१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
यम बम काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार ०५:५८:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच दिनमा ८१ ठाउँमा आगलागी, साढे चार करोडको क्षति

Read Time : > 3 मिनेट
यम बम, काठमाडाैं
२०७९ बैशाख ६ मंगलबार ०५:५८:००

एक वर्षमा २,३७४ ठाउँमा आगलागी : ९२ व्यक्तिको मृत्यु, २२ करोड ६९ लाखबराबर क्षति

वैशाख लागेपछि आगलागीका घटना बढ्न थालेका छन् । पाँच दिनमा मात्रै ८१ स्थानमा आगलागी भएको छ । एकजनाको मृत्यु र १२ घाइते भएका यी घटनामा चार करोड २८ लाखबराबर धनमालको क्षति भएको आकलन छ । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २२ घर जलेर ध्वस्त भएका छन् । २९ घरमा आंशिक क्षति भएको छ । त्यस्तै, २९ गोठमा क्षति पुगेको छ भने ५९ पशुचौपाया मरेका छन् । संकलन भएको प्रारम्भिक विवरणअनुसार आगलागीबाट चार करोड २८ लाखको क्षति भएको छ । 

डा. डिजन भट्टराई, प्रवक्ता, विपत् प्राधिकरण
चैत, वैशाखमा हावाहुरी बढी चल्छ । सुक्खायाम भएकाले आगो पनि चाँडै टिप्छ । खाना पकाइसकेपछि आगो निभाउने, बाहिर जथाभावी आगो नबाल्ने र हावाहुरी चलेको वेला भान्सामा आगो नबाल्ने गर्नु राम्रो हुन्छ । विद्युतीय उपकरणको पनि ख्याल गर्नुपर्छ, विद्युत् सर्ट भएर पनि आगलागी हुने गरेका छन् ।

पाँच दिनमा सबैभन्दा बढी आगलागी शुक्रबार भयो । एकै दिन १५ जिल्लाका २६ ठाउँमा आगलागी हुँदा एकजनाको ज्यान गयो भने आठ घरमा पूर्ण क्षति भयो । उक्त दिन दुई करोड ६७ लाखबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । 

१ वैशाख अर्थात् बिहीबार १३ जिल्लाका १६ ठाउँमा आगलागी भएको तथ्यांक छ । दुई घर पूर्ण रूपमा ध्वस्त र चार घरमा आंशिक क्षति हुँदा ५४ लाख ३५ हजारको क्षति भएको छ । त्यस्तै, शनिबार १३ जिल्लाका १५ ठाउँमा आगलागी भएकोमा पाँच घर पूर्ण र ६ घरमा आंशिक क्षति हुँदा ४५ लाख ४२ हजार नोक्सान भएको तथ्यांक छ । 

आइतबार १३ जिल्लाका १५ स्थानमा आगलागी हुँदा ६ घर पूर्ण र पाँच आंशिक क्षतिग्रस्त भए । ती घटनामा ४५ लाख ४२ हजारबराबरको क्षति भएको छ । सोमबारको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । प्रारम्भिक विवरणअनुसार आठ स्थानमा आगलागी हुँदा एक व्यक्ति घाइते भएका छन् । ७७ लाख ४१ हजारबराबर धनमालको क्षति भएको छ । 

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार देशभर तापक्रम बढेको छ । ‘तापक्रम बढ्दा गर्मीसँगै आगलागीका घटनाको जोखिम पनि बढाएको छ,’ उनले भनिन् । सोमबार सबैभन्दा बढी तापक्रम धनगढी र नेपालगन्जमा रेकर्ड भएको छ । धनगढीमा ४०.५ र नेपालन्जमा ४०.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । भैरहवामा भने आइतबारको भन्दा तापक्रम केही घटेको छ । त्यहाँ आइतबार ४०.४ डिग्री सेल्सियस तापक्रम मापन भएकामा सोमबार ३७.८ मा झरेको छ । मुलुकमा पश्चिमी र स्थानीय वायु रहे पनि सक्रिय हुन नसक्दा वर्षा हुन सकेको छैन ।

एक वर्षमा २,३७४ ठाउँमा आगलागी : ९२ व्यक्तिको मृत्यु, २२ करोड ६९ लाखबराबर क्षति
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सुक्खा मौसममा आगलागीका बढी घटना हुन्छन्, विशेष गरी मध्यपहाडी र तराईमा । मुलुकमा हरेक वर्ष फागुन, चैत, वैशाख र जेठमा ठुल्ठूला आगलागीका घटना हुने गरेका उदाहरण छन् । 

केन्द्रको तथ्यांकअनुसार १ वैशाख ०७८ देखि सोमबारसम्म एक वर्षमा दुई हजार तीन सय ७४ स्थानमा आगलागी भएको छ । ती घटनामा ९२ जनाको मृत्यु हुँदा तीन सय ७९ जना घाइते भएका छन् । सात सय ४९ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा सात सय २५ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट एक वर्षमै २२ करोड ६९ लाखको क्षति भएको विवरण छ । 

त्यस अघिल्लो वर्ष दुई हजार पाँच सय ८६ स्थानमा आगलागी भएको विवरण छ । आगलागीमा परी ९७ जनाको ज्यान जाँदा तीन सय ७९ जना घाइते भएका छन् । एक हजार एक सय ११ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ६ सय ८७ घरमा आंशिक क्षति पुगेको छ । आगलागीबाट एक वर्षमा १८ करोड २१ लाखको क्षति भएको तथ्यांक छ ।

विपत् प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराई सुक्खायाममा आगलागीका घटना बढी हुने भएकाले आमनागरिक नै सचेत हुनुपर्र्ने बताउँछन् । ‘हावाहुरी पनि चल्छ । सुक्खायाममा आगो चाँडै टिप्छ,’ उनले भने, ‘खाना पकाइसकेपछि आगो निभाउने, बाहिर जथाभावी आगो नबाल्ने र हावाहुरी चलेको वेला भान्सामा आगो नबाल्ने गर्नु राम्रो हुन्छ । विद्युतीय उपकरणको पनि ख्याल गर्नुपर्छ, विद्युत् सर्ट भएर पनि आगलागी हुने गरेका छन् ।’

आगलागी भइहालेमा आगो निभाउने तथा राहत वितरणमा सरकारले सहयोग गर्ने गरेको छ । ‘त्यसका लागि स्थानीय तह नै सजग हुनुपर्छ । दमकल राख्ने र सही रूपमा परिचालन गर्नुपर्‍यो,’ उनले भने, ‘ठूला आगलागीका घटना भए संघ सरकारले नै रेस्पोन्स गर्ने गरेको छ । हेलिकोप्टरमार्फत पनि आगो नियन्त्रणमा लिने गरिएको छ ।’

आगलागीबाट घरमा क्षति पुगे सरकारले पुनर्निर्माणका लागि सहयोग गर्ने गरेको छ । तीन तहकै सरकारको लागत सहभागितामा निजी आवास पुनर्निर्माणका लागि हिमालमा सात लाख, पहाडमा चार लाख र तराईमा तीन लाख अनुदान दिने व्यवस्था छ । त्यस्तै, अस्थायी आवासका लागि ५० हजार र राहतस्वरूप २० हजार दिने गरिएको भट्टराईले बताए ।

ताप्लेजुङमा आगलागीबाट दुई घर जलेर नष्ट

ताप्लेजुङको फुङलिङ नगरपालिका– ३ का दुई घरमा सोमबार दिउँसो आगलागी हुँदा लाखौँबराबरको क्षति भएको छ । आगलागीमा परी मयामे गुरागाईं भनेर चिनिने बाबुराम गुरागाईं र भगीरथ गुरागाईंको घर जलेर नष्ट भएको छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिए । घरमा मानिस नभएको वेला दिउँसोको समयमा आगलागी भएका कारण बाख्रा, अन्नपात, लत्ताकपडासहित सबै जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एउटा भैँसी भने दाम्लो चुँडाएर बाँचेको बताइएको छ ।