१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक पाँच हजार औषधि खर्च पाउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:१७:oo

सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने भएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले यो रकम पाउँछन् । हाल उपलब्ध गराइरहेको सुविधा पनि कायम रहने गरी औषधिका लागि पाँच हजार दिने निर्णय भएको हो । 

स्वास्थ्य मन्त्रालयले बुधबार यससम्बन्धी कार्यविधि जारी गर्दै कार्यान्वयनका लागि सबै स्थानीय तहलाई परिपत्र गरेको छ । १३ चैतको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । ‘अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि खर्चबापत मासिक पाँच हजार पाउनेछन्,’ स्वास्थ्य मन्त्रालयले भनेको छ । 

यसअघि ०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारकै पालामा यी रोगका बिरामीलाई मासिक पाँच हजार औषधि खर्च दिने घोषणा भएको थियो । तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन । तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले सुरु गरेको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ले अहिले सार्थकता पाएको हो । 

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख प्रा. गोमादेवी निरौलाले कार्यविधि नभएर रोकिएको कार्यक्रम अब सुरु भएको बताइन् । १३ पुस ०७४ मा गरेको निर्णयमा स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थबाट उठेको करमध्येको २५ प्रतिशत रकमबाट जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । निर्णय भएको एक महिना नपुग्दै स्वास्थ्य सेवा विभागमा त्यतिवेला दुई हजार निवेदन परेका थिए । 

बिरामीले कसरी पाउँछन् खर्च ?
सरकारले तोकेका लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक पर्छ । सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्छ । यसका लागि राष्ट्रिय परिचयपत्र वा नागरिकता तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि पेस गर्नुपर्छ । मेरुदण्ड पक्षघात भएका बिरामीले अपांगतासम्बन्धी प्राप्त गरेको रातो वा नीलो कार्डको प्रतिलिपिसहित निवेदन गर्नुपर्छ । त्यसपछि सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गरिदिनेछ । 

सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्थाबाट रोजगारी÷निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी÷पेन्सन प्राप्त गरिरहेको व्यक्तिले यो सुविधा पाउनेछैन । त्यस्तै, सरकारले उपलब्ध गराउँदै आएको ज्येष्ठ नागरिक, एकल महिला, दलित, पिछडिएको वा अपांगता भत्ता पाइरहेकाले दोहोरो भत्ता पाउनेछैनन् । पाँच हजार उपचार खर्च लिन अर्को खाइपाइ आएको भत्ता छाड्नुपर्ने हुन्छ । साथै, एकभन्दा बढी रोग लागेका व्यक्तिले दोहोरिने गरी यस किसिमको भत्ता पाउनेछैनन् ।

कति छन् बिरामी ?
सरकारी तथ्यांकअनुसार देशभर मिर्गौला रोगी ३४ हजार नौ ३० छन् । यीमध्ये सूचीकृत अस्पतालमा नौ हजार ६ सय पाँचजनाले नि:शुल्क डायलाइसिस गराइरहेका छन् भने ७६ ले प्रत्यारोपण गराएका छन् । निजी स्वास्थ्य संस्थामा डायलाइसिस गराइरहेका र प्रत्यारोपण गराएकाको यकिन संख्या सरकारसँग नै छैन । त्यस्तै, क्यान्सरका १६ हजार पाँच सय ५० मध्ये ११ हजार पाँच सय तीनजनाले विपन्न कार्यक्रमबाट सेवा लिएका छन् । यसै कार्यक्रममार्फत मेरुदण्ड पक्षघातका ६ सय १० बिरामीले सेवा लिएका छन् ।  

ad
ad