मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ५ बिहीबार २१:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भूकम्पमा क्षति पुगेको मन्दिर संरक्षणमा समुदाय अग्रसर 

Read Time : > 1 मिनेट
२०७९ जेठ ५ बिहीबार २१:५९:००

भूकम्पमा क्षति पुगेको दोलखा कालिन्चोक गाउँपालिका–२ बाबरेको कुशावतीस्थित महादेवश्वरी भूमे मन्दिर संरक्षणमा समुदायले अग्रसरता देखाएका छन् । मन्दिर संरक्षणका लागि समुदायको पहलमा झन्डै चार लाख रुपैयाँ संकलन भएको छ । 

कुशावतीमा थामी, नेवार र क्षेत्री समुदायको बाहुल्यता छ । मन्दिरमा प्रत्येक वर्ष थामी गुरु (पुजारी)बाट जात्राको आयोजना हुने गर्छ । भूकम्पबाट क्षति पुगेको मन्दिर तत्कालीन राष्ट्रिय पुनर्निमाण प्राधिकरणले सूचीमा समावेश नगर्दा पुनर्निर्माण हुन सकेको थिएन । मन्दिर संरक्षणका लागि स्थानीय समाजसेवी ओमकुमार श्रेष्ठको नेतृत्वमा समितिसमेत गठन भएको छ । 

समितिको सदस्यमा बिर्खमान थामी, शिवलाल श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, लालकुमार श्रेष्ठ, विष्णुमाया थामी, श्रीबहादुर श्रेष्ठ, अमृतकुमारी बुढाथोकी, नरेन्द्र श्रेष्ठ, कुमार थामी, टहलकुमार थामी, बालकुमार श्रेष्ठ र जितबहादुर श्रेष्ठ चयन गरिएको छ ।  कुशावतीस्थित महादेवश्वरी प्राविका पूर्वप्रधानाध्यापक केदार खतिवडाले भूकम्पमा क्षति पुगेको मन्दिर निर्माणमा स्थानीय जुटेको बताए । 

उनले भने, ‘०७२ को भूकम्पमा मन्दिरमा क्षति पुगेको थियो । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचीमा सूचीकृत हुन छुटेछ । त्यसो हुँदा मन्दिरको पुनर्निमाण हुन सकेन । यस कार्यमा समुदाय नै लाग्नुपर्छ भन्ने सोच स्थानीयमा आयो । अब स्थानीयबाट मन्दिरको संरक्षण हुनेछ ।’

प्राधिकरणको बेवास्तापछि नवगठित समितिका संयोजक श्रेष्ठले निजी खर्चमा मन्दिरको ढोका, सिँडी तथा दर्शनार्थी बस्ने ठाउँको पुनर्निर्माण गरेका थिए ।  विस्तृत गुरुयोजना निर्माण गरेर मन्दिरलाई  नयाँ ढंगले विकास गरिने समितिले जनाएको छ ।  जसका लागि समुदायबाट चन्दा संकलन गरिने भएको छ । मन्दिरको नाममा जग्गा दर्ता गरिनेछ । गुरुयोजना सरकारी निकायमा पनि पेस गरिनेछ । 

समितिका संयोजक श्रेष्ठले भने, ‘भूकम्पबाट मन्दिरमा क्षति पुगेको थियो । कतैबाट सहयोग नआएपछि संरक्षणका केही काम अघि बढे । अब मन्दिरको नयाँ ढंगले संरक्षण गर्ने सोच आएको छ । बजेट धेरै लाग्छ । समुदायबाट केही संकलन गर्छौँ । करिब चार लाख रुपैयाँ संकलन पनि भएको छ । सरकारी निकायमा पनि प्रस्ताव पेस गर्छौँ ।’