१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Thursday, 03 July, 2025
२o७९ जेठ ५ बिहीबार १४:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भतिजासँग पराजित भएपछि ८२ वर्षीय व्यञ्जनकारले भने– जनतालाई दुःख दिने काम नगर्नू

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १४:२३:oo

ललितपुर महानगरपालिकाको वडा नम्बर १० मा यसअघि १० पटकसम्म चुनाव जितेका ८२ वर्षीय नरसिंह व्यञ्जनकारलाई लागेको थियो– यसपटक पनि सहजै चुनाव जित्छु। ०२९ सालदेखि स्वतन्त्रबाट लगातार चुनाव जितेका उनले यसपटक भने हार व्यहाेर्नुपर्‍याे आफ्नै भतिजासँग। भतिजा रविन व्यञ्जनकारसँग उनी दुई सय ४७ मतान्तरले पराजित भएका हुन्। रविन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए भने नरसिंहले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए।

नरसिंहले पाएको मत संख्या पाँच सय ७८ छ भने उनका प्रतिस्पर्धी रवीन व्यन्जनकारले आठ सय २५ मत प्राप्त गरेका छन्। वडामा जम्मा एक हजार सात सय ८३ मत खसेको थियो। आफू पराजित भएपछि व्यञ्जनकारले निर्वाचित भएका आफ्ना भतिजलाई बिहीबार बिहानै भेटेर शुभकामना दिएका छन्। १० पटकसम्म आफैँले हाँकेको वडामा अन्य व्यक्ति निर्वाचित भएपछि वडाको कामकारबाही बिग्रने डरमा उनले भतिजलाई सम्झाइबुझाई गरेका छन्। ‘म पराजित हुन पुगेकोमा पछुतो छैन, हारजित भइहाल्छ,’ उनले भने, ‘तर, जितेकाले नराम्रो गर्नुभएन, मैलेजस्तै गरी वडावासीको समस्या समाधान गरिदिनुपर्‍याे।’

आफू यसपटकको चुनावमा वडाध्यक्ष हारे पनि आफूले सुरु गरेका कामलाई भने निरन्तरता दिने उनले बताए। उनले आफ्ना योजना अन्य माध्यमबाट बजेट ल्याएर भए पनि पूरा गर्ने दाबीसमेत गरेका छन्। कुपण्डोलस्थित बागमती आसपासलाई हरियाली र सफा पार्ने, पार्क बनाउने, कानदेवतास्थानदेखि सानेपातर्फको सडक व्यवस्थित पार्ने, कुपण्डोललाई पर्यटकीय ठाउँको रूपमा विकास गर्ने, कटुवालदहमा सुरु भएको योजना पूरा गर्नेलगायत योजना उनले अघि सारेका छन्।

लामो समय वडावासीको सेवामा लागेकाले जनप्रतिनिधि बाहिरको भूमिकामा रहेर पनि आफ्नो भूमिका निर्वाह गर्न सकिने उनको सोच छ। यसअघि वडाको काममा धेरै नै व्यस्त हुने हुँदा आफ्नो सोचअनुसारका काम गर्न नपाएको उनको भनाइ छ। जनप्रतिनिधिको कुर्सीमा बस्न नपरेपछि आफ्ना योजनाको काममा ध्यान दिन पाइने उनले बताए। ‘अब झन् आफ्ना योजनाका काम गर्न सजिलो भयो, यसअघि वडामै सीमित थिएँ,’ उनले सुनाए, ‘अब झन् स्थानीयको घरघरमा पुग्छु, सरसल्लाह गर्छु।’ 

उनले अब आउने चुनावमा आफू उम्मेदवार नबन्ने निर्णय गरेका छन्। उमेरका कारण पनि अब उम्मेदवार बन्न नसक्ने उनको भनाइ छ। वडामा आफूजस्तै स्वतन्त्र र परिपक्व व्यक्ति तयार पार्ने उनको योजना छ। उनले अब पार्टीबाहेकका मानिस तयार पार्ने र अर्को चुनावमा स्वतन्त्र व्यक्तिलाई उम्मेदवार बनाउने तयारी गरिरहेको पनि बताए। तर, राजनीतिक पार्टी सुध्रिए भने पार्टीकै उम्मेदवारलाई सहयोग गर्न पनि सक्ने व्यञ्जनकारले सुनाए।

यो कार्यकालमा पार्टीबाट आएका व्यक्तिले वडामा राम्रो काम नगरे अर्कोपटक वडावासीसँग सल्लाह गरेर स्वतन्त्र उम्मेदवारलाई उठाउने उनले बताए। ‘मैले आज भतिजलाई सम्झाएको छु, जनतालाई दुःख नदिई सेवा गर्न भनेको छु,’ उनले भने, ‘यदि उसको कार्यकाल राम्रो भएन भने वडावासीले नै अर्को व्यक्तिलाई रुचाउन सक्छन्।’ उनले वडावासीले विश्वास गरेर दिएको मतको कदर गर्न र समाजसेवीको रूपमा काम गर्न भतिजलाई अनुरोध गरेको बताए। उक्त वडा आफ्नो इज्जतसँग जोडिएकाले भजितलाई नराम्रो गर्न नदिने व्यञ्जनकारले बताए।

व्यञ्जनकारले ०२९ सालदेखि चुनाव जित्दै आएका थिए। एउटै पद (वडाध्यक्ष)मा दशपटकसम्म दोहोरिएका उनको यसपटक वडाध्यक्ष बन्ने इच्छा भने पूरा हुन सकेन। उनले ०७४ को चुनावमा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोटले हराएका थिए।

हालसम्मका चुनावमा उनी सधैँ स्वतन्त्र उम्मेदवार भएर उठे। ०२९ मा व्यञ्जनकारले तत्कालीन ललितपुर नगरपालिका– १ बाट पहिलोपटक वडाध्यक्षमा जितेका थिए। त्यसपछि उनले समाजसेवाका लागि वडाध्यक्ष पदलाई प्रयोग गरे। निरन्तर काम गर्दै जाँदा जनताको मन जित्न सफल भए। त्यसपछि ०३४, ०३९, ०४३, ०४९ हुँदै ०७४ सम्म भएका स्थानीय निर्वाचनमा उनले जित्दै आएका थिए।