३५ करोडको आयोजनाका लागि २५ लाख बजेट

रघुगंगास्थित चिमखोला खानेपानी आयोजना निर्माणकार्य बजेट अभावको कारण ढिलाइ

२०७५ चैत १ शुक्रबार ०८:११:०० | म्याग्दी

रघुगंगा गाउँपालिका– २ भगवती र –३ पिप्लेका जनतालाई लक्षित गरेर सुरु गरिएको चिमखोला भगवती पिप्ले खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । राज्यको नयाँ संरचनाअनुसार आयोजना कुन सरकारमातहत सञ्चालन गर्ने भन्ने विषयको टुंगो नलाग्दा जिल्लाकै गौरवका रूपमा लिइएको आयोजनाको पूर्वाधार निर्माणमा ढिलाइ भएको हो । 

पछिल्लो समय ठूला खानेपानी योजनालाई संघीय सरकारमातहतका कार्यालयबाट बजेट विनियोजन हुँदै आएको छ । तर, त्यसरी विनियोजन हुने बजेट अत्यन्तै न्यून रहने जानकारहरू बताउँछन् । ३५ करोड रकम लागत अनुमान गरिएको आयोजनाका लागि चालू आवमा २५ लाख २२ हजार रुपैयाँ मात्रै विनियोजन भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराका इन्जिनियर ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

 ३५ करोडको आयोजनाका लागि सरकारले यस वर्ष २५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गर्दा आयोजना निर्माणमा समस्या सिर्जना भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘आयोजना गाउँपालिकाकै गौरवको आयोजना हो । योजनालाई समयमै सम्पन्न गर्न सम्बन्धित कार्यालय र मन्त्रालयमा ताकेता गरिरहेका छौँ,’ अध्यक्ष भण्डारीले भने । 

 गाउँपालिकाद्वारा ५४ लाख विनियोजन
चालू आवमा रघुगंगा गाउँपालिकाले आयोजनाका लागि ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । एक घर एक धाराका लागि प्रदेश सरकारबाट थप ५० लाख बजेट सिफारिस भएको वडाध्यक्ष रिमबहादुर कटुवालले बताए । 

 १० हजारलाई पानी पु-याउने लक्ष्य

चिमखोला गाउँदेखि माथि मुहान रहने सो आयोजना निर्माण हुँदा राखु भगवती र पिप्लेका १० हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन् । तर, ‘एक घर एक धारा’ अवधारणाअनुसार निर्माण सुरु गरिएको भए पनि बजेट अभाव हुँदा आयोजनाको भविष्य अनिश्चित बनेको छ । तत्कालीन खानेपानी तथा सरसरफाइ सब–डिभिजन कार्यालय म्याग्दीले गौरवको आयोजनाका रूपमा सो योजना छनोट गरेको थियो । कार्यालयले आव ०७३/७४ मा सम्भाव्यता अध्ययन गरी आयोजनाको लागत स्टिमेट तयार गरेको थियो । 

दुई वर्षअघि सर्भे भएको सो आयोजनाको पूर्वाधार निर्माण कार्य गत वर्षबाट सुरु गरिएको हो । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय म्याग्दीबाट १७ लाख बजेट विनियोजन भई आयोजनाको मुहान ट्यांकी र केही मिटर पाइपलाइन विस्तार गरिएको छ ।

 

 


 


 

प्रतिकृया दिनुहोस