानेका लागि यो ठूलो उपलब्धि हो । उनको यो उपलब्धिको श्रेय दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थालाई जान्छ । 

सानै उमेरमा अभिभावक गुमाएका बर्दघाटका टीकाराम लामिछाने एक दशकअगाडिसम्म हार्डवेयर पसलमा काम गर्थे । दिनभर डुलेर पनि मुस्किलले पाँच सय जोगाउने उनी नयाँ काम खोजी गर्न दाउन्नेदेवी सहकारीको सम्पर्कमा आए । ०६४ सालमा सहकारीबाट ५० हजार निब्र्याजी ऋण लिएर उनले कावासोतीमा कपडा पसल खोले । पसलबाट राम्रै आम्दानी गर्न थालेपछि पुरानो कर्जा चुक्ता गरी थप नयाँ कर्जा लिएर पसलमा लगानी गर्न थाले । यसरी उनले कावासोतीमा घर–घडेरी जोड्न सफल भए । पसलबाट अहिले मासिक कम्तीमा ६५ हजार आम्दानी गर्ने उनले आफ्नो व्यवसायमा ३५ लाख लगानी गरिसकेका छन् । ‘सहकारीले मेरो जीवन परिवर्तन गरिदिएको छ,’ उनले भने, ‘नत्र यतिवेला म इन्डियाको कुनै होटेलमा भाँडा माझिरहेको हुन्थेँ ।’

 छापाखानामा काम गर्ने नवराज श्रेष्ठले पनि आठ वर्षको अवधिमा आफ्नै व्यवसाय मात्रै सञ्चालन गरेका छैनन्, करोडौँको सम्पत्ति जोड्न पनि सफल भएका छन् । छापाखानामा काम गरेर मात्रै जीविका नचल्ने भएपछि उनले एउटा कम्प्युटर र फोटोकपी मेसिन राखेर ०६५ सालदेखि आफैँ व्यवसाय सुरु गरे । तर, श्रेष्ठको मन त्यतिले मात्रै सन्तुष्ट भएन । आफ्नो व्यवसायलाई थप उकास्ने मनसायले उनले नवत्रिवेणी बहुउद्देश्यीय सहकारी संस्थाबाट कर्जा लिएर आफ्नै छापाखाना खोले । सहकारीबाट कर्जा लिँदै भुक्तानी गर्दै उनले व्यवसाय विस्तार गर्न थाले । सोही व्यवसायबाट श्रेष्ठले कावासोतीमा घर र खडेरी जोडेको बताउँछन् । अहिले उनले मासिक ६० हजार आम्दानी गरिरहेका छन् । ‘सहकारी नभएको भए म आज कुनै खाडीमा लेबर गरिरहेको हुन्थेँ,’ उनले भने । 

सामान्य व्यापार गर्दै आएकी बर्दघाटकी नारायणी कोइरालाको पनि कथा उस्तै छ ।  दाउन्नेदेवी बहुउद्देश्यीय सहकारीबाट ५० हजार कर्जा लिएर उनले कपडा व्यवसाय सुरु गरिन् । श्रीमान् गुमाएकी कोइरालाले सहकारीको साथ पाएपछि उनले पाँचवटा स्थानमा घडेरी र दुई तले घर बनाइसकेकी छिन् । ‘सहकारीले मलाई विश्वास गर्‍यो । जसले मलाई साहस दियो,’ उनले भनिन्, ‘श्रीमान्को मृत्युपछि यहाँसम्म आइपुग्छु भन्ने मलाई कल्पना नै थिएन ।’

सहकारी संस्थाहरू बचत र ऋण कारोबारमा मात्रै सीमित नभई व्यावसायिक कारोबार तथा बचत गर्ने तरिका पनि सिकाइरहेका छन् । सोही कारण स्थानीय धेरैले व्यावसायिक सीप सिक्नुका साथै आर्थिक उन्नति पनि गरिरहेका छन् ।  कोटिहवा रुपन्देही जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले घरदैलो खुत्रुके बचत संकलन, नयाँ बुहारी स्वागत, सुत्केरी भेटघाटलगायतका कार्यक्रम सञ्चालन गरेको छ । बर्दघाट जिमिरेभारस्थित सुलभ बचत तथा ऋण सहकारीले दुर्घटनामा मृत्यु भएका सदस्य परिवारलाई राहतस्वरूप एक लाख प्रदान गर्दै आएको छ भने मृतक राहत व्यवस्थाका लागि ३० हजार प्रदान गर्दै आएको छ । ३० हजारसम्मको आकस्मिक सापटी कोष सञ्चालन गरेको छ । समूहगत विनाधितो लगानी, द्वन्द्व प्रभावितलाई विनाब्याजमा ऋण लगानी, अधिकतम २० लाख रुपैयाँसम्मको ऋण सुविधा सञ्चालन गर्दै आएको छ । 

केरा खेतीदेखि पेट्रोलपम्पसम्ममा सहकारीको लगानी
उपत्यकाबाहिर सञ्चालन भएका सहकारी संस्थाहरूले केरा खेतीदेखि पेट्रोलपम्पसम्ममा लगानी गरेका छन् । रुपन्देहीस्थित सैनामैना गुलाब बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक केरा खेतीमा लगानी गरेको छ । संस्थाले प्रदेश सरकारसँगको साझेदारीमा ४२ लाख रुपैयाँ लगानीमा तीन बिघा क्षेत्रफलमा केरा खेती गरेको संस्थाका अध्यक्ष गोपाल भण्डारीले बताए ।  

त्यस्तै, चितवन जिल्ला सहकारी संघले पेट्रोलपम्प, तोरी मिल र घरभाडा व्यवसायमा समेत लगानी गरेको छ । दुई वर्षअगाडि स्थापना गरेको पम्पमा तीन सय ८१ सहकारीको संलग्नता रहेको र करिब साढे तीन करोड लगानी गरिएको संघका व्यवस्थापक विनीत खतिवडाले बताए । अहिले पम्पमा ६ करोड रुपैयाँ लगानी पुगिसकेको उनको भनाइ छ । पम्पमा प्रत्येक सहकारीले १० हजारदेखि ३० लाख रुपैयाँसम्म सेयर लगानी गरेका छन् । दुई लाख लिटर पेट्रोल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । पम्पबाट संघले गत वर्ष एक करोड मुनाफा आर्जन गरेको थियो ।

भूमिहीनदेखि हिंसा परेका महिलाको उद्धार
सहकारी संस्थाले बचत तथा ऋण लगानी मात्रै गरेका छैनन्, सरकारले उपेक्षा गरेका आममानिसको सहारा पनि बन्दै आएका छन् । प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा ७० प्रतिशत भूमिहीन सदस्य छन् । सहकारीको कार्य क्षेत्रभित्र पर्ने नौ सय घरपरिवार भूमिहीन छन् । भूमिहीन भएकै कारण अन्य संस्थाले विश्वास नगरेपछि सहकारीले प्राथमिकतामा राखेको भूमिहीन कमल पौडेलले बताए । भूमिहीनलाई समूहको रोहबरमा पाँच लाख रुपैयाँसम्म कर्जा प्रदान गरिँदै आएको संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् । 

बर्दघाट नवलपरासी दाउन्नेदेवी महिला बहुउद्देश्यीय सहकारीले हिंसामा परेका महिलालाई आश्रयस्थलदेखि कानुनी उपचारसम्मको सेवा प्रदान गर्दै आएको छ । संस्थाद्वारा सञ्चालित वडास्तरीय निगरानी समितिले गत वर्ष ३७ वटा केशको मिलापत्र गरिदिएको छ । त्यस्तै, महिला तथा बालबालिका कार्यालयको सहयोगमा र संस्थाको व्यवस्थापनमा घरेलु हिंसापीडित महिलाहरूका लागि आपत्कालीन आश्रयस्थल जिल्ला सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।  

सहकारीलाई बजार र कोल्डस्टोरको अभाव 
कृषि उत्पादनमा सहकारीहरूले किसानलाई प्रेरित गर्दै आए पनि बजार र कोल्डस्टोरको समस्या यथावत् रहेको सहकारीहरूको गुनासो छ । जनउत्थान सहकारीले आफ्ना सदस्यहरूलाई आलुखेतीमा प्रेरित गरेर आलु र बिउ उत्पादनमा लगानी गर्दै आएको छ । तर, उपभोक्ताले खाने आलु र बिउ आलु छुट्याउन नसक्दा कृषकले उचित मूल्य पाउन नसकेको सहकारीकी अध्यक्ष सीता न्यौपानेले बताइन् ।  ‘हाम्रा कृषकले बिउ आलुलाई प्रतिकेजी दुई सय रुपैयाँ तोकेका छन् । तर, मानिसहरू सीमापारि गएर २० रुपैयाँ केजी आलु ल्याउँछन्,’ उनले भनिन् । 

त्यस्तै, गुलाब बहुउद्देश्यीय सहकारी संस्थाले नजिकै कोल्डस्टोर नहुँदा सदस्य कृषकले उत्पादन स्टोर गरेर राख्न नपाएको गुनासो गरेको छ । कोल्डस्टोरका लागि भैरहवा पुग्नुपर्छ । भैरहवासम्म पुग्न कृषकका लागि सम्भव नभएको सहकारीका व्यवस्थापक मुकुन्द पराजुलीले बताए ।