गिदेरी पुल निर्माणमा ढिलाइ : चार वर्षमा २० प्रतिशत काम

२०७५ चैत १ शुक्रबार ०८:१५:०० | उदयपुर

सम्झौताअनुसार एक वर्षअघि नै निर्माण सकिनुपर्ने गिदेरी खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ । बेलका नगरपालिका–३, ठोक्सिलास्थित गिदेरी खोलामा चार वर्षअघिदेखि पुल निर्माण कार्य सुरु भएको हो । सम्झौताअनुसार एक वर्षअघि नै पुल निर्माण सकिनुपर्ने थियो । तर, ठेकेदारको ढिलासुस्तीले हालसम्म २० प्रतिशत मात्र काम भएको छ ।

गिदेरी खोलामा दुई सय १८ मिटर लामो पक्की पुल निर्माणको जिम्मा पप्पु/सञ्जीवनी जेभी बानेश्वरले लिएका हो । सातवटा आरसिसी वेल फाउन्डेसन र ६ स्पामसहितको पुल निर्माण गर्न पप्पु/सञ्जीवनीले ०७१ मा डिभिजन सडक कार्यालय लाहानसँग सम्झौता गरेको थियो । 

 साढे १३ करोड लागत अनुमान
१३ करोड ३९ लाख ६७ हजार ४ सय ७९ रुपैयाँ लागत अनुमान गरिएको पुल निर्माण तीन वर्षमा सक्ने सम्झौता थियो । तर, सम्झौता अवधि सकिँदा जम्मा पाँच प्रतिशत मात्र काम भएको थियो । म्याद एक वर्ष थप गर्दा पनि जम्मा २० प्रतिशत मात्र काम भएको छ । समयमै पुल निर्माण नहुँदा स्थानीयलाई खोलाबाट आवतजावत गर्न समस्या हुँदै आएको छ । 

पुल नबन्दा बेलका नगरपालिकाको केन्द्र रामपुर आउजाउ गर्न २, ३ र ४ नम्बर वडावासीलाई सबैभन्दा धेरै समस्या हुने गरेको स्थानीय नवराज कुँवरले बताए । पुल नबन्दा भागलपुर, तपेश्वरी, बानडाँडा, जगन्ना, भासी, रातापानी, पुरन्दह, बेलहा, करैया, गलफडियालगायत झन्डै दर्जन गाउँवासी मारमा छन् ।

 २ करोड १५ लाख भुक्तानी 
निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माण कार्य अलपत्र परेको डिभिजन सडक कार्यालय लाहानका इन्जिनियर नवीन शाहले बताए । शाहका अनुसार कम्पनीले पुलको ठेक्का लिएयता दुई करोड १५ लाखभन्दा बढी भुक्तानी लिइसकेको छ । ‘ठेकेदारले अब कामलाई तीव्र रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्,’ साहले भने, ‘अन्यथा हामी ठेकेदार कम्पनीलाई कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउनेछौँ ।’

 ४० किमि पार गर्नुपर्ने बाध्यता 
पुल नबन्दा नदाहा–कञ्चनपुर खण्डको शनिबारे–सुपाडे–लालबजार–गुरुङचौरी हुँदै ४० किलोमिटर पार गरेर नगरपालिका कार्यालय जानुपर्ने बाध्यता रहेको वडासदस्य कुमार अधिकारीले बताए । 

 

 

 

प्रतिकृया दिनुहोस