मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ बैशाख २८ बुधबार १२:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

करोडौँको सुन चोरीमा संलग्न तीन भारतीय पक्राउ

Read Time : < 1 मिनेट
२०७९ बैशाख २८ बुधबार १२:३६:००

१३ वैशाखमा बुटवलमा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको लखनउ बस्ने ३५ वर्षीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खान र २२ वर्षीय मोहम्मद सरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेकामध्ये मोहद जिशान खान मुख्य अभियुक्त रहेको र उनी चोरी गरिएको पसलकै छेउको कोठामा मासिक ३० हजार तिर्ने गरी भाडामा बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरूले घरधनीलाई विश्वास दिलाउन एक वर्षको भाडा तीन लाख ६० हजार अग्रिम रूपमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रेग्मीले बताए । पसलछेउमै भाडामा बसेकाले वैशाख १२ गते राति ग्यास कटरले तिजोरी काटेर तीन करोड ५० लाखबराबरको सुन चोरी गरेको रेग्मीले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर ४ महुबारीस्थित खुनगाई–कालीदह सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडी युपी ३२ एलडब्लू ३१५१ सहित अभियुक्तहरूलाई पक्राउ गरिएको उनले बताए । 

प्रहरीले पक्राउ परेकाहरूसँगबाट पहेँलो सुनजस्तो देखिने एक थान पहेँलो सिक्का, सुनजस्तो देखिने बिस्कुट आकारको धातु गरी एक सय ग्राम ६ सय मिलिग्राम बरामद गरेको उनले बताए  । 

पक्राउ पर्नेहरूबाट मोबाइल, भारतीय रुपैयाँ, एटिएम कार्डलगायतका सामान बरामद गरेको पनि प्रहरीले जनाएको छ । चोरी भएको अरू सुन उनीहरले लुकाएको वा बेचेको सो सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए । बुटवल उपमहानगरपालिका– ६, बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा वैशाख १३ गते तीन करोड पचास लाखभन्दा बढीको सुन तथा गरगहना चोरी भएको प्रहरीले जनाएको छ । तर, पसल सञ्चालकले भने करिब पाँच करोडबराबरको सुन चोरी भएको दाबी गरेका छन् ।