Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ बैशाख २४ शनिबार ०७:३६:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

यसकारण चाँडो फर्कंदैनन् इराकका नेपाली कामदार 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ बैशाख २४ शनिबार ०७:३६:००

इराकमा नेपालको कूटनीतिक नियोग नहुँदा कामदारले पासपोर्ट नवीकरण गर्न नेपाल नै फर्किनुपर्छ, तर फेरि जान दलालकै भर 

वैदेशिक रोजगारीका लागि इराक पुगेकी समा शाहको एक वर्षअघि इराकमा नै निधन भयो । उनको शव स्वदेश फर्काउन इराकस्थित नेपाली समाजले सबैतिर हारगुहार माग्यो । अन्ततः कुवेतस्थित नेपाली दूतावासको सहयोगले शव फर्काउन सबै प्रक्रिया पूरा गर्‍यो । तर, नेपाल सरकारले स्वीकृत नदिँदा उनको शव नेपाल ल्याउन सकिएन । शाहको शव नेपाल ल्याउन तीनपटकसम्म प्रयास गर्दा पनि नेपाल सरकारले स्वीकृत नगरेकै कारण ल्याउन नसकिएको कुर्दिस्थान प्रवासी नेपाली समाज सुलेमानीका अध्यक्ष विनोद श्रेष्ठले बताए । सम्पूर्ण प्रयास असफल भएपछि परिवारको स्वीकृतिमा इराकमा नै शाहको दाहसंस्कार गरियो । 

दाङका रमेश बुढाथोकी सन् २००७ मा रोजगारीका लागि इराक पुगेका थिए । इराकको कुर्दिस्तान राज्यस्थित रेस्टुरेन्टमा क्यासियरको काम गर्ने उनको मासिक पारिश्रमिक एक लाख ५० हजारभन्दा बढी छ । चाहना भए पनि उनी १५ वर्षदेखि नेपाल आएका छैनन् । स्वदेश फर्किएपछि पुनः इराक जाने स्वीकृति नपाउने भएकाले नआएको उनी बताउँछन् । राम्रै कम्पनीमा आकर्षक पारिश्रमिक र सुविधा पाएका कारण उनी इराकको रोजगारी गुमाउन चाहँदैनन् । तर, नेपाल सरकारको इराक नीतिप्रतिको बेवास्ताका कारण आफ्नो परिवारसँग समेत भेट गर्न नपाएको उनको गुनासो छ । ‘छुट्टीमा नेपाल जाने मन हुन्छ । तर, नेपाल गएपछि यहाँ आउन पाउने सम्भावना कम छ,’ उनले भने । 

विराटनगरका विनोद राउत चार वर्षअगाडि दलालमार्फत रोजगारीकै लागि इराकमा गएका थिए । खाडी र मलेसियाभन्दा राम्रो आम्दानी हुने भएपछि उनी इराक हान्निएका थिए । इराकमा प्लम्बरको काम गर्ने उनी एक महिनाअगाडि नेपाल आएका छन् । तर, अब इराक कसरी जाने भन्नेमा उनी चिन्तित छन् । 

नेपाल सरकारले प्रतिबन्ध लगाएका कारण सीधै नेपालबाट इराक जान पाइँदैन । तसर्थ, दलालले सेटिङमार्फत दुबई हुँदै इराक पठाउने उनले बताए । तर, सेटिङका लागि भन्दै दलालले चर्को शुल्क लिने भएकाले उनी तनावमा छन् । ‘इराकमा मेरो सेवा–सुविधा राम्रो छ । म फेरि त्यहीँ जान चाहन्छु । मसँग इराकको रेसिडेन्ट भिसा पनि छ । नेपाल आउन सकिन्छ । तर, दलाल नभई फर्कर्न सक्दिनँ,’ उनले भने । 

इराक रोजगारीमा रहेका समा, रमेश र विनोद प्रतिनिधि मात्रै हुन् । इराक रोजगारीको विषयमा नेपाल सरकार संवेदनशील नहुँदा इराकमा रहेका नेपाली श्रमिकले यस्तै समस्या भोग्नुपरेको छ । सन् २००४ मा इराकमा १२ नेपालीको हत्या भएपछि नेपाल सरकारले इराकलाई कालोसूचीमा राखेको छ । तर, इराकको समस्या समाधानसँगै रोजगारमैत्री वातावरण बन्दा पनि सरकारले प्रतिबन्धमा बेवास्ता गरेकाले इराक रोजगारीमा रहेका नेपाली कामदार भने समस्यामा परेको उनीहरूको गुनासो छ ।  

श्रम स्वीकृति बन्द, अवैध बाटोको प्रयोग
नेपाल सरकारले इराक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरे पनि नेपाली श्रमिकहरू भने अवैध बाटोबाट जाने गरेका छन् । नेपालीहरू भारत, दुबई, युएई, थाइल्यान्ड हुँदै इराक पुग्ने गरेका छन् । यसरी नेपालीहरू दलाल वा रोजगारदातासँगको सीधै सम्पर्कबाट पनि पुग्ने गरेका हुन् । इराकको भिसा लागेपछि नेपालीहरू दलालको प्रयोग गर्छन् । दलालले भिजिट भिसाको सेटिङ गरी दुबई पुर्‍याउँछ । दुबई एयरपोर्टबाट सीधै इराक पुग्न सकिने कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका सदस्य प्रकाश बस्नेतले बताए । 

इराकमा करिब २० हजार नेपाली रहेको कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका अध्यक्ष विनोद श्रेष्ठ बताउँछन् । जसमध्ये ७५ प्रतिशत इराकको कुर्दिस्तान राज्यमा छन् । घरेलु कामदारदेखि व्यवस्थापकीय तहसम्मका काममा नेपाली कामदार रहेको उनले बताए । इराकमा नेपाली महिला कामदार पनि उत्तिकै छन् । नेपालीहरू एयरपोर्ट, होटेल, रेस्टुरेन्ट, हस्पिटल, उद्योगलगायतका क्षेत्रमा काम गर्छन् । ‘नेपालीहरूले नै लगानी गरी आधा दर्जन रेस्टुरेन्ट र ट्राभललगायतका कम्पनी सञ्चालन भएका छन्,’ उनले भने । 

इराकमा रहेका विभिन्न राज्यमध्ये कुर्दिस्तान सबैभन्दा सुरक्षित र विकसित राज्य मानिन्छ । इराकको कुर्दिस्तान राज्य अति सुरक्षित तथा लगानीपूर्ण वातावरण भएको हुँदा २७ राष्ट्रका साधारण तथा मानार्थ कन्सुलर कार्यालय खोलिएका छन् । साथै, विश्वका ठूला बहुराष्ट्रिय कम्पनीहरू खोलिएका छन् । कुर्दिस्तानमा २४ घण्टा नै सुपरमार्केट, रेस्टुरेन्ट्र र सवारीसाधन चलिरहने समाजका अध्यक्ष श्रेष्ठले बताए । अहिले पनि सयाैँको संख्यामा ठूला आयोजनाहरू,  विश्वविद्यालय, अन्तर्राष्ट्रियस्तरका पाँचतारे विलासी होटेलहरू, सपिङमल र स्पोर्ट कम्प्लेक्स, पार्क, हस्पिटल, आवासीय घरहरू निर्माणाधीन छन् । ‘नेपालमा बसेर हामीले सोचेजस्तो छैन इराक । इराकको पनि कुर्दिस्तान राज्य अति नै सुरक्षित र विकसित छ,’ उनले भने । 

छुट्टीमा नेपाल आउनेलाई फर्कने  बाटो खोल्न आग्रह
इराकबाट छुट्टीमा नेपाल आउने श्रमिकलाई पुनः फर्कने बाटो खोलिदिन इराकमा रहेका श्रमिकहरूले सरकारसँग आग्रह गरेका छन् । इराकको भिन्न–भिन्न राज्यका आ–आफ्नै नीति–नियम छ । त्यसमध्ये कुर्दिस्तान सुरक्षित र विकसित भएकाले पुनः फर्कने वातावरण मिलाइदिन श्रमिकहरूले अनुरोध गरेका हुन् । 

भारत, पाकिस्तान, भुटान, श्रीलंका, चीनलगायतका मुलुकले पनि इराकलाई प्रतिबन्ध गरेका छन् । तर, इराकमा काम गरेर रेसिडेन्सी कार्ड प्राप्त गरेका आफ्ना नागरिकलाई ती देशले सहजै फर्कने सुविधा दिएको कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका अध्यक्ष श्रेष्ठले बताए । त्यसैले नेपाल सरकारले पनि रेसिडेन्सी कार्डप्राप्त नेपालीलाई पुनः इराक रोजगारीमा जाने वातावरण मिलाइदिनुपर्ने उनले बताए । 

सरकारले दुई दशकअगाडिको घटनालाई नै आधार मानी इराकप्रति नकारात्मक सोच राखेको श्रमिकहरू बताउँछन् । तसर्थ, सरकारले इराकको अध्ययन गरी नयाँ नीति बनाउनुपर्ने समाजका सदस्य प्रकाश बस्नेतले बताए । इराकमा नेपाली कूटनैतिक नियोग नहुँदा नेपाली कामदारले इ–पासपोर्ट नवीकरण गर्न नेपाल नै जानुपर्ने समस्यामा रहेको छ ।