धुलिखेलको आइटी पार्क अलपत्र : खुमलटारमा पनि आइटी पार्क बनाउने सरकारको निर्णय

२०७५ चैत १ शुक्रबार ११:०२:०० | काठमाडाैं

काभ्रेको बनेपामा सूचनाप्रविधि (आइटी) पार्क निर्माण भएको १४ वर्ष पूरा भइसकेको छ । निर्माणको डेढ दशकसम्म उक्त पार्कलाई सञ्चालनमा ल्याउन नसकेको सरकारले ललितपुरको खुमलटारमा त्यस्तै अर्को पार्क बनाउने निर्णय गरेको छ । 

झन्डै १ सय ७९ रोपनी क्षेत्रफलमा फैलिएको बनेपाको आइटीपार्कमा व्यावसयिक र प्रशासनिक गरेर दुईवटा भवन छन् । निर्माण भएको ११ वर्षसम्म सञ्चालनमा ल्याउन नसकेपछि सरकारले चैत ०७२ मा ६ वटा ब्लकमध्ये ४ ब्लक काठमाडौं विश्वविद्यालय, सफ्टेक फाउन्डेसन र क्लाउड हिमालयलाई १० वर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सबै ब्लक एकीकृत रूपमा सञ्चालन गर्ने भन्दै विज्ञान तथा प्रविधि मन्त्रालयले छुट्टै कार्यदल बनाए पनि पार्कलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन असफल देखिएको थियो । 

सफ्टेक र क्लाउड हिमालयले ६ महिनाअघि नै पार्क छाडिसकेको सूचनाप्रविधि विभागले जनाएको छ । काठमाडौं विश्वविद्यालयले भने भर्खरै पार्कमा सुपर कम्प्युटर भित्र्याएर सञ्चालनको तयारी गर्दै छ । बाँकी भागमा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले उक्त पार्कमा सुरक्षण मुद्रण राख्ने तयारी गरिरहेको छ । 

धुलिखेलको आइटी पार्क सञ्चालनमा असफल देखिएको सरकारले अर्को आइटी पार्क बनाए पनि सञ्चालनमा आशंका रहेको कम्प्युटर एसोसिएसनका पूर्वअध्यक्ष विनोद ढकाल बताउँछन् । 

‘सरकारले नयाँ आइटी पार्क बनाउने विषयमा आजसम्म कुनै सल्लाह गरेको छैन,’ उनले भने, ‘धुलिखेल टाढा भएर पनि उद्योगी व्यवसायीहरूको आकर्षण नभएको हो । पहिले नै गृहकार्य गरेर जान सके सहरबाट नजिकै भएकाले पनि नयाँ बन्ने आइटी पार्क सफल हुन सक्छ ।’

मन्त्रिपरिषद्ले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ललितपुरको खुमलटारस्थित ११८ रोपनी जग्गामा सूचनाप्रविधिसम्बन्धी उद्योग तथा व्यवसाय स्थापना गर्नका लागि सूचना पार्क स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए । सरकारको नाममा रहेको उक्त जग्गा रेडियो नेपाललाई मोही कायम गरिएको थियो । त्यस्तै, सोही स्थानमा रहेको रेडियो नेपालको नाममा रहेको ४२ रोपनी जग्गा नेपाल दूरसञ्चार कम्पनीलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ । उक्त जग्गाको सरकारी दररेटअनुसारको रकम प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउनेछ । यसरी प्राप्त रकम रेडियो नेपालले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको सहमतिमा पुँजीगत कार्यमा खर्च गर्नेछ । 

यो नयाँ अवधारणाको आइटी पार्क हो

लक्ष्मीप्रसाद यादव
महानिर्देशक सूचनाप्रविधि विभाग

सातै प्रदेशमा आइटी पार्क बनाउने सरकारको नीति छ । त्यसैअनुसार खुमलटारमा राष्ट्रिय स्तरको आइटी पार्क बनाउन खोजिएको हो । यो पार्क अब नयाँ अवधारणाअनुसार सञ्चालन हुनेछ । धुलिखेलको आइटी पार्क बन्दा नेपालमा आइटी कम्पनी सुरुवाती चरणमा भएकाले आकर्षित नभएका हुन सक्छन् । अब हामी ज्ञानमा आधारित कम्पनीलाई जोड दिन्छौँ । सहरनजिक हुने भएकाले पनि खुमलटारको पार्क सफल हुने विश्वास लिएका छौँ । त्यसमा बढी रोजगारी दिने र एआईजस्ता नयाँ प्रविधिका कम्पनीलाई प्राथमिकता दिन्छौँ । 

प्रतिकृया दिनुहोस